+
+

आन्दोलनकारीको निशानामा एमाले, उत्तेजनामा ओली

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते २२:०९
कोशी नामकरणको विपक्षमा विराटनगरमा भएको आन्दोलनको तस्वीर ।

२५ जेठ, काठमाडौं । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत पक्षले बिहीबार उदयपुरमा उपसभामुख सिर्जना दनुवारमाथि आक्रमणको प्रयास गरेको छ । इलामको सोयाकमा नेकपा एमालेका प्रदेशसभा संसदीय दलका उपनेता राम रानाको गाडी रोकेर मोबिल पोखिदिएका छन् भने गाडीमाथि ढुंगामुढा गरेका छन् ।

त्यसको प्रतिक्रियामा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब तयारीका साथ मुकाबिला गर्नुपर्छ भन्दै भाषण गरे ।

आन्दोलनरत पक्षले आफ्नो प्रतिवद्धता विपरीत नेताहरुमाथि दुव्र्यवहार गर्ने र एमाले नेतृत्वले प्रतिवादमा उत्रिन निर्देशन दिँदा परिस्थिति हिंसातिर धकेलिन सक्ने भय बढेको छ ।

चार दलको निर्णय, निशानामा एमाले

अरु प्रदेशको नाम अघिल्लो कार्यकालमै टुंगिएपनि प्रदेश १ ले नामकरण गर्न सकेको थिएन । ९३ सदस्यीय प्रदेशसभामा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई तिहाई बहुमत (६६) सांसद हुँदा पनि नाममा सहमति जुट्न सकेन ।

यो पटक एमालेले केही सिट गुमायो भने कांग्रेसले थप्यो, राप्रपा नयाँ दलको रुपमा आयो । एमाले (४०) पहिलो, कांग्रेस (२९) दोस्रो र माओवादी केन्द्र (१३), राप्रपा (६) र एकीकृत समाजवादी (४) र जनता समाजवादी पार्टी (१) भएको अवस्थामा प्रदेशको नामकरण झन् जटिल मानिएको थियो ।

तर अनपेक्षित रुपमा १७ फागुन २०७९ मा प्रदेशको नाममा ठूला चार दल एकठाउँमा उभिए । केन्द्र सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा १० पुसको सहमति तोडेर कांग्रेसलाई साथ दिएपछि एमाले र राप्रपाले सरकार छाडेको थियो ।

तर प्रदेशको नाम कोशी राख्न एमाले, कांग्रेस, माओवादी र राप्रपा एक भए । नेताहरुका अनुसार, सुरुमा एमाले, कांग्रेस र राप्रपाबीच सहमति जुटेको थियो, पछि माओवादी केन्द्र पनि थपियो । र, ९३ मध्ये ८२ जना प्रदेशसभा सदस्यले कोशी नामको पक्षमा मतदान गरे । एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्यले मात्र विपक्षमा मतदान गरेका थिए ।

नामकरणसँगै विरोध सुरु भयो । पहिचान पक्षधरहरुले संघर्ष समिति बनाएर दबावमूलक आन्दोलन गर्न थाले । त्यसक्रममा झडपका घटनाहरु पनि हुन थाले । ५ चैतमा विराटनगरमा भएको प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बूको मृत्यु भयो । आक्रोशित आन्दोलनकारीहरुले प्रदेशका मन्त्री र मन्त्रीहरुको जिल्ला भ्रमणका क्रममा आवागमनमै अवरोध गर्न थाले ।

१३ वैशाखमा बुधबारे जाने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको थियो । आफूविरुद्ध नाराबाजी गर्नुका साथै गाडीमा ढुंगामुढाको प्रयास गरेपछि एमाले अध्यक्ष ओलीले आन्दोलनबारे कडा टिप्पणी गरे । त्यसयता एमालेका थप नेताहरु आन्दोलनकारीको निशानामा परेका छन् ।

आन्दोलनरत पक्ष भने जसले कोशी नाम प्रस्ताव गरेको छ, उनीहरुले नै जिस्काइरहेकाले तनाव बढेको बताउने गरेका छन् । कांग्रेस र माओवादी नेताहरु आफ्नो निर्णय पुनर्विचार गर्न सकारात्मक रहेको र कोशी नामको बचाउ गर्दै गाउँ पनि नगएको भन्दै पहिचान पक्षधर नेता अर्जुन जम्नेली राई भन्छन्, ‘एमालेले जिस्काउने काम गरेपछि विरोध भइहाल्छ नि !’

एमाले नेताहरु भने यो अवस्था आउनुमा माओवादी केन्द्रको दोहोरो भूमिका र कांग्रेसको गैरजिम्मेवारपन कारक मान्छन् । विगतमा मधेशमा एमालेलाई सुनियोजित रुपमा निशाना बनाउँदा सप्तरीको मलेठ घटना भएको भन्दै एमालेका एक पदाधिकारी भन्छन्, ‘कोशीको आन्दोलन पनि सुनियोजित छ ।’

मुकाबिला गर्ने ओलीको चेतावनी

बुधबार इलाममा भएको घटनालाई ओलीले आफ्ना नेताको आगो लगाएर हत्या गर्ने प्रयास भनेका छन् । एमाले प्रदेशसभा सदस्य रानाका अनुसार इलामबाट झापा फर्कने क्रममा इलाम नगरपालिका–११ सोयाकमा प्रदर्शनकारीहरुले मुढा राखेर बाटो छेकेका थिए । उनको गाडीमा मोबिल पोखेका थिए ।

त्यसको केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा ओलीले हत्या प्रयास भएको उत्तेजक अभिव्यक्ति दिए । सत्ताको संरक्षणमा आपराधिक घटना भइरहेको निष्कर्ष सुनाउँदै ओलीले भने, ‘आज मात्र प्रदेशसभा सदस्य राम रानालाई मोबिल छर्किएर आलो लगाउन खोजे । पहिचानको नाममा हत्या प्रयास भइरहेको छ ।’

‘किरात प्रदेश राख्न खोजेको किन रहेछ भन्ने देखिँदैछ नि । नराख्दा यस्तो छ, राख्ने हो भने के हुन्थ्यो ? गैरकिरात भनेको त त्यहाँ बस्न पनि नपाउने रहेछ’, यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्न रहेको दाबी ओलीले गरे ।

सुरुमा कोशी नाम राख्न मत दिएको माओवादीले अहिले पुनर्विचार गर्नुपर्छ भनेर भड्काएको उनको आरोप छ । सरकारले नै ‘गुण्डाहरु’लाई प्रोत्साहित गरिरहेको भन्दै उनले भने, ‘अब एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो ।’

थप तनावको त्रास

प्रहरीका अनुसार नामकरणको विरोधमा प्रदेशका १४ वटै जिल्लामा विरोधका कार्यक्रम भइरहेका छन् । कतिपय पालिका तथा वडा कार्यालयमा तालाबन्दी भएका छन्, कतै प्रदर्शन तथा विरोध ¥याली गर्ने गरेका छन् । त्यसक्रममा भएका झडपका क्रममा ३४ जना आन्दोलनकारी र १३९ जना प्रहरी घाइते भएका छन् ।

आन्दोलनका क्रममा १६७ जना पक्राउ परेका थिए, उनीहरु सबै छुटिसकेका छन् । सबैभन्दा धेरै १४ जेठमा बजेट अधिवेशनको पहिलो दिन प्रदेशसभा घेराउ गर्ने क्रममा ८६ जना पक्राउ परेका थिए । उनीहरुमध्ये ७० जनालाई त्यही राति छाडिएको थियो भने १६ जनालाई मुद्दा चलाउने तयारी थियो । तर शान्तिपूर्ण गतिविधि मात्र गर्ने लिखित प्रतिवद्धता जनाएपछि प्रहरीले उनीहरुलाई पनि छाडेको थियो ।

बुधबार प्रदेश सरकारले पनि नामकरणको विपक्षमा रहेकाहरुसँग वार्ता गर्न खानेपानी मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा ३ सदस्यीय वार्ता समिति बनाएको छ । तर सम्वाद सुरु हुन नपाउँदै बिहीबारको घटना र त्यसमा एमाले अध्यक्षले दिएको जवाफले तनाव बढ्ने त होइन भन्ने चिन्ता बढेको छ ।

राजनीतिक विश्लेषक मणि दाहाल किरात सभ्यतालाई पहिचान देऊ भनेर राखेको मागलाई अन्यथा भन्न मिल्ने बताउँछन् । एमालेले परशुराम मेघी गुरुङको नेतृत्वमा बनाएको राज्य पुनर्संरचना आयोगले नै कोशी किरात प्रस्ताव राखेको भन्दै उनले त्यही धरातलमा उभिएर नामाकरण गरेको भए पनि फरक नगर्ने उनी बताउँछन् ।

अब नाम राखिसकेको अवस्थनामा सम्वादमार्फत समाधान खोज्नुको बस्नुको विकल्प नभएको भन्दै राजनीतिक विश्लेषक दाहाल भन्छन्, ‘आक्रमण बेठीक हो, तर केपी कमरेडले जे भन्नुभएको छ, त्यो पनि कुनै पनि नेताले गर्ने भाषण होइन ।’

पहिचान पक्षधर नेता राई पनि एमाले अध्यक्ष ओलीले पहिचानका लागि भइरहेको आन्दोलनलाई जातीय रुपमा भड्काउने प्रयास गरेको आरोप लगाउँछन् । यसप्रति आफूहरु सचेत रहेको भन्दै उनले भने, ‘वार्ता र आन्दोलनलाई सँगसँगै लैजान्छौं, विराटनगरमा वार्ता भए पनि अरुतिर आन्दोलन भइरहन्छ ।’

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी भने वार्ता इन्कार नगर्ने, आक्रमण पनि गरिराख्ने प्रवृत्ति स्वीकार नहुने बताउँछन् । एमालेले पटक पटक जिम्मेवार भूमिका खेलेको भएपनि आन्दोलनका नाममा अराजकता नरोकिएको भन्दै उनले भने, ‘यो संघातिक आक्रमण अन्तिम होस्, फेरि पनि आक्रमण हुन्छ भन्ने सैह्य हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?