+
+

इरानको अत्याधुनिक क्षेप्यास्त्रबाट मध्यपूर्वमा त्रास

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १३:५९

इरानको राजधानी तेहरानका मुख्य गौडाका ठुलठूला विद्युतीय विज्ञापन डिस्प्लेमा पर्सियन, अरबिक र हिब्रु भाषामा लेखिएको छ, ‘तेलअभिभ अब ४०० सेकेन्डको दुरीमा ।’

शब्द सामान्य भएपनि यसको अर्थ भयानक छ । गत साता इरानले १४०० किलोमिटरसम्म मार हान्नसक्ने हाइपरसोनिक क्षेप्यास्त्र सार्वजनिक गरेको थियो । ‘फताह’ नामको त्यो क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीमा निकै अब्बल मानिने इजरायलले समेत निष्प्रभावी बनाउन नसक्ने अर्थ त्यसमा लुकेको छ ।

आफ्नो क्षेप्यास्त्रको गति ध्वनीभन्दा १५ गुणा बढी भएको र कुनै पनि प्रतिरक्षा प्रणालीले फताह नामको क्षेप्यास्त्रलाई खसाउन नसक्ने इरानको जिकिर छ । इस्लाममा फताहको अर्थ विजयदाता हो । ‘फताहलाई कुनै पनि प्रतिरक्षा प्रणालीले खसाउन सक्ने छैन । यसले सबै किसिमको प्रतिरक्षा प्रणालीलाई तोड्ने छ,’ सेनाप्रमुख आमिर अली हाजियदले भनेका छन् ।

इरानको यो दाबी भने पुष्टि हुन सकेको छैन । तर इरानले क्षेप्यास्त्र सार्वजनिक गरेसँगै इजरायलले मुलुकमा सुरक्षा चुनौती थपेको बताएको छ । साथै रक्षामन्त्री योअब जलान्टले इरानको घमण्ड तोड्न सक्ने प्रतिरक्षा प्रणाली आफूहरुसँग रहेको बताएका छन् । ‘हाम्रो मुलुकको दुश्मनले नयाँ हतियारबारे निकै नै घमण्ड गरेको पाएँ तर त्यस्ता कुनै पनि हतियारलाई हामी जमिनमा वा हावामा निष्प्रभावी पार्नसक्छौं । हामीसँग संसारकै उत्तम प्रतिरक्षा प्रणाली छ,’ रक्षामन्त्री जलान्टले भनेका छन् ।

फताह क्षेप्यास्त्रबारे विज्ञहरुले हतियारको क्षेत्रमा इरानको पछिल्लो विकास एकदमै उच्चतम भएको बताएका छन् । इजरायलको क्षेप्यास्त्र प्रतिरक्षा संस्थाका पूर्वनिर्देशक उज्जी रूबिन भन्छन्, ‘क्षेप्यास्त्र प्रविधिमा यो अवधारणा वास्तविक र व्यवहारिक छ ।’ तर यो क्षेप्यास्त्र इरानले दाबी गरेझैँ भयानक किसिमको नरहेको उनको भनाइ छ ।

झट्ट सुन्दा इरानले गरेको यो विकास नौलो लागे पनि ब्यालेस्टिक क्षेप्यास्त्र नै यसको गतिमा जानसक्ने विज्ञको मत छ । ‘इरानले आफ्नो उत्पादनमा विगतदेखि नै बढाइचढाइका साथ दावा गर्दै आएको छ । इरानले हाल ल्याएको क्षेप्यास्त्र अत्याधुनिक रहेकोमा कुनै शंका छैन तर के इरानले हाइपरसोनिक क्षेप्यास्त्र उत्पादन गरेको मुलुकको अग्र सूचीमा आफूलाई राखेको छ ?’ इरान मामिला जानकार एलेक्स भटनाका भन्छन् ।

अमेरिकाका अनुसार मध्यपूर्वमा इरानसँग ठूलो मात्रामा क्षेप्यास्त्र बल छ । त्यसैलाई नै उसले त्रास सिर्जनाको माध्यम बनाएको अमेरिकी आरोप छ । यद्यपि इरानले विगतदेखि नै आफ्नो क्षेप्यास्त्र कार्यक्रम प्रतिरक्षाका लागि मात्रै रहेको बताइरहेको छ ।

यो साता इरानी पत्रिका कयानमा लेखिएको छ, ‘फताह आर्थिक र राजनीतिक क्षेत्रमा प्रतिरोधका लागि हो ।’ इरानले बारम्बार अमेरिकाले आफ्नो मुलुकविरूद्ध आर्थिक युद्ध गरिरहेको बताइरहेको छ ।

मध्यपूर्वको प्रतिरक्षा प्रणालीमा यसको कस्तो असर पर्छ ?

सन् २०१७ मा इरानले सीमा पारी पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । तीमध्ये २ वटा हमला सशस्त्र समूह आईएसआईए लक्षित थिए । अरु ३ वटा मिसाइल इराकको कुर्दिश समूह तथा अमेरिकी सेना र इजरायली जासुस लक्षित रहेको आणविक हतियारका अनुसन्धानकर्ता जोन कार्जिनियकको जिकिर छ ।

विज्ञहरूका अनुसार इरानले हाल बनाएको क्षेप्यास्त्र अरूभन्दा फरक छ । उसले नोजललाई चलायमान बनाएको छ । यसले अनियमित तबरले यात्रा तय गर्ने भएकाले खसाल्न निकै कठिन पर्ने विज्ञहरूको भनाइ छ । ‘यदि इरानी सेनाले दाबी गरेको कुरा सही होभने यसलाई अवरोध पुर्याउन निकै कठिन हुनेछ । फताह विगतका इरानी क्षेप्यास्त्र भन्दा निकै अत्याधुनिक पनि छ,’ कार्जिनियक भन्छन् ।

इजरायलले निकै बलियो क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली विकास गरेको छ । छोटो दुरीबाट प्रहार गरिएका रकेटलाई समेत यसले निष्प्रभावी बनाउन सक्छ । २४ सय किलोमिटर टाढा मार हान्न सक्ने क्षमताका क्षेप्यास्त्रलाई पनि उसले खसाल्न सक्छ । इजरायल, साउदी अरब र युएईसँग भएको ‘थाहड’ रक्षा प्रणाली भन्दा पनि निकै प्रभावशाली छ ।

हुथी विद्रोही समूहले सन् २०२२ मा युएई लक्षित क्षेप्यास्त्र हान्दा त्यही प्रणाली अन्तर्गत निष्प्रभावी पारिएको थियो । ‘यो प्रणालीले फताह पनि खसाल्नसक्छ तर फताहको प्रविधि पूर्णरूपमा जानकार नरहेसम्म यकिन भने गर्न सकिँदैन,’ कार्जिनियक भन्छन् ।

गल्फ राष्ट्रहरूले विगतदेखि नै इजरायली क्षेप्यास्त्र कार्यक्रम आफूहरूको सुरक्षाका लागि खतरा रहेको भन्दै त्यसलाई पश्चिमा कार्यक्रम अन्तर्गत राख्न सुझाव दिइरहेका छन् । हालसालै इरान र साउदी अरब मिले पनि इजरायलसँगको दुश्मनी कायमै छ ।

इरानको फताहबारे तथ्यपरक जानकारी नपाउँदा पनि बलियो प्रतिरक्षा प्रणाली बलियो भएको इजरायलले समेत आफूलाई सुरक्षा चुनौती थपिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?