२३ जेठ, काठमाडौं । सगरमाथा आरोहणको क्रममा बीच बाटोमै अलपत्र परेका एक जना मलेसियन नागरिकलाई आठ हजार मिटरभन्दा माथिको उचाइबाट उद्धार गरेपछि ३० वर्षीय गेल्जे शेर्पाको नामको चर्चा हुँदा अर्का उद्धारकर्ता ङिमा टासी शेर्पाको भने उति साह्रो चर्चा छैन । तर यो साहसिक उद्धारको कथा २९ वर्षीय ङिमा टासीविना अधुरै हुन्छ ।
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका तात्तिङ घर भएका गेल्जे र सोलुखुम्बुकै खुम्बुपासाङ गाउँपालिकाको थामे घर भएका ङिमा मिल्ने साथी हुन् । गेल्जे सेभेन समिटमा कार्यरत छन् भने ङिमा १४ पिक्स एक्सिपिडिसनमा । उनीहरुबीच सगरमाथा आरोहण गाइडको रुपमा काम गर्दागर्दै चिनजान भएको थियो ।
जेठ ४ गते दुवै आ-आफ्नै ड्युटीमा थिए । गेल्जे आफ्नो चिनियाँ क्लाइन्टलाई लिएर सगरमाथा उक्लिरहेका थिए भने ङिमा मेक्सिकन टोलीलाई लिएर भोलिपल्ट सगरमाथा चढ्ने तयारीका साथ बसेका थिए ।
गेल्जेले सगरमाथाको बाल्कोनी क्षेत्र (करिब ८ हजार ४५० मिटर) उचाइको क्षेत्रमा एकजना आरोही अलपत्र अवस्थामा फेला पारे । ती मलेसियन नागरिक भुईंमा छटपटाइरहेका थिए । उनको अक्सिजनको सिलिण्डर पनि सकिनै लागेको थियो । गेल्जेले त्यहीँबाट आरोहण स्थगित गरे र चिनियाँ आरोहीलाई प्यारासुटबाट आधार शिविरमा झारेर मलेसियन नागरिकको उद्धार थाले ।
गेल्जेले आफ्नो अक्सिजन समेत ती मलेसियन नागरिकलाई दिएर बाल्कोनी क्षेत्रबाट करिब ६ सय मिटर तलसम्म ल्याए । आफू थाकेपछि उनले क्याम्प फोरमा रहेका ङिमा टासीलाई सम्पर्क गरेर माथि बोलाए ।
‘क्याम्प फोरदेखि करिब ४ सय मिटर माथि गेल्जे र मेरो रेडियो कन्टयाक्ट भयो । उसले पानी ल्याउन मलाई तीर्खा लाग्यो, गाह्रो भयो भन्यो । म पानी बोकेर छिटो-छिटो माथि गएँ,’ ङिमाले त्यो क्षण सम्झिए, ‘उसलाई पानी पानी खुवाएँ । त्यो ठाउँबाट मैले बोकेर क्याम्प फोरमा पुर्याएँ ।’
हिउँ भएको ठाउँमा घिसार्दै र पत्थर भएका ठाउँमा बोक्दै ङिमा र ग्याल्जे मिलेर ती मलेसियन आरोहीलाई तल झारेका थिए । उनै ङिमाले आरोहीलाई बोकेर हिँडेको फोटो र भिडियो गेल्जेले सामाजिक सन्जालमा पोष्ट गरे र एकजना विदेशी आरोहीलाई उद्धार गरेको लेखे ।
एकैछिनमा त्यही भिडियो र फोटो विश्वभर भाइरल भयो । विश्वका प्रतिष्ठित मिडियाहरुमा नेपाली शेर्पा गाइडहरुको उच्च प्रशंसासहित समाचार प्रकाशित भयो । ‘म त्यो विदेशीलाई बोकेर हिँडिरहेको थिएँ । त्यहीबेला गेल्जेले फोटो र भिडियो खिचेर इन्स्टामा हाल्यो,’ ङिमा भन्छन्, ‘त्यही भाइरल भयो ।’
यसमा खुसी ङिमा भन्छन्, ‘डेथ जोनबाट एक जनालाई जीवितै तल ल्याउन सकियो । शेर्पाहरुको प्रचार भयो । देशका लागि ठूलो काम गर्न सकेको जस्तो लागेको छ ।’
ङिमा र गेल्जेले उद्धार गरेका ती मलेसियन नागरिकलाई क्याम्प थ्रीबाट हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौंमा ल्याइएको थियो । काठमाडौंमा उपचारपछि उनी आफ्नो देश फर्किसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4