+
+

धितोपत्र र घरजग्गा कारोबारमा करको व्यवस्था पुनरवलोकन हुनुपर्छ : महासंघ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २२ गते १९:१६

२२ जेठ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले घोषणा गरेको आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्रलाई निकास नदिने बताएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि एक साता पछि औपचारिक धारणा सार्वजनिक गर्दै महासंघले बजेटले दीर्घकालीन लगानीको सम्भाव्यताबाहेक अन्यत्र निराशा मात्रै छरेको आरोप लगाएको छ ।

सरकारले स्रोत व्यवस्थापनका लागि बजेटमा करको दायरा फराकिलो बनाउँदा उद्योगी व्यवसायी र उपभोक्तालाई आर्थिक भार थपिएको भन्दै महासंघले धितोपत्र र घरजग्गा कारोबारमा करको व्यवस्था पुनरवलोकनको समेत माग गरेको छ ।

बजेटले दीर्घकालीन लगानीको सम्भावनालाई बढाए पनि तत्काल मन्दीको असर कम गर्ने उपाय अवलम्बन गर्न नसकेको महासंघले बताएको छ । बजारमा तरलता प्रवाह, विकास निर्माण र माग सिर्जनाका लागि आवश्यक निर्माण व्यवसायीहरुको म्याद थप, मूल्य समायोजन र बक्यौता भुक्तानीमा बजेट मौन रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

बजेटमा आम उपभोक्ता र व्यवसायीलाई पर्न सक्ने प्रभावको मूल्याङ्‍कन नगरी करको दर र दायरामा गरिएको विस्तारले बजारमा कायम मन्दीलाई कायम राख्ने मात्र नभई थप नकारात्मक प्रभाव पार्ने महासंघको तर्क छ ।

प्रचलित कानुन बमोजिम कर दायित्व फरफारक गरी कर चुक्ताको प्रमाणपत्र समेत लिइसकेको अवस्थामा आर्थिक विधेयकमा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्ने प्राकृतिक व्यक्तिका हकमा गरिएको व्यवस्थाले अन्यौल सिर्जना गरेको भन्दै यसमा सुधार आवश्यक रहेको महासंघले बताएको छ ।

महासंघले व्यावसायिक वातावरण सुधारका लागि बजेटमा वातावरणीय प्रभाव मूल्याङ्‍कन, जग्गा प्राप्ति, काठको उपयोग तथा धौवादीसहित अन्य खानीको सम्भाव्यता खोजी गर्ने लगायतका विषयलाई महासंघले स्वागतयोग्य भनेको छ । वातावरणमा असर नपर्ने गरी उपयुक्त देखिएका स्थानबाट ढुङ्‍गा, गिट्टी, बालुवा उत्खनन र निकासीको बाटो खोलिएको विषयलाई पनि स्वागतयोग्य भनेको छ । यस्तो प्रावधानबाट व्यापार घाटा कम गर्न मद्दत पुग्ने महासंघको दाबी छ ।

२० प्रतिशत महँगो भएपनि स्वदेशी वस्तु उपयोग गर्ने, सडक ढलान गर्ने, परियोजनामा स्वदेशी उत्पादनलाई प्रश्रय दिने, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रको बिकास, बाँझो जमीनमा खेती गर्ने लगायतका प्रावधानले आयात प्रतिस्थापनमा सहयोग पुग्ने भन्दै उनले स्टार्टअप विकासका लागि विभिन्न कोषको प्रवर्द्धन र नगद अनुदान, कम्पनी खोल्न गरिएको सहजीकरणले नयाँ व्यवसायीको बजारमा प्रवेश हुन सक्ने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?