
२८ जेठ, काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनको महाधिवेशनबाट अध्यक्ष पदमा प्रकाशजङ्ग कार्की निर्विरोध निर्वाचित भएका छन् । जेठ २७ र २८ गते काठमाडौंमा भएको संगठनको महाधिवेशनले अध्यक्ष कार्की सहित ११ पदाधिकारी र ५१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
महाधिवेशनले उपाध्यक्षमा राजेश चन्द, चन्द्रप्रसाद चापागाईं, प्रभुकृष्ण खड्का, हरिशरण सुवेदी, ईश्वरी पाण्डे र केविन्द्र गुरुङलाई निर्वाचित गरेको छ । महासचिवमा उत्तम बोगटी, सचिव नरबहादुर क्षेत्री, अच्युत आचार्य र कोषाध्यक्षमा विष्णुबहादुर गिरी निर्वाचित गरेको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो जीवनको लामो समय देशभक्तिपूर्ण सैनिक सेवामा बिताएका अवकाशप्राप्त सैनिकले बाँकी जीवन देश र समाजका लागि समर्पित गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकताको रक्षाका लागि अवकाशप्राप्त सैनिकको भूमिका उल्लेख्य हुने भएकाले राष्ट्रवादी आन्दोलनको अगुवाइ गरिरहेको शक्ति राप्रपालाई सबल र सक्षम बनाउन सम्पूर्ण सामर्थ्य लगाउन नयाँ कार्यसमितिलाई अध्यक्ष लिङ्देनले आग्रह गरे ।
शनिबार सुरु भएको महाधिवेशनमा एक दर्जन बढी नेपाली सेनाका अवकाशप्राप्त रथी, उपरथी, सहायक रथीहरु, दुई दर्जन बढी अवकाशप्राप्त महासेनानी, प्रमुख सेनानी, सेनानीहरु र देशभरबाट छानिएर आएका २१२ जना महाधिवेशन प्रतिनिधिहरु सहभागी थिए ।
प्रतिक्रिया 4