
१७ जेठ, डोटी । डोटीमा सञ्चालित खप्तड–शैलेश्वरी हाई अल्टिच्युट म्याराथन प्रतियोगिता नेपाली सेनाका खडकबहादुर खड्काले जितेका छन् । उनले खप्तड–शैलेश्वरी ४२ किलोमिटरको दुरी २ घण्टा ३७ मिनेट ४६ सेकेण्डमा पार गरी उपाधि जितेका हुन् ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लवकै नरेन्द्र सिंह रावत दोस्रो भएका छन् । उनले उक्त दुरी २ घण्टा ३९ मिनेट ३४ सेकेण्डमा पार गरेका छन् । यस्तै, कर्णाली स्पोर्टस् क्लबका वीरेन्द्र पाण्डे २ घण्टा ४२ मिनेट ४४ सेकेण्डमा दूरी पार गरेर तेस्रो भएका छन् ।
महिलाहरुबीच प्रतिस्पर्धा भएको हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकै पूर्णलक्ष्मी न्यौपाने पहिलो भएकी छन् । उनी झिग्राना–सिलगढीको दुरी १ घण्टा १४ मिनेट १० सेकेण्डमा पार गरेर पहिलो भएकी हुन् । नेपाल प्रहरीकी रेखा विष्ट १ घण्टा २२ मिनेट १० सेकेण्डमा दूरी पार गरे दोस्रो भइन् भने नेपाली सेनाको भैरवप्रसाद गणकी सुन्तला कडायत १ घण्टा २६ मिनेट ८ सेकेण्डमा निर्धारित दूरी पूरा गरेर तेस्रो भइन् ।
सुदूरपश्चिम खेलकुद् परिषद् र डोटी उद्योग वाणिज्य संघको आयोजना तथा नेपाली सेनाको व्यवस्थापनमा बुधबार सम्पन्न भएको पुरुषतर्फ खप्तडको त्रिवेणी धामदेखि सिलगढीको टुँडीखेलसम्म म्याराथन प्रतियोगितामा ४८ र महिलातर्फ खप्तड प्रवेशद्वारा झिग्रानादेखि टुँडीखेलसम्म हाफ म्याराथन प्रतियोगितामा २५ जना धावक सहभागी गिए ।
पुरुष म्याराथन प्रतियोगितामा पहिलो हुने खेलाडीले एक लाख २५ हजार पुरस्कार पाएका आयोजक डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन कलेलले जानकारी दिए । त्यस्तै दोस्रोले ८० र तेस्रोले ५० हजार पाएका छन् ।
महिलाहरुको हाफ म्याराथन प्रतियोगिताको विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ पाएका छन् ।
खप्तड क्षेत्रमा जेठ शुक्ल दशमीमा लाग्ने खप्तड गङ्गा दशहरा मेला (जेठ १६ गते) को अवसरमा खप्तड–शैलेश्वरी हाइ अल्टिच्युट म्याराथन प्रतियोगिता (पुरुष र महिला) आयोजना नेपाली सेना भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4