+
+

अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश विद्यालय बन्द

नुनुता राई नुनुता राई
२०८० जेठ १९ गते १९:५३

१९ जेठ, काठमाडौं । केही दिन यता अत्यधिक गर्मी बढेपछि तराईका अधिकांश पालिकाहरुले विद्यालय बिदा दिन थालेका छन् ।

पूर्व मेचीदेखि पश्चिममा महेन्द्रनगरसम्मकै तराई क्षेत्रमा गर्मी अत्यधिक बढेको छ । त्यसैले यी क्षेत्रमा पर्ने अधिकांश स्थानीय तहले बर्खामा दिइने बिदामा मिलान गर्नेगरी धमाधम विद्यालय बिदा दिइरहेका छन् ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भएका ठाउँमा तातो हावा अर्थात लू लाग्ने खतरा रहेको भन्दै सावधानी अपनाउन सुझाव दिएको छ । विभागको सुझाव आउनुअघि नै धेरै स्थानीय तहले बिदाको घोषणा गरिसकेका थिए ।

नेपालको सबैभन्दा होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिकाले जेठ १८ गतेदेखि २२ गतेसम्म बिदा दिएको छ । पालिकाकी शिक्षा शाखा प्रमुख मनिता बरालले अत्यधिक गर्मीले बालबालिकालाई समस्या भएपछि बिदा दिएको जानकारी दिइन् । उनले भनिन् ‘असाध्यै गर्मी छ । बालबालिकालाई गाह्रो भएकोले वर्षे बिदामा मिलान हुनेगरी बिदा दिइएको छ ।’

झापाका अधिकांश पालिकाले विद्यालय बिदा दिएका छन् । झापाकै अर्को मेचिनगर नगरपालिकाले पनि बिहीबार र शुक्रबार (१८ र १९ गते) बिदा छ । आइतबार मौसम हेरेर निर्णय हुने पालिकाका शिक्षा प्रमुख होमनाथ भण्डारीले बताए । उनले भने, ‘अब आइतबार पनि हिजो आज जस्तै भो भने त पढ्न पढाउन सक्ने अवस्था हुँदैन । पानी परेन यस्तै भो भने त बिदा दिन्छौं ।’

मधेस प्रदेशको राजधानी रहेको जनकपुरधाम उपमहानरपालिकाले पनि जेठ १९ गतेदेखि २६ गतेसम्म आकस्मिक गर्मी बिदा दिएको छ । उपमहानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले भने ‘गर्मी धेरै छ । बालबालिका स्कूल आउँदा बाटोमा नै बेहोस हुने अवस्था आएपछि एक हप्ताको बिदा दिइएको छ ।’

जेठ १९ गतेदेखि २३ गतेसम्म बिदा दिएको सप्तरीको राजविराज नगरपालिकाले त्यसपछि तापक्रम नघटे बिहानी कक्ष चलाउने वा अन्य उपाय लगाउने तयारी गरिरहेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले जानकारी दिए ।

पर्साको ठोरी गाउँपालिकाले भने बिहानी कक्षा चलाउने निर्णय नै गरिसकेको छ । शिक्षा शाखा प्रमुख भुपाल कुमार जोशीले भने, ‘दिउँसो अत्यधिक गर्मी भएकोले आजैको बैठकले बिहान चलाउने निर्णय गरिएको छ । अब आइतबारदेखि बिहान ६ देखि १० बजेसम्म बिहान पढाइ हुन्छ ।’

रौतहटको राजपुर नगरपालिकाले जेठ २१ गतेदेखि २६ गतेसम्म बिदा दिएको पालिकाका शिक्षा प्रमुख एजाजुल हक खाँले जानकारी दिए । उनले भने, ‘अत्यधिक गर्मीले सबैभन्दा बढी बालबालिका प्रभावित भएका छन् । घरदेखि बाहिर निस्कन सक्ने अवस्था छैन । त्यसैले एक हप्ताको बिदा दिएका छौं ।’

चितवनको भरतपुर महानगरपालिकाले आइतबारदेखि एक हप्ताको बिदा दिएको छ ।

यस्तै नेपालगञ्जको नेपालगञ्ज उपमहानरपालिकाले आइतबारदेखि मंगलबारसम्म तीन दिन बिदा दिएको छ ।

नेपालगञ्ज उपमहानरपालिकाले विगतका वर्षहरुमा पनि अत्यधिक तापक्रम बढ्दा बिदा दिँदै आएको छ । यसपटक पनि अहिलेलाई तीन दिनको निर्णय गरेको भए पनि त्यसपछि अवस्था हेरेर निर्णय गर्ने उपमहानगरपालिका शिक्षा तथा खेलकुद शाखाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाले जानकारी दिए । उनले भने, ‘यतातिरका अधिकांश पालिकाले बिदा दिएका छन् । हामीले पनि अहिलेलाई तीन दिन बिदा दिएका छौं । त्यसपछि अवस्था हेरेर थप निर्णय गर्छौं ।’
त्यस्तैगरी सरहाको लाहान नगरपालिका बाराको जीतपुर सिमरा, मोरङको बेलबारी नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, उर्लाबारी नगरपालिका लगायतले पनि अत्यधिक गर्मीको कारण बिदा दिएको सूचना सार्वजनिक गरेको छ ।

अत्यधिक गर्मीको कारण पहिलो पटक बिदा भएका विद्यालय

मोरङ र सुनसरीमा यसअघि कहिल्यै पनि गर्मीका कारण बिदा नभएका विद्यालय पनि यसपालि भने बिदा भएका छन् ।

विराटनगरको तापक्रम ४२ डिग्रीसम्म पुगेको छ । त्यसैले पहिलोपल्ट यसपालि २ दिन बिदा दिएको विराटनगर महानगरपालिकाका शिक्षा शाखाका शाखा अधिकृत कृष्ण भट्टराईले बताए ।

अत्यधिक गर्मी भएपछि अभिभावक, शिक्षकहरुसँगको सल्लाहमा दुई दिन बिदा दिने निर्णय गरिएको र त्यसपछि भने मौसम हेरेर निर्णय हुने बताए ।

उनले भने ‘विराटनगरमा गर्मी भएकै कारण बिदा दिनुपरेको यो पहिलो पटक हो । धेरै दिन हुँदैन होला भनेर दुई दिन बिदा दिने निर्णय गरिएको हो तर गुगलले आइतबारको तापक्रम पनि ४२ डिग्री नै देखाएको छ । अब फेरि सल्लाह गरेर निर्णय गर्छौं ।’

सुनसरीको उपमहानगरपालिकाले पनि गर्मी कै कारण पहिलोपटक बिदा दिएको छ । पालिकाले १९ गते शुक्रबारदेखि २४ गते बुधबारसम्म विद्यालय बिदा दिएको छ ।

धरानको पब्लिक हाइस्कुलका प्रधानाध्यापक धरानमा गर्मीकै कारण विद्यालय पहिलो पटक बिदा भएको बताउँछन् । भन्छन् ‘मलाई गर्मीको कारण बिदा भएको याद छैन । झन गर्मी बढ्दै जाने देखिन्छ । यस्तै हो भने आउने शुक्रबार अघिसम्म विद्यालय खोल्न सकिँदैन होला’, धेरै विद्यार्थी भएको र पानीको अभाव भएकोले बिदा लम्बिन सक्ने उनले बताए ।

त्यस्तैगरी इटहरी उपमहानगरपालिकाले पनि पहिलोपटक गर्मी बढेपछि दुई दिनको बिदा दिएको छ । पालिकाले बिहीबार र शुक्रबार दुई दिन बिदा दिएको जनाएको छ । पालिकाको युवा, खेलकुद विकास तथा शिक्षा विकास महाशाखाका अधिकृत फाल्गुनीप्रसाद काफ्लेले गर्मीको कारण पहिलो पटक विद्यालय बिदा दिइएको जानकारी दिए । उनले भने ‘यो भन्दा अघि गर्मीकै कारण बिदा दिइएको थाह थिएन । यहाँ नजिकैको पालिकाहरुले पनि पहिलोपटक गर्मीको कारण बिदा दिएका छन् ।’

कतिपय विद्यालय टिनको छाना भएकोले पठनपाठन गर्न नसकिने र बालबालिका पनि गर्मीको कारण विरामी भएको भन्ने गुनासो आएपछि बिदा दिएको बताए । उनले भने ‘अझै पनि गर्मी कम होला जस्तो छैन । भोलि अवस्था हेरेर अर्को निर्णय गर्छौं ।’

दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, बराह नगरपालिकाले पनि विद्यालय बिदा दिएको छ ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?