+
+

सार्वजनिक सवारी सफा राख्नुपर्ने, छुट्नुअघि र गन्तव्यमा पुगेपछि अडियो बजाउनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते ११:५१

२२ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीका लागि नयाँ नियमहरु ल्याएको छ । सरकारले ल्याएको नियम पालना भएमा अब सार्वजनिक सवारी सफा हुनेछन् भने बस छट्नुअघि र गन्तव्यमा पुगेपछि विमानमाजस्तै बसमा पनि यात्रुका लागि सन्देशमुलक अडियो बज्नेछ ।

यातायात व्यवस्था कार्यविधि निर्देशिका,२०६० संशोधन गर्दै विभागले सवारीको व्यवस्थापन, सरसफाइ,  स्वास्थ्य मापदण्डको पालना र चालक/सहचालकको बोली व्यवहारबारे नयाँ नियमहरू बनाएको छ । सवारीको भित्री र बाहिरी भागमा सफा राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । सार्वजनिक सवारीको सिट खोल, भूईं, सिसा, पर्दा, सिलिङ अनिवार्य रूपमा सफा राख्नुपर्ने नियम पनि ल्याइएको छ ।

सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने र सार्वजनिक सवारी साधनमा ध्वनि प्रदूषण हुने गरी ठूलो आवाजमा संगीत बजाउन नपाइने व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

सार्वजनिक सवारी साधनमा जनस्वास्थ्य विषयका प्रबर्द्धनात्मक सूचना टाँस्नुपर्ने र लामो तथा मध्यम दूरीका सवारी साधनले सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार रोक्नुपर्ने व्यवस्था भएको छ ।

सार्वजनिक सवारीको घिनलाग्दो सिट

व्यवस्थापकले सवारी चालक तथा सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्ने र चालु अवस्थामा रहेको सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र विसर्जन गर्नुपर्ने लगायतका व्यवस्था पनि निर्देशिकामा गरिएको छ ।

सम्बन्धित कम्पनीले आफ्नो सवारी साधनको चलान वा क्यू कार्ड प्रदान गर्दा उक्त सवारीको नियमित सरसफाइ भएको व्यहोरा सुनिश्चित गरेको हुनुपर्ने व्यवस्था निर्देशिकामा नै गरिएको छ ।

मध्यम तथा लामो दूरीमा चल्ने सवारी साधनलाई यात्राको सुरु र अन्तिम विन्दुमा सरकारले तोकेअनुसार यात्रुका लागि जानकारीमुलक अडियो समेत बजाउनुपर्ने भएको छ ।

मध्यम तथा लामो दूरीमा चल्ने सवारीको लागि सन्देश मूलक अडियोको नमूना

यात्रु महानुभावहरुमा नमस्कार, गाडि नं……… को चालक………तथा सहचालक………बाट स्वागत गर्न चाहन्छौं । जथाभावी गाडीमा तथा गाडीको झ्यालबाट बाहिर फोहर नफाली दिनुहोला, गाडीमा रहेको डस्टबिननमा फोहर हालीदिनुहोला, गाडीभित्र धुम्रपान पूर्ण रुपले निषेध गरिएको जानकारी गराउँदछौँ । यात्राको क्रममा साधारण चोटपटक लागेमा प्राथमिक उपचारको लागि हामीलाई सम्पर्क गर्नुहोला, महिला अपाङ्ग तथा ज्येष्ठ नागरिकहरुको लागि आरक्षित सिटमा नवसीदिनुहोला । गाडी पूर्णरुपमा नरोकीएसम्म नओर्लीदिनुहोला । आफनो सरसामानको राम्ररी ख्याल राख्नुहोला, सेवा गर्ने अवसर दिनुभएकोमा धन्यवाद् ।

चालक तथा सहचालकले नियमित रुपमा व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुपर्ने,  टिकट काउण्टरमा कार्यरत कर्मचारीले अनिवार्यरुपमा कम्पनीले उपलब्ध गराएको परिचयपत्र लगाउनुपर्ने र सवारीचालक तथा सहचालकले आफनो रोजगारदाता वा कम्पनीले उपलव्ध गराएको परिचयपत्र अनिवार्य रुपमा साथमा राख्नुपर्ने नियम पनि ल्याइएको छ । उनीहरुले रोजगारदाताले उपलब्ध गराएको पहिचान खुल्ने पोशाक लगाउनुपर्ने व्यवस्था समेत निर्देशिकामा गरिएको छ ।

चालक तथा सहचालकले यात्रा अवधिभर धुम्रपान तथा मद्यपान सेवन गर्न नपाउने र  चालक तथा सहचालकले यात्रुसँग नम्र, शिष्ट तथा भद्र बोली तथा व्यवहार प्रदर्शन गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

यात्रुलाई गाडीमा रहेको डष्टबिनमा मात्र फोहोर फाल्नलाई प्रोत्साहित गर्नुपर्ने,  यातायात व्यवसायीले प्रत्येक वर्ष दुई जोरको दरले आफना चालक तथा सहचालकलाई पहिचान खुल्ने किसिमको पोशाक उपलब्ध गराउनुपर्ने नियम बनेको छ । सवारी चलाउँदा सवारी चालक र सहचालकले यात्रुसँग अनावश्यक कुराकानी गर्न नहुने नियम पनि निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?