+
+

गर्मी एउटा राजनीतिक मुद्दा

गर्मीका कारण स्कुल बन्द छन् । मजदुरहरु बाहिर निस्कन सकिरहेका छैनन् । निस्केका मजदुरलाई पनि काम प्राप्त छैन । काम दिनेहरुले आफ्ना कार्यालय, सटर बन्द गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते २१:४९

२६ जेठ, काठमाडौं । पहिले मानिसहरु भन्ने गर्थे– यसपालि जस्तो जाडो कहिल्यै थिएन । सायद अब भन्नुपर्ने हुन्छ– यसपालि जस्तो गर्मी कहिल्यै थिएन ।

जसरी मान्छे जाडोले मर्ने नभई न्यानो कपडाको अभावमा मर्न पुग्छ, त्यसैगरी गर्मीले नभई गर्मीमा ननिस्किई नहुने बाध्यताका कारण मृत्यु या गम्भीर समस्यामा पर्छ । तर यतिबेला गर्मीलाई जित्नेगरी उछालिएको छ ग्रेटर नेपालको तापक्रम । सत्ता–प्रतिपक्षी दलका नेताहरुका ठूला घोषणाहरुबीच काठमाडौंका स्वतन्त्र निर्वाचित मेयर बालेन शाहले कार्यकक्षमै ग्रेटर नेपालको ‘परिकल्पित भूतकाल’ झुन्ड्याएका छन् । ट्वीटरको ट्रेन्डिङ नम्बर १ मा गर्मी होइन, ग्रेटर नेपाल नै छ ।

यो पंक्ति लेख्दासम्म काठमाडौंमा ३२ डिग्रीसम्म गर्मी छ । नेपालगञ्जमा ४१ प्रतिशत छ । सोमबार यो बढेर ४३ डिग्री सेल्यियस हुनेछ । समग्रमा ४४ डिग्री सेल्सियस नेपालले बेहोरेका आँकडा छन् । यसबाट दुःख पाउने नागरिकका वास्तविक पीडा उजागर हुन सकेकै छैनन् ।

जलवायु परिवर्तन कुनै हिमालको पग्लाईसँग जोडिएको बुद्धिविलासको मुद्दा रहेन, यो हाम्रै सामुन्नेमा आइसक्यो । गर्मीका कारण स्कुल बन्द छन् । मजदुरहरु बाहिर निस्कन सकिरहेका छैनन् । निस्केका मजदुरलाई पनि काम प्राप्त छैन । काम दिनेहरुले आफ्ना कार्यालय, सटर बन्द गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा छिटफुटबाहेक यो विषय उठ्दै उठेको छैन । भइरहेका बहस जनताका समस्याभन्दा धेरै टाढा छन् । यो गर्मीका कारण संक्रमणरोग फैलिने खतरा छ, जसको पहिलो असर बुढाबुढी र केटाकेटीमा पर्नसक्छ । संक्रमणरोग विशेषज्ञ शेरबहादुर पुन भन्छन्– ‘गर्मीमा सावधानी अपनाउँदा अपनाउँदै पनि संक्रमण फैलिन सक्छ । यो खतरा पहिलेका वर्षभन्दा बढी छ ।’

तर हाम्रो राजनीतिको केन्द्रीय एजेन्डामा आज गर्मी छैन । दलहरु दैनन्दिन नित्यकर्ममा छन् । प्रतिनिधिसभामा कांग्रेस सांसद प्रदीप पौडेल र रास्वपा सांसद मनिष झाले उठाएको विषयलाई अपवाद मान्ने हो भने स्वतन्त्रदेखि स्वतन्त्र पार्टीसम्मले त्यसैलाई पछ्याएका छन् । तीन तहका सरकारहरु आ–आफ्नै सुसेधन्दामा छन् ।

सरकारका प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि उद्घाटन र शिलान्यास समारोहमा जान गर्मीले रोकेको छैन । न त प्रमुख प्रतिपक्षी एमालेलाई शरणार्थी काण्डसँग जोडिएका निश्चित पात्रविशेषको सरोकार राख्न या ७० वर्षे उमेर हद हटाउन गर्मी कारक छ ।

संक्रमणरोग विशेषज्ञ पुनका अनुसार असाध्य रोग भएका दीर्घरोगीहरुमा यसको असर बढ्ता देखिन सक्छ । गर्मीका कारण अरु विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्छन् । यसले ल्याउने आर्थिक समस्या, अनि त्यस समेतका कारण उत्पन्न हुन सक्ने मानसिक समस्याको यहाँ चर्चा नै हुन सकेको छैन । यस अर्थमा गर्मी आफैंमा एउटा जलवायु मौसमको विषय नभई राजनीतिक प्रकरण बनिसक्यो ।

तत्कालै पानी पर्ने छाँट छैन । उसो त केरलासम्म आइपुग्यो भनिएको मनसुनी वर्षा नेपाल छिर्न अझै समय बाँकी छ । प्रिमनसुनमा उल्लेख्य पानी परे पनि अहिलेको गर्मी छेक्न त्यो पर्याप्त थिएन । यसअघि नेपालमा ०.०५६ डिग्री सेल्सियसले वार्षिक तापमान वृद्धि भइरहेको देखाइरहेकामा अहिले १.५ डिग्री सेल्सियससम्म पुगेको छ । अझ उच्च पहाडी र हिमाली क्षेत्रमा त्योभन्दा बढ्ता तापमान वृद्धि भएको हुन सक्ने आकलन गरिएको छ ।

त्यसैले अब जलवायु परिवर्तन, अनि त्यसले हाम्रो मौसमी चक्रमा पारेको असर केवल हिमाल कति पग्लियो, पहाडमा कुन बिरुवा उम्रन थाल्यो–छाड्यो भन्नेमा सीमित छैन । कांग्रेस सांसद प्रदीप पौडेलले भने, ‘४४ डिग्रीसम्म तापमान बढ्दा पनि सरकार बेखबर देखियो, तात्कालिक र दीर्घकालिक योजना बनाएर लाग्न सकेन । बरु कसरी कुर्सीमा टिकिराख्ने हो भन्ने चिन्तामा प्रधानमन्त्री र मन्त्रीहरु छन् भन्ने देखियो ।’

उनले यसै विषयलाई संसदमा उठाउँदा ट्वीटर फेसबुकमा उल्टै हास्य पात्र बनाइए । पौडेलले संसदमा भनेका थिए, ‘गर्मीले जनता जोगाउन कठिन भयो । सरकारसँग योजना के छ ? गर्मीमा सुक्खा, बर्खामा बाढी भोगिरहेका जनताका लागि कुनै कार्यक्रम छ कि छैन ?’

उनले उठाएको सरकारमा विमर्श गर्नुसाटो उल्टो मिम बनाउँदै कसैले पृथ्वीलाई छाता ओडाएको, कसैले पृथ्वीलाई खर्बुजा आइसक्रिम खुवाएको तस्बिर हाले । अरु दलका सांसदहरुले पनि विषयान्तर गर्दै प्राथमिकता परिवर्तन गरे । चिकित्सक तथा विश्लेषक रामेश कोइराला भन्छन्, ‘सबै सजिलो उपाय खोज्नेमा लागेका छन् । स्कुलमा नर्स राख्ने, बिदा दिने जस्ता सजिला बहाना खोजेर हुँदैन । केन्द्रको सरकारदेखि महानगरको स्वास्थ्य शाखाले के गर्न सक्छ भन्नेमा पो जानुपर्ने हो ।’

कोइरालाले मिडिया, नागरिक मन्चहरुलाई पनि वास्तविक सरोकारमा केन्द्रित हुन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?