+
+

विराटनगर भन्सारसम्म आयो कार्गो रेल

हरि अधिकारी हरि अधिकारी
२०८० जेठ १८ गते १४:४४

१८ जेठ, विराटनगर । भारत भ्रमणमा रहेका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनथाहा– विराटनगर कार्गो रेलको उद्घाटन गरेका छन् ।

बिहीबार दुई देशका प्रधानमन्त्रीले  बटम थिचेर  रेलवे  कार्गो रेल सेवाको उद्घाटन गरेका हुन् । प्रधानमन्त्रीले उद्घाटन गरेपछि बथनाहबाट आठ किलोमिटर यात्रा गर्दै विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्म पहिलो पटक कार्गो रेल आएको हो ।

सुनसरी मोरङका उद्योगी व्यावसायीले कार्गो रेल सञ्चालनको माग गर्दै आएका थिए । बिहीबार उद्योग संगठन मोरङ र मोरङ व्यापार संघका पदाधिकारीले कार्गो रेलको स्वागत गरे ।

बथनाहादेखि मोरङको कटहरीसम्म १८.१ किलोमिटर रेवलेको निर्माण सन् २०११ मा सुरु भएको थियो । यो अवधीमा बथनाहादेखि बुधनगरसम्मको आठ किलोमिटर मात्रै काम पूरा भएको छ । बाँकी १० किलोमिटर क्षेत्रको काम सुस्त छ ।  प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा काम सकिएको क्षेत्रमा पहिलो कार्गो रेल  आएको हो ।

उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयष प्याकुरेल कार्गो रेल सेवाले निजी क्षेत्रलाई सामान आयात गर्न सहज हुने बताउँछन् । कार्गो  रेलले आयात र निर्यातमा लाग्ने ढुवानी खर्च जोगिने उनले बताए ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले रेल सेवा सुरु भएपछि आयात निर्यातमा सहज हुने बताए ।

औद्योगिक कच्चा पदार्थ आयात गर्दाको ढुवानी खर्च जोगिने बताउँदै उनले कार्गो रेल सेवाले नेपाललाई फाइदा पुग्ने बताए । निजी क्षेत्रले पहिलेदेखि नै कार्गो रेलको सञ्चालन गर्न माग गरेको बताउँदै उनले भने, ‘हाम्रो माग बल्ल पूरा भएको छ । यसले कच्चा पदार्थको आयातमा सहजता हुनेछ ।’

औद्योगिक कच्चा पदार्थ प्रतिकेजी सातदेखि आठ रुपैयाँसम्ममा ढुवानी गर्नुपरेको बताउँदै उनले कार्गो रेल सेवाबाट सामान ल्याउँदा सस्तो र छिटो हुने उनले बताए ।

विराटनगरस्थित रानी भन्सार नाकाबाट दैनिक ३ सय हाराहारी ट्रकमा मालवस्तु नेपाल आउने गरेको छ । व्यावसायी सोम अधिकारी भारतबाट आउने कार्गोलाई नेपालबाट फर्कदा विजनेश दिनसके मात्रै व्यापारघाटा कम गर्न सकिने बताउँछन् । तर अहिल  नेपालबाट  निर्यात हुने सामाग्री न्यून छन् ।

भारतबाट नेपाल कार्गो ल्याउनका लागि पर्याप्त सामग्री भएपनि फर्कदा ट्रेन खाली जाने अवस्था रहेको उनले बताए । ‘उताबाट बल्कमा आयात हुन्छ, यताबाट एक्पोर्ट गर्न सक्ने सामान भए लाभदायक हुन्छ’, उनले भने, ‘भारी बोकेर आएको कार्गो खाली फर्कनु  भनेको व्यापार घाटा बढ्नु हो ।’

नेपालबाट फर्कदा कार्गोले पर्याप्त विजनेश नपाए नियमिततामा शंका उत्पन्न हुने उनको बुझाइ  छ । ‘ट्रेनमा आयात गर्दा छिटो हुन्छ, प्रशासनिक झन्झट पनि हुँदैन’, उनले भने, ‘हामीले क्यालेन्डर बनाएर आयात निर्यातको सेड्युल मिलाउनुपर्छ ।’

उद्घाटनपछि भारतको बनथाहादेखि विराटनगरको बुधनगरसम्मको ८ किलोमिटर दूरीमा कार्गो रेल नियमित सञ्चालन हुनेछ। यात्रुवाहक रेल सेवा भने तत्काल सञ्चालन हुने छैन ।

भारतको बथनाहादेखि विराटनगर हुँदै कटहरीसम्म १८.१ किलोमिटर रेलवेको निर्माण सन् २०११ मा सुरु भएको थियो। जसमध्ये बथनाहबाट बुधनगरसम्म ८ किलोमिटर मात्रै निर्माण भएको छ। बाँकी ८ किलोमिटरमा संरचना तयार भइरहेको छ। करिब साढे २ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवादका कारण काम हुनसकेको छैन।

बथनाहादेखि बुधनगरसम्म (भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर) रेलमार्ग निर्माण भने चार वर्षअघि नै पूरा भएको थियो। दुई प्रधानमन्त्रीले रेलवेको उद्घाटन गरे पनि १० किलोमिटर क्षेत्रको काम कहिले सकिन्छ टुंगो छैन। विभागका प्रवक्ता चित्रकारका अनुसार जग्गा प्राप्ति विवादका कारण कटहरीको हुलाकी राजमार्गबाट उत्तर.तर्फको काम अघि बढेको छैन।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?