 
																			त्यतिबेला तिलस्मीनारायण निकै छट्पटिन्थे जतिबेला उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतभन्दा ठीक एक कदम मुनिको ओहोदामा विराजमान थिए।
बेपत्तै पिरिन्थे। भित्रभित्र हुँडलिन्थे। मनमनै कुँडिन्थे। एकबारको जुनी कम्पनीको हर्ताकर्ता अर्थात् सीईओ हुन नपाइकनै बित्नेभो भन्ने भयले चिन्तित हुन्थे। विचलित हुन्थे। यत्तिकैमा उनको दिमागमा एकदिन एउटा तिलस्मी आइडिया क्लिक भयो।
दुईचार जना आफू जस्तै छट्टु, महत्वाकांक्षी र खुरापाती साथीहरूको साथ लिएर प्रमुख कार्यकारी अधिकृतको उमेरमा ५८ वर्षे हदबन्दी लाउन उनी सफल भए। यसअघि कम्पनीमा उमेरको त्यस्तो पाबन्दी केही थिएन।
यो पाबन्दीपछि बहालवाला सीईओ एक वर्षपछि निवृत्त भए। अब पालो तिलस्मीनारायणकै थियो। उनी सीईओ भए। यो एक वर्ष बिताउन तिलस्मीनारायणलाई एक दशक जस्तै लाग्यो।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा पुग्नुभन्दा अघिसम्म तिलस्मीनारायणलाई त्यहाँ कसरी पुग्ने भन्ने मात्रै एकसूत्रीय ध्याउन्न थियो भने पुगिसकेपछि त्यो पदमा आजीवन कसरी रहिरहने भन्ने अर्को एकल ध्याउन्नको बिजारोपण भयो।
फलत: तिलस्मीनारायणले आफू आजीवन सो पदमा रहिरहन अनेक-अनेक फण्डा र तिकडमहरूको सूत्रपात गरे।
आफू त्यो पदमा पुगेको केही समयपछि उनले कम्पनीका राम्रा, मेहनती, इमान्दार र कम्पनीको हित चिताई लगनशील भएर काम गर्ने कामदार र म्यानेजरहरू जो उनको गलत कामको आलोचना गर्थे भने कम्पनीको अहित गर्ने निर्देशनको अवज्ञा पनि गर्थे, तीनलाई एक एक गर्दै छानीछानी फायर गरे। खुरापातकर्मका आफ्ना ती समकालीन सहकर्मीहरूलाई पनि ठेगान लगाइदिए।
उनका अनन्य भक्त र उनको भजन गाएर नअघाउनेहरूलाई उपल्लो ओहोदामा बढुवा गर्दै गए। तिनलाई राम्रा राम्रा अवसरहरूको ग्यारेन्टी गर्दै गए।
यसरी उनले उनको भाषामा ‘कम्पनीको व्यापक शुद्धीकरण’ गरे। यसपछि जता हेर्यो आफ्ना भक्त र शिष्यहरू मात्रै दृष्टिगोचर हुन थाले। आफ्नो जयजयकार मात्रै देखे। प्रशंसा मात्रै सुने। महिमामण्डन मात्र भोगे।
यो देखेर उनको मन त्यसै त्यसै प्रफुल्लित हुन्थ्यो। भलै उनको शुद्धीकरणले कम्पनीको उत्पादकत्व र व्यवसायिक दक्षता क्रमशः ओरालो लाग्दै गएको थियो। बिस्तारै बिस्तारै त्यसको प्रत्यक्ष नकारात्मक असर कम्पनीको नाफामा पर्न थाल्यो। त्यसको उनलाई परवाह छँदै थिएन। न त्यसको जिम्मा नै लिन्थे। त्यसको दोष आफूभन्दा मुनिका स्टाफहरूलाई लगाइदिन्थे र आफू पानीमाथिको ओभानो भएर बसिदिन्थे।
आफू ५८ को आसपासमा पुग्न पुग्न लागेपछि उनको चिन्ता दिन दुगुना रात चौगुना बढ्न थाल्यो। सीईओ भएपछिका यी दुई वर्ष उनलाई दुई घण्टा जति पनि लागेन। ‘कत्ति चाँडै छोड्नुपर्ने दिन आउन लाग्यो’ भनेर भुट्भुटिन थाले। त्यसैले आजीवन यो पदमा कसरी रहिरहने भनेर अनेक अनेक तानाबाना बुन्न थाले।
सीईओ हुनलाई नयाँ नयाँ योग्यता र मापदण्डहरू निर्धारण गर्दै गए। यसैको लागि कम्पनीको बोर्डमा आफ्ना मान्छेहरू मात्र पुग्ने वातावरण मिलाए। कम्पनीको बोर्डमा आफ्नो पकड भएपछि सबैभन्दा पहिला उनले उमेरको हदबन्दी हटाए। बोर्डले यसलाई तुरुन्तै अनुमोदन गर्यो ।
तैपनि उनलाई पदबाट हट्नुपर्ला कि भन्ने भयले छोडेन। अझ उमेरको हदबन्दी हटाएको यही संक्रमणकालीन मौकामा अर्को सीईओ आयो भने त झन् छोड्दैन र आफू फेरि कार्यकारी प्रमुख बन्न नपाउने त्रासले अनेकौं रात निदाएनन्। त्यसैले उनले कम्पनीको कार्यकारी प्रमुख हुनको लागि थप योग्यताहरू निर्धारण गर्न थाले।
कम्पनीको कार्यकारी प्रमुख हुनलाई सम्बन्धित व्यक्तिको नाम नेपाली वर्णमालाको ‘त’ अक्षरबाट सुरु हुनुपर्ने प्रावधान राखे। त्यो पनि बोर्डबाट तुरून्तै अनुमोदन भयो। यो नियम अनुमोदन भएपछि तिलकप्रसाद, तालबहादुर, तपेन्द्रलाल, तपस्याकुमारी, तुलसीमैंया, तीलसिंह आदि ‘त’ बाट नाम प्रारम्भ हुनेहरू जो सीईओ बन्न काबिल थिए,उनीहरू बेपत्तै खुशी भए।
ती मध्ये धेरैले त पार्टी नै दिए भनेको सुनियो। अब हाम्रो पनि पालो आउने भो भनेर ती त्यसै त्यसै पुलकित भए भन्ने खबर तिलस्मीनारायणले पनि सुने। यो खबरपछि तिलस्मीनारायण सशंकित भए। परिणामस्वरूप उनले फेरि नयाँ प्रावधान थपे।
नयाँ प्रावधान अनुसार ‘त’ अक्षरबाट नाम प्रारम्भ भएर मात्रै नहुने भयो। भविष्यमा कार्यकारी प्रमुख हुने व्यक्तिको पिताको नाम नेपाली वर्णमालाको ‘ल’ अक्षरबाट प्रारम्भ हुनुपर्ने नयाँ प्रावधान पनि थपियो। तिलस्मीनारायणको बुवाको नाम लालवीर थियो। यो प्रावधान पनि कम्पनीको बोर्डबाट तुरून्तै अनुमोदन भयो।
यसपछि पनि तिलस्मीनारायण चैनले बस्न सकेनन्। किनभने सीईओ बन्न योग्य कम्पनीकै स्टाफ तिलकप्रसादको पिताको नाम लेखेन्द्र, तालबहदुरको पिताको नाम लोकमणि, तपेन्द्रलालको पिताको नाम लवप्रसाद लगायत यस्तै यस्तै थुप्रै केसहरू भेटिए। यी मनुवाहरूले भविष्यमा कम्पनीको बडाहाकिम हुन पाउने लोभले मुख मिठ्याए। यिनको मीठो मुखले तिलस्मीनारायणको मीठो चैन तीतो बनायो।
उनले फेरि कम्पनीको बोर्ड बैठक डाके। अनि फेरि नयाँ मापदण्ड थपे। जस अनुसार मौजुदा तमाम योग्यताका अतिरिक्त सीईओ बन्न इच्छुक उम्मेदवारको दाहिने गालामा काँक्रोबियाँ खत भएको पनि हुनुपर्ने बनाए। यो पनि बोर्ड बैठकबाट तुरुन्तै अनुमोदन भयो। तिलस्मीनारायणको तिलस्मी जादूले कम्पनीको बोर्ड यति सक्षम भैसकेको थियो कि यसले महिलालाई पुरूष र पुरूषलाई महिला बनाउने अल्ट्रा चिकित्सकीय दक्षता समेत हासिल गरिसकेको थियो।
बोर्डलाई के नै गाह्रो थियो र ? तिलस्मीनारायणले पुरुषलाई महिला वा महिलालाई पुरुष भने ‘हो हजुर’ भनेर अनुमोदन गर्दिनु त थियो।
यो मापदण्ड थपिएपछि पनि तिलस्मीनारायणले निर्धारण गरेका दाहिने गालाको काँक्रोबियाँ खत लगायतका सबै मापदण्ड पूरा गर्नेहरू पनि कम्पनीमा अझै भेटिए। त्यसैले तिलस्मीनारायणको बेचैनी कम भएन।
उनी सरासर आफ्नो बेडरूममा गए। एउटा स्केल लिएर ऐना हेर्दै आफ्नो दाहिने गालाको सो खतको लम्बाई चौडाई नापे। नापजाँच गरिसकेपछि फेरि बोर्ड बैठक डाके। बैठकमा उनले कम्पनीको कार्यकारी प्रमुख हुन अर्को योग्यता थप्न लगाए।
थपिएको नयाँ योग्यता अनुसार दाहिने गालामा हुनुपर्ने काँक्राको बियाँ आकारको त्यो खतको लम्बाई ठ्याक्कै दुई सेन्टिमिटर र चौडाई ठ्याक्कै एक सेन्टिमिटर हुनुपर्ने मापदण्ड बनाए। अलिकति कम वा अलिकति बेसी भयो भने पनि अयोग्य हुने व्यवस्था भयो।
यसरी सबै मापदण्ड मिलेको एकल व्यक्ति कम्पनीभरिमा अब तिलस्मीनारायण मात्र भए। अरू हुने संभावना पनि थिएन। यसपछि भने उनले ढुक्कको सास फेरे। र, आफ्नो ५८ औं जन्मदिनमा कम्पनीका सबैलाई पाँचतारे होटलमा भव्य भोज दिए।
भोजमा कम्पनीका सबै रमाए। नरमाउनेहरूलाई उनले पहिल्यै फायर गरिसकेका थिए। नि:सन्देह त्यो भव्य भोजमा सबैभन्दा भव्य खुशी त तिलस्मीनारायण आफैं थिए। भोजमा उनले भव्य भाषण पनि गरे। भाषणमा उनले भने, ‘अब यो कम्पनीको उचाई देखेर दुनियाँ चकित हुनेछ। यसलाई म सगरमाथाको होइन स्वर्गको उचाइमा पुर्यायउनेछु ।’
यसरी उनले आफू आजीवन सीईओ भैरहने मार्ग प्रशस्त गरे।
****
तिलस्मीनारायण ९७ वर्षको उमेरसम्म पनि निर्विघ्न रूपमा कम्पनीको सीईओ नै रहिरहे। दर्जनौं पटक चिकित्सकीय अपरेशन गरेपनि, कम्पनीले कमाएको नाफाको ठूलो हिस्सा उनको आफ्नै उपचारमा खर्चेर पनि उनी त्यो उमेरसम्म उनका अनन्य भक्तहरूको भाषामा स्वस्थ नै थिए।
उनको उच्च मनोबल र दृढ इच्छाशक्ति यसको प्रमुख कारण हो भनेर तिलस्मीनारायणबाट लाभान्वितहरूले बारम्बार दावी गर्ने गर्थे। बोल्न बाहेक आफ्नो बेडरुममै हिंड्डुल गर्न, खानपिन गर्न, ओछ्यानमै शौचादी गर्न उनलाई पहलमान टाइपको सहयोगी चाहिन्थ्यो। तैपनि उनलाई स्वस्थ नै भन्नुपर्थ्यो। नत्र उनी र उनका भाइभारदार बेजोड रिसाउँथे ।
तिलस्मीनारायण हाकाहाकी तर्क गर्थे, ‘कम्पनीको सीईओ पद भनेको जुडो कराँते खेल्ने पद पनि त होइन। ‘यो गर् त्यो गर्’ भन्नलाई यतिको तन्दुरूस्ती काफी हुन्छ।’
कसैले उनलाई पदलोलुप भनेको देखी सहँदैनथे। को पदलोलुप ? भनेर तीनको झाँको झार्थे र बुताले भ्याएसम्म हुर्मत लिन्थे। उनी पदलोलुप हुँदै होइनन् भन्ने उनका शिष्यहरूको अखण्ड विश्वास थियो।
उनका चेलाहरूको जोडदार तर्क हुन्थ्यो, ‘कार्यकारी प्रमुख हुनलाई कम्पनीमा निर्धारित योग्यता पुगेका कोही नै नभएपछि सीईओ सरको विकल्प नभएकै हो। वहाँलाई त्यत्तिकै पदलोलुप भन्न पाइन्न !’
र अन्त्यमा, तिलस्मीनारायणले ९७ वर्षको उत्तरार्द्धमा आफ्नो देह त्यागे। र, त्यागे सीईओ पद पनि। आफू गएको केही वर्षपछि कम्पनीलाई पनि आफूसँगै स्वर्गमा लिएर गए। ‘यो कम्पनीलाई म सगरमाथाको होइन स्वर्गको उचाइमा पुर्याउनेछु’ भन्ने वाचा पूरा गरेर गए। छँदाखाँदाको एउटा कम्पनीलाई टाट पल्टाएर गए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4