+
+

एनआरएनएको टोलीले प्रधानमन्त्रीलाई भेटेर दियो धन्यवाद

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते ११:२७

२२ जेठ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धन्यवाद दिएको छ ।

संघका उपाध्यक्ष आर.के शर्माको नेतृत्वमा सोमबार गएको प्रतिनिधिमण्डलले नागरिकता विधेयक प्रमाणीकरणका लागि सहयोग गरेको भन्दै धन्यवाद दिएको हो ।

भेटमा एनआरएनएको टोलीले ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग खुलेको भन्दै खुसी व्यक्त गरेका थिए ।

भेटका क्रममा उपाध्यक्ष शर्माले गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि वातावरण तयार भएको र यथाशीघ्र कार्यविधि बनाइ कार्यान्वयनको चरणमा पुयाउनु पर्ने बताए ।

उनले विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्वबोध भएको पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले लामो रस्साकस्सीपछि नागरिकता विधेयक प्रमाणीकरण भएको बताउँदै नागरिकतासम्बन्धी कार्यविधि तथा नियमावली बनाउने कार्यको थालनी भएको बताए ।

एक पटकको नेपालीले सधैं नेपाली भइरहन र नेपालको समृद्धिमा सहकार्य गर्न चाहेको विषयले विगतदेखि नै आफ्नो मन छोएको उनको भनाइ थियो ।

भेटमा एनआरएनएको टोलीले पोर्चुगल, माल्टा र इराकमा यथाशक्य छिटो दूतावास स्थापना गरी त्यहाँ रहेका नेपालीहरुका समस्या समाधानका लागि पनि सरकारको ध्यानाकर्षण गराएको थियो ।

संघका उपाध्यक्ष आर. के शर्मा, संस्थापक भीम उदास, टि. बि कार्की (पूर्व उपाध्यक्ष), गोविन्दप्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भीमसेन थापा (पोर्चुगल), बन्दना शर्मा (कतार), रुद्र शर्मा (दक्षिण कोरिया), सरोज दाहाल र रवि किरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत)लगायतको टोलीले भेटवार्ता गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?