+

जिममा कस्तो व्यायाम गर्दा तौल घट्छ ?

२०८० जेठ  २८ गते १९:१४ २०८० जेठ २८ गते १९:१४
जिममा कस्तो व्यायाम गर्दा तौल घट्छ ?

तौल बढेर हैरान हुनुहुन्छ र तौल घटाउने सोचमा हुनुहुन्छ भने तपाईंको मनमा अब जिम जानुपर्‍यो भन्ने सोच त आएकै होला । कुन जिम जाने होला भन्ने चिन्ता पनि होला । कस्तो डाइट फलो गर्ने भन्ने पनि लागेको होला ।

केही व्यक्ति देख्नुभएको होला, जसले डाइट प्लान बनाएर त्यसलाई पछ्याउन थाल्छन् र अल्छीपनका कारण व्यायाम गर्न पटक्कै मन पराउँदैनन् । यस्तोमा खानपानमा ध्यान दिएर व्यायाम नगरे पनि तौल घट्छ त ? व्यायाम गर्न जाँदा के के कुरामा ध्यान दिनेलगायत विषयमा फिटनेस ट्रेनर प्रकाश केसीसँग गरिएको कुराकानी :

फिटनेस क्लब जानुअघि के के कुरा थाहा हुनुपर्छ ?

फिटनेस क्लब जानुभन्दाअघि आफ्नो तौल कति छ भनेर थाहा हुनुपर्छ । त्यसपछि शरीरको क्षमता कस्तो छ र क्लबमा कस्तो कस्तो व्यायाम हुन्छ, मैले कस्तो व्यायाम गर्ने भन्ने  विषयमा व्यायामसँग सम्बन्धी ज्ञान भएको मान्छेसँग बुझ्नुपर्छ ।

व्यायाम नगरी रहेको बानी हुन्छ । त्यस्तो व्यक्तिले फिटनेस क्लब जाने बित्तिकै एकदमै गाह्रो  खाले  व्यायाम सुरु गर्न हुँदैन । वार्मअप गर्ने र सजिलो व्यायामबाट सुरु गरेर पछि बिस्तारै व्यायामलाई बढाउँदै लैजानुपर्छ ।

फिटनेस क्लब किन जाने ?

तौल घटाउनु गाह्रो काम होइन, तपाईंले केही दिन खानै खानु भएन भने पनि तौल त घट्छ । तर तौल घट्नुका साथै स्वास्थ्य हुनु पनि जरुरी छ । शरीरमा मांसपेशी, पानी र बोसो हुन्छ । स्वास्थ्य तरिकाले तौल घटाउन शरीरको मांसपेशी होइन, बोसो मात्र कम हुनुपर्छ ।

शरीरलाई दैनिक दुई हजार क्यालोरी चाहिन्छ । दुई हजार क्यालोरी खायौं अनि ५०० क्यालोरी व्यायाम गरेर घटायौं भने शरीरलाई चाहिने ऊर्जा शरीरमा भएको बोसोलाई टुक्राएर प्रयोग गर्छ । जसले गर्दा तौल बिस्तारै नियन्त्रण हुँदै जान्छ र मोटोपनका कारण निम्तिने उच्च रक्तचाप, मधुमेहजस्ता समस्याबाट पनि बच्न सकिन्छ । नियमित शारीरिक गतिविधिले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । यसले हाम्रो शरीरलाई संक्रामक रोगबाट बचाउँछ ।

शरीरमा मांसपेशी बढाउन कस्तो व्यायाम गर्नु उचित हुन्छ ?

शरीरमा मांसपेशी बढाउन शरीरको एउटा भागलाई केन्द्रित गरेर व्यायाम गरिन्छ । मानौं, कहिले छातीको मांसपेशी बढाउनु छ भने छातीलाई केन्द्रित गरेर व्यायाम गरिन्छ । मांसपेशी बढाउन वेट ट्रेनिङ मांसपेशी बढाउने विशेष तालिम गरिन्छ ।

व्यायामबाटै शरीरको बोसो घटाउन सकिन्छ ?

शरीरलाई चाहिनेभन्दा कम खाना, एक्सरसाइज बढी गर्नुलाई ओभरट्रेन भनिन्छ । जसले  बोसो घटाउँछ, सँगै मांसपेशी पनि घटाउँछ, यसले दूरगामी असर पुर्‍याउँछ । त्यसैले पातलो र चिटिक्क परेको शरीर होइन, आफ्नो उमेर र उचाइअनुसार तौल राख्नुपर्छ । प्रत्येक अंगको लागि हरेक प्रकारको पोषण चाहिन्छ । सन्तुलित भोजनको सेवन र दिनमा आधा घण्टादेखि ४५ मिनेट एक्सरसाइज गरेर बोसो घटाउन सकिन्छ ।

जिम गएर मात्र होइन, घरमै पनि व्यायाम गरेर तौल घटाउन सकिन्छ । घरमै आधा घण्टा दौडिने, उफ्रिने,  ब्याडमिन्टन, भलिबलजस्ता खेल खेल्ने गरेर पनि तौल नियन्त्रण हुन्छ ।

जिम गएपछि कस्तो खानपान गर्नुपर्छ ?

तौल नियन्त्रण गर्न आहार र व्यायाम दुवैको समान भूमिका हुन्छ । त्यसैले दैनिक खानामा कार्बोहाइड्रेटको मात्रा अलि कम गर्नुपर्छ । खानामा प्रोटिन, फाइबर र खनिजको मात्रा बढाउनुपर्छ । गुड फ्याटको सेवन गर्नुपर्‍यो । प्रशस्त मात्रामा फाइबर भएको तरकारी र सलादको पनि सेवन पनि गर्नुपर्छ ।

प्रोटिन सेक पनि खानुपर्ने हुन्छ ?

एक सामान्य व्यक्ति तौल नियन्त्रण गर्नुका साथै शरीरलाई चिटिक्क, फूर्तिलो र बलियो बनाउन जिम जाने गर्छन् । त्यसको लागि सन्तुलित आहार नै पर्याप्त छ, प्रोटिन सेक खानु पर्दैन ।

मानौं, कसैलाई धेरै मांसपेशी बढाउनुपर्ने छ, सिक्स प्याक बनाउनु छ धेरै हेभी एक्सरसाइज गर्नुपर्ने छ भने मात्र प्रोटिन सेक खानुपर्छ । उचित खानपान गर्ने, सही व्यायाम गर्ने, सन्तुलित दिनचर्या अपनाएर नै तौल नियन्त्रण गर्न सकिन्छ ।

रक्तचाप, मधुमेह भएकाले जिम जाँदा के कुरामा ख्याल गर्नुपर्छ ?

रक्तचाप र मधुमेह भएका व्यक्तिले जिम जाँदा डाक्टरको सल्लाह लिनुपर्छ । उच्च रक्तचाप भएको व्यक्तिले जिममा गएर हेभी एक्सरसाइज गर्नु हुँदैन र खानपानमा पनि धेरै ध्यान दिनुपर्छ । एकै दिन धेरै व्यायाम गर्नेभन्दा पनि बिस्तारै बढाउँदै लैजानुपर्छ ।

जिम व्यायाम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय