+
+

मिस नेपाल-२०२३ : जलवायु अभियन्ताको ब्याच (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १८:३७

काठमाडौं । बर्सेनि नयाँ मिस नेपालको ब्याच आउँछन् र जान्छन् । तर सन् २०२३ को ब्याच सम्झनलायक हुन सक्छ । यस वर्षका तीनै मिस नेपाल ‘हु इज हु’ छन् । आ-आफ्नो क्षेत्रमा स्थापित भइसकेर सौन्दर्य प्रतियोगितामा होमिएका उनीहरुको कुरा सुन्दा लाग्छ, यी तीनैजना बौद्धिक सुन्दरी हुन् । महत्वपूर्ण कुरा उनीहरुसँग सपना छ ।

मिस नेपाल वल्र्ड सृच्छा प्रधान मिस नेपाल प्लेटफर्मकै लागि सात महिनाअघि मात्र अमेरिकाबाट नेपाल आएकी हुन् । २३ वर्षीया उनी जलवायु अभियन्ता र वातावरण विज्ञानमा स्नातक विद्यार्थी हुन् । जलवायु, प्रकृति र चराचुरुंगीसँग उनको औधी प्रेम छ । यसबाहेक करुणा, दया र स्नेह उनका मूलमन्त्र हुन् ।

आगामी मिस वल्र्डमा उनी वातावरण संरक्षणको मुद्दालाई प्रस्तुत गर्दैछन् । फुर्सदमा गीत लेख्न रुचाउने सृच्छाको पहिरन वातावरणमैत्री छ । थ्रीप्ट (पुनः प्रयोग गर्न मिल्ने पहिरन) लगाउन रुचाउँछिन् उनी । उनले मिस नेपालको फिनालेमा फेस अफ द इयरको सबटाइटल पनि जितेकी थिइन् ।

मिस नेपाल इन्टरनेसनल प्रसिद्धि शाह क्युट लाग्छिन् । वातावरण विज्ञानमा स्नातक यी सुन्दरी कोपिला नामक सामाजिक संस्थाबाट बाढीपहिरो प्रभावित सिन्धुपाल्चोकको विद्यालय पुनर्निर्माणमा सक्रिय छिन् । यसबाहेक केही विद्यालयमा उनी पढाउँछिन् पनि । पुस्तक अध्ययनमा रुचि राख्ने उनी आगामी मिस इन्टरनेसनलको प्रतिस्पर्धामा बालबालिका र वातावरण संरक्षणका एजेण्डालाई प्रस्तुत गर्ने तयारीमा छिन् । प्रथम मिस नेपाल रुबी राणाकी छोरी समेत रहेकी उनी आमाको विरासत र आफ्नै सपनालाई पछ्याउन मिस नेपालमा होमिएको बताउँछिन् ।

मिस नेपाल अर्थ रेना मजगैंया पेशाले पाइलट हुन् । उडानसँगै उनी ब्युटी पेजेन्टको करिअरलाई अघि बढाइरहेकी छन् । अग्ली र ब्युटीफुल रेना व्यावसायिक मोडलभन्दा कम लाग्दिनन्, तर उनलाई मोडलिङमा उति रुचि छैन । आगामी मिस अर्थमा नेपाललाई बलियो ढंगले प्रतिनिधित्व गर्दै जलवायु संकटले नेपाललाई परेको असरबारे विश्वलाई चिनाउने उनको सपना छ ।

यस्तो लाग्छ, मिस नेपालको सन् २०२३ को ब्याच ‘जलवायु सुन्दरी’हरु हुन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?