+
+

बूढानीलकण्ठ नगरपालिका : ‘एक वर्ष सिकाइमै बित्यो’

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते ८:५०

१७ जेठ, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधिले कार्यकालको पहिलो वर्ष अपेक्षाकृत काम गर्न नसकिएको स्वीकारेका छन् । आर्थिक वर्ष २०७९/८० को पदावधि सिकाइको चरण रहेको उनीहरूको बुझाइ छ ।

निर्वाचन सकिएपछिको एक वर्षमा कार्य प्रणालीमा अब्बल हुन नसके पनि जग बसाउने कार्य भने भएको उपमेयर अनिता लामा बताउँछिन् । ‘एकवर्षे अवधिलाई मूल्यांकन गर्दा यसलाई सिकाइको चरणको रूपमा बुझ्नुपर्दछ’ उपमेयर लामाले भन्छिन्, ‘हाम्रो लक्ष्य एउटा हुन्छ । तर पब्लिकको लक्ष्य अर्कोतिर । पब्लिकले आफ्नो कामको प्रभावकारिता हेर्छ ।’

स्वास्थ्य, शिक्षा, पूर्वाधार, सुशासनका कार्यमा जनअपेक्षाकृत कार्य हुन नसके पनि निराशाजनक अवस्था भने नभएको जनप्रतिनिधिको दाबी छ । गत निर्वाचनमा कांग्रेसबाट प्रमुखको उम्मेदवार बनेका विनोद चालिसे नगरमा प्रगति शून्य रहेको दाबी गर्छन् । ‘वडाध्यक्षले ल्याएका फाइलमा हस्ताक्षर गरिदिने बाहेक नगर प्रमुखको कुनै भूमिका देखिन्न । स-सानो योजनालाई प्राथमिकता दिने काम भएको छ’ प्रमुखमा पराजित चालिसे भन्छन्, ‘योजनाहरूलाई आस्थाको आधारमा सिफारिस गरिएको छ । संघ र प्रदेशमा परेको योजनालाई आस्थाका आधारमा रोक्ने प्रयास भएको छ ।’

स्वास्थ्य चौकीहरूको स्तरीकरण तथा वडाहरूका प्रभावकारी स्वास्थ्य केन्द्रको स्थापना गर्ने उद्देश्य प्रमुखमा निर्वाचित मिठाराम अधिकारीको थियो । तर, एक वर्षमा त्यसका लागि आधार तयार गर्नेसम्मको काम पनि भएको छैन ।

बूढानीलकण्ठ नगरभित्र रहेको कपन बहुमुखी क्याम्पसको अवस्था दयनीय छ । क्याम्पस २ करोड बढी ऋणमा छ । शिक्षकहरूले ८ महिनादेखि तलब पाएका छैनन् । क्याम्पस प्रमुख र व्यवस्थापन समितिको अध्यक्ष फरक-फरक दलमा आस्था राख्ने भएकाले समस्या समाधानमा जटिलता पैदा भएको स्थानीय नेताहरू बताउँछन् । नगरपालिका र प्रदेश सरकारको सहयोगमा भवन निर्माण भए पनि क्याम्पसमा यथेष्ट संकाय छैनन् । त्यसो हुँदा विद्यार्थी आकषिर्त हुन सकेनन् । हाल बीएड र बीबीएसमा मात्रै कक्षा सञ्चालन भइरहेका छन् ।

पूर्वाधारको क्षेत्रमा योजना सम्झौता गर्न ढिलाइ हुने गुनासो नगरभित्र सुनिंदै आएको छ । अनुगमन पनि ढिलो हुने गरेको छ । गुनासो बढी प्राविधिक जनशक्तिमा भएको उपप्रमुख लामा बताउँछिन्

कपन क्याम्पस समस्यामा रहेको नगरका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष नवराज भट्टराई स्वीकार्छन् । ‘बेला-बेला अनुदानका रूपमा नगरपालिकाले सहयोग गर्दै आएको छ । भौतिक पूर्वाधार बनिसक्दा समेत विद्यार्थीको संख्या बढेन । अभावले गर्दा हो’ भट्टराई भन्छन्, ‘नगरपालिकाले नै क्याम्पस सञ्चालन गर्ने कि भन्ने कुरा पनि भइरहेको छ । विज्ञ टोली रहेको अध्ययन कमिटी बन्ने भएको छ । त्यसले दिएको रिपोर्ट अनुसार सञ्चालन गर्ने तयारी छ ।’

नगरभित्र १९ सामुदायिक विद्यालय छन् । सामुदायिक विद्यालयमा सिकाइ क्षमतामा वृद्धि गर्न लागिएको जनप्रतिनिधिको दाबी छ । अर्कोतर्फ, कांग्रेसका स्थानीय नेताहरू सामुदायिक विद्यालयलाई एमाले कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाउँछन् ।

‘सामुदायिक विद्यालयलाई कार्यकर्ता भर्ती केन्द्र बनाइएको छ’ मेयरमा पराजित चालिसे भन्छन्, ‘सामुदायिक विद्यालयका प्रधानाध्यापकले एक पिरियड पनि कक्षा लिएका छैनन् । सामुदायिक विद्यालयभित्र समेत पोशाक बिक्री गरेको भेटिएको छ ।’ १९ सामुदायिक विद्यालयमा १९ जना नै एमालेका कार्यकर्तालाई जागिर खुवाइएको चालिसेको आरोप छ । तर, चालिसेको आरोपमा सत्यता नभएको नगर प्रवक्ता भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘दक्षताको आधारमा विधिसम्मत तरिकाले आवश्यकता अनुुसार छनोट गरिएको छ । कतै पक्षपात छैन ।’

बूढानीलकण्ठ नगरपालिकाभित्र सरकारी जग्गा अतिक्रमण हुने क्रम बेला-बेला चर्चामा आइरहेको हुन्छ । गत निर्वाचनबाट आएका जनप्रतिनिधिले समेत सार्वजनिक जग्गा अतिक्रमित हुने क्रमलाई रोक्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय केशव पाठकका अनुसार नगरभरिका सबैजसो वडामा सार्वजनिक जग्गा अतिक्रमित भइरहेका छन् ।

कपन क्षेत्रमा प्रत्येक वर्ष बाढीले समस्या ल्याउँछ । त्यसका लागि एमाले-कांग्रेस बीच आरोप-प्रत्यारोप हुने गर्दछ । खोलामाथि बाटो बनाउने कार्यले समस्या आइरहेको स्थानीयको बुझाइ छ । खोलामाथि बाटो बनाउने कार्य यस वर्ष पनि नरोकिएको कांग्रेसका नेताहरू दाबी गर्छन् ।

उता खोलामाथि बाटो हाल्ने र सरकारी जग्गा अतिक्रमित गर्ने कार्यलाई नगरपालिकाले शूल्य सहनशीलता लिने प्रवक्ता भट्टराई बताउँछन् । सार्वजनिक जग्गा संरक्षणका लागि नगर प्रमुखको संयोजकत्वमा समिति समेत रहेको हुन्छ । सार्वजनिक जग्गा मिच्ने कार्यका विषयमा पटक-पटक पालिकाको बैठकमा छलफल भएको उपप्रमुख लामाले बताइन् ।

आर्थिक वर्ष २०७९/८० का लागि ३ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरिएको थियो । नगरपालिकाका लागि समस्याको विषय बेरुजु बनेको छ । बेरुजु रकम बढेको उपप्रमुख लामा स्वीकार गर्छिन् । ‘निर्वाचित भएर आउँदै गर्दा २९/३० करोड रुपैयाँ बेरुजु थियो । बेरुजु अझै बढ्दै गएको छ’ लामा भन्छिन्, ‘के कारणले बेरुजु भएको खोजबिन गर्नका लागि दुईपटक गम्भीर छलफल गरेका छौं । किन बेरुजु हुन्छ ? नहुन के गर्नुपर्छ भनेर छलफल गरेका हौं ।’

आफूहरूले देखिने गरी काम गरिरहेको जनप्रतिनिधिको भनाइ छ । सुशासन र नागरिकलाई डेलिभरी दिने कार्यमा असल नियतले काम गरेको उपप्रमुख लामा तर्क गर्छिन् । सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘हेल्लो बूढानीलकण्ठ’ सुरु गरेको उनले जानकारी गराइन् ।

‘सेवा प्रवाहमा कुनै गुनासो भए उजुरी गर्ने र त्यसको यथाशक्य कार्यान्वयन गरेका छौं’ लामा भन्छिन्, ‘सेवा प्रवाहलाई चुस्त बनाउन कर्मचारीलाई तालिमको व्यवस्था र सेवा हेरफेर पनि गरेका छौं । कुन व्यक्तिको कुन काममा दख्खल छ त्यस अनुसारको जिम्मेवारीमा लगाएका छौं ।’ जनताले जुनसुकै बेला पनि जनप्रतिनिधिलाई भेट्ने व्यवस्था गरिएको पनि उनले सुनाइन् ।

पूर्वाधारको क्षेत्रमा योजना सम्झौता गर्न ढिलाइ हुने गुनासो नगरभित्र सुनिंदै आएको छ । अनुगमन पनि ढिलो हुने गरेको छ । गुनासो बढी प्राविधिक जनशक्तिमा भएको उपप्रमुख लामा बताउँछिन् । ‘प्रत्येक वडामा एक जना प्रावधिक जनशक्ति खटाएका छौं । योजनाको सुरुवातदेखि पूरा नहुन्जेलसम्म प्रत्येक वडाले आफ्नो इन्जिनियरहरूलाई काममा लगाउँछन्’, लामा भन्छिन् ।

पाँच वर्षअघिदेखिका पूर्वाधारका कामले निरन्तरता प्राप्त गरेको तथा कतिपय कार्य सकिएको जनप्रतिनिधिको दाबी छ । धोबीखोलको सरसफाइ अभियान तथा करिडोरमा दुवैतर्फ ग्रिनरी बनाउने कार्य यस वर्षका उल्लेखनीय कार्य भएको प्रवक्ता भट्टराई बताउँछन् । नगर अस्पतालको स्तरोन्नति, हृयाण्डबल मैदान द्रुततर गतिमा निर्माण, साना-ठूला गरी १० पार्कको निर्माण यसै अवधिमा भएको उनको दाबी छ ।

नगरभित्रको प्रमुख समस्या पानी रहेको स्थानीयको भनाइ छ । एमालेले निर्वाचन अघिको घोषणापत्रमा ‘एक घर एक पानी सहितको धारा’ उल्लेख गरेको थियो । पहिलो वर्ष घोषणापत्र अनुसार पानीका लागि पहल नभएको मेयरमा पराजित चालिसेको भनाइ छ । एमाले र कांग्रेसको विवादले सुवर्णशमशेर खेल मैदानको निर्माणले यस वर्ष पनि गति लिन सकेन । उक्त मैदानका लागि आठ वर्षदेखि बजेट विनियोजन हुँदै आएको छ । व्यवस्थापन समितिले बनाउने कि ठेकेदार लगाउने भन्ने विषयमा विवाद भएर यो काम भइरहेको छैन ।

प्रमुख, उपप्रमुख सहित १३ मध्ये ११ वडा एमालेले जितेको छ । नगर परिषदमा आफू अनुकूल निर्णय गराउन एमालेका लागि सहज छ । २०७८ को जनगणना अनुसार नगरभित्र १ लाख ७७ हजार ५५७ जना बसोबास गर्दछन् ।

तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?