काठमाडौं । मःम पनि कतिथरी ? स्टिम मःम, फ्राइड मःम, चिल्ली मःम, चाट मःम, झोल मःम, ओपन मःम, साँधेको मःम, झानेको मःम ।
१० थरी सबै मःम एउटै थालीमा । हरेक मःमको स्वाद बेग्लाबेग्लै । यति भएपछि मःमको पारखीलाई अरु के चाहियो ? धीत मर्नेगरी स्वाद फेर्न पाइयो । यसका लागि तपाईं पुग्नुपर्नेछ, प्याराडाइज गार्डेन रेस्टुरेन्ट । काठमाडौंको गैह्रीधाराबाट नीलसरस्वती मार्गतर्फ थोरै मोडिएपछि यो रेस्टुरेन्टको सम्मुख पुगिन्छ ।
समुन्द्री खानादेखि क्विनोआ सलादसम्म
त्यसो त यहाँको भान्सामा मःम मात्र होइन, अरु थुप्रै व्यञ्जन तयार हुन्छ । यो मल्टी कुजिन रेस्टुरेन्ट हो । नेपाली रैथाने परिकारदेखि समुन्द्री खानासम्म यहाँको भान्सामा तयार हुन्छ । चाहे, पिज्जा खानुहोस् वा नेवारी परिकार, तपाईंको टेबुलमा आइपुग्छ । तर मःम प्लाटर यहाँको पृथक र सिग्नेचर परिकार हो ।
समुन्द्री खाना पनि प्याराडाइजका खास परिकार हो । जस्तो कि, ग्रिल्ड जाइन्ट प्राउन । समुन्द्री खाना रुचाउनेका लागि यो काइदाको स्वाद हुन सक्छ । प्याराडाइजमा गएपछि क्विनोआ सलाद छुटाउनै नहुने अर्को परिकार हो । एभोकाडोलगायतबाट बन्ने यो पोषिलो सलादको स्वाद पनि फरक लाग्न सक्छ ।
तपाईंलाई तृप्त गराउने अर्को परिकार हो, होल रोस्टेड चिकेन । अनेक मरमसलामा मेरिनेट गरेर रापिलो आगोमा सेकाउँदै पकाइने यो परिकार स्वादिलो त हुने नै भयो, भरपेट पनि ।
प्याराडाइजमा धेरैले रुचाउने परिकार हो, पिज्जा पनि । साथै तपाईं मेक्सिकन स्वाद चाख्नुहुन्छ भने यहाँको चुल्होमा चिकेन रोल मेक्सिकन बरिटो पनि पाक्नेछ । प्याराडाइज पुग्नु, चिकेन सिजलरको स्वाद नलिनु अलि खल्लो हुन सक्छ । किनकि यहाँको मेनुमा रुचाइएको परिकारमध्येको हो, चिकेन सिजलर पनि । मसालेदार चिकेन ब्रेस्टसहितको यो परिकारले मन अघाउँदैन ।
यी अनेक व्यञ्जनसँगै तपाईंले यहाँ भिन्नाभिन्नै पेयको पनि चुस्की लिन सक्नुहुनेछ । ककटेल, मकटेलदेखि अरु थुप्रै पेयले तपाईंको मन जित्नेछ ।
पारिवारिक भेट, साथीभाइ जमघट
यहाँ पाक्ने व्यञ्जन त छँदैछ, त्यससँगै प्याराडाइजको वातावरणले पनि तपाईंलाई सन्तुष्ट तुल्याउनेछ । सहर माझमा भए पनि यसको आसपास भीडभाड छैन । कोलाहाल छैन । सर्वत्र शान्त छ । अझ रेस्टुरेन्टभित्रको हरियालीले आगन्तुकलाई अरु आनन्दित बनाउनेछ । रुख, बुट्यान, फूल बगैंचा र सानो कृत्रिम झरनाले ग्रामीण परिवेशको अनुभूति गराउँछ ।
यो डाइनिङ रेस्टुरेन्ट हो, जहाँ तपाईं आफ्नै ढंगले खानपानमा रमाउन सक्नुहुनेछ । खासगरी पारिवारिक जमघटका लागि यो काइदाको गन्तव्य हुन सक्छ । त्यसैगरी साथीभाइ जमघट वा एक्लो समय बिताउन पनि तपाईंले यो ठाउँलाई रोज्न सक्नुहुनेछ ।
सानोतिनो भोज, जन्मोत्सव आदि मनाउन प्याराडाइज सही गन्तव्य हो ।
अलग्गै कोठामा वा खुला ठाउँमा (बगैंचा)मा बसेर खानपान गर्ने सुविधा छ यहाँ । यहाँ गार्डेन क्षेत्रमा ६५, डाइनिङमा २६, हलमा ६५ जनाले एकसाथ खानपानको आनन्द लिन सक्छन् । प्याराडाइजमा तीनवटा प्राइभेट रुम पनि छ, जहाँ दश–दश जना बसेर खानपान गर्न सक्छन् ।
त्यसैगरी पार्किङको लागि पनि पर्याप्त व्यवस्था छ । यहाँ ३०–३५ वटा गाडी तथा मोटरसाइकल राख्न मिल्ने फराकिलो पार्किङ क्षेत्र छ । शान्त वातावरण, सौहाद्र्ध आतिथ्य र स्वादिलो खानपानका लागि प्याराडाइज गार्डेन रेस्टुरेन्टले तपाईंलाई हरबखत आमन्त्रण गर्नेछ ।
अतिरिक्त मनोरञ्जन
जिब्रो मात्र होइन, पाँचैं इन्द्रियले स्वाद लिनुको अनुभूति पनि गज्जब हुन्छ । त्यहाँ हेर्दा देखिने दृश्य, व्यञ्जनको स्वाद र सुगन्ध अनि कर्णप्रिय धुन । यी सबैको संयोजन पनि हो, प्याराडाइज रेस्टुरेन्ट ।
यहाँ हरेक बुधबार, शुक्रबार र शनिबार लाइभ म्युजिक सुन्न सकिन्छ । साथै हरेक सप्ताहन्त लाइभ बार्बिक्यु पनि गरिन्छ । त्यसैगरी विभिन्न उत्सव, अवसरहरुमा पनि यहाँ विशेष कार्यक्रम आयोजना हुन्छ । चाहे क्रिसमस होस् वा होली, यस्तो बेला तपाईंले केही थप सुविधा र छुट समेत प्राप्त गर्न सक्नुहुनेछ ।

लाइभ कन्सर्ट : बुधबार, शुक्रबार, शनिबार
लाइभ बार्बिक्यु
पार्किङ क्षमता : ३०–३५ वटा गाडी तथा मोटरसाइकल
खुल्ने समय : बिहान साढे ७ बजेदेखि राति १० बजेसम्म
यहाँको पाँच विशेष परिकार : मःम प्लाटर, चिकेन पेरीफेरी, तन्दुरी बिर्यानी, ग्रिल्ड जम्मो प्राउन ।
तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4