
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीले भ्रष्टाचारका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न नसकेको गुनासो गरेका छन् ।
शुक्रबार मकवानपुरको दामनमा नेपाल प्रेस युनियन मकवानपुरद्वारा आयोजित कार्ययोजना निर्माण तथा अन्तक्रिया कार्यक्रममा बोल्दै शिवाकोटीले पार्टी भ्रष्टाचारका विषयमा स्पष्ट धारणा बनाउन नसकेको र भ्रष्टाचारी जोगाउने तर्फ अग्रसर भएको बताए ।
भ्रष्टाचार आरोप लगाएका व्यक्ति पार्टीले निलम्बन नगरेर जोगाउने काम गरेको उनको भनाइ छ । उनले नेतृत्वको कमजोरीका कारण विगत ८ महिनादेखि केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए ।
यथाशीघ्र पार्टीको केन्द्रीय समिति बैठक राखेर भ्रष्टाचारविरुद्धमा स्पष्ट धारणा निर्माण गर्नुपर्ने र आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गरेर अनुसन्धानमा सधाउन उनले माग गरे ।
‘भ्रष्टाचारका विषयमा पार्टीको धारणा समेत बाहिर आउन सकेको छैन । भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरुलाई निलम्बन गर्न सकेको छैन । यसले पार्टी नै भ्रष्टाचारीहरु जोगाउन अग्रसर रहेको देखिन्छ,’ उनले भने ।
पार्टी सभापतिसंग स्पष्ट बहुमत हुँदा हुँदै पनि जिम्मेवारी र जवाफदेहीताबाट भाग्ने काम भइरहेको उनले बताए ।
नेतृत्वको कारणले पार्टीको २८ हजार भन्दा बढी मतदातामा वितृष्णा छाएको भन्दै यसतर्फ गम्भिर हुनुपर्ने उनको भनाइ छ । उनले प्रेस युनियनबाट पार्टीले सिकेर आफ्ना क्रियाकलापलाई अघि बढाउनु पर्ने बताए ।
प्रतिक्रिया 4