
२३ जेठ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग २०७९-८० अन्तर्गत आजदेखि २५औं चरणका खेलहरु सुरु हुँदैछ । आज चार खेल हुनेछन् ।
जसमा दशरथ रंगशालामा दुई तथा एन्फा कम्प्लेक्स र च्यासल रंगशालामा एक एक खेल हुनेछन् ।
दिउँसो तीन बजे दशरथ रंगशालामा शीर्ष स्थानको चर्च ब्वाइजले थ्री स्टार क्लबसँग खेल्नेछ ।
पहिलो पटक ए डिभिजन लिग खेलिरहेको चर्च ब्वाइज उपाधि नजिक छ र थ्री स्टारलाई आज पराजित गरेर एक खेल अगावै च्याम्पियन बन्नेछ ।
चर्च ब्वाइज ठूलो कीर्तिमानको नजिक छ । त्यसैले आजको खेल त्यसका लागि निर्णायक बन्न सक्छ । २४ खेलबाट ४४ अंक जोडेको चर्च ब्वाइजले साविक विजेता मछिन्द्र क्लबमाथि पाँच अंकको अग्रता बनाएको छ ।
उता पूर्वविजेता थ्री स्टार २४ खेलबाट २८ अंकसहित १२औं स्थानमा छ र रेलिगेसनको चिन्तासमेत छ । १३औं स्थानको फ्रेण्ड्सभन्दा थ्री स्टार दुई अङ्कले मात्र अघि छ । यस्तोमा थ्री स्टार पनि जित निकाल्ने योजनामा हुनेछ । हार्यो भने थ्री स्टारलाई पनि रेलिगेसनको चिन्ता बढ्नेछ ।
आजै तीन बजे एन्फा कम्प्लेक्समा विभागीय डर्बीमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी एफसी भिड्नेछन् । लिगमा कमजोर सुरुवात गरेपनि विदेशी खेलाडीको आगमनपछि सानदार प्रदर्शन गर्दै चौथो स्थानसम्म उक्लेको छ । पुलिसले शीर्ष तीनमा लिग सिध्याउने लक्ष्यमा छ ।
आर्मी २४ खेलबाट ३० अंकसहित ११औं स्थानमा छ ।
यस्तै ३ बजे नै च्यासल रंगशालामा पुछारमा रहेको एफसी खुमलटार र एपीएफ फुटबल क्लबबीच खेल हुनेछ । नवप्रवेशी खुमलटारको लागि यो खेल गर या मरको अवस्थामा छ । पछिल्लो समय लगातार कमजोर प्रदर्शन गरेको खुमलटार एपीएफसँग पराजित भए एक खेल अघि नै रेलिगेसनमा पर्नेछ । त्यसैले एपीएफविरुद्ध खेल्दा खुमलटार दबाबमा हुनेछ ।
२४ खेलबाट खुमलटारको २४ अंक नै छ ।
आजको अन्तिम खेल साँझ ६ बजे दशरथ रंगशालामा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबबीच हुनेछ । अघिल्लो खेलमा चर्च ब्वाइजसँग हारेपछि उपाधि होडबाट बाहिरिएको जावलाखेलको लक्ष्य अब सकेसम्म माथि रहेर लिग सकाउने छ ।
२४ खेलबाट ३७ अंकसहित जावलाखेल तेस्रो स्थानमा छ । आज सातदोबाटोलाई हराएर जावलाखेल दोस्रो स्थानमा उक्लनेछ ।
लिगमा उत्कृष्ट सुरुवात गर्दै कुनै समय उपाधि दाबेदारकै रुपमा रहेको सातदोबाटोले पछिल्लो समय लय कायम राख्न नसक्दा पछि परेको छ । सातदोबाटो २४ खेलबाट ३२ अंकसहित पाँचौ स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4