+
+

इटलीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते २०:४६

२९ जेठ, काठमाडौं । इटलीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ ।उनको सोमबार निधन भएको हो ।

चार पटक प्रधानमन्त्री भएका उनी दोस्रो विश्व युद्धपछि इटलीमा सबभन्दा लामो समयसम्म प्रधानमन्त्री भएका थिए । १९९४ देखि २०११ को बीचमा उनी तीन पटक प्रधानमन्त्री भएका हुन् ।

बर्लुस्कोनीबारे इटलीमा मानिसहरुको मत विभाजित छ । कयौं मानिसहरु उनलाई उद्योगी व्यवसायीहरुका लागि राम्रो वातावरण बनाएको र इटलीको अर्थ व्यवस्थालाई ट्र्याकमा ल्याउने व्यक्ति मान्छन् ।

कयौंले भने उनलाई भ्रष्ट र राजनीतिमा नैतिक मूल्यको पतनका लागि जिम्मेवार मान्छन् ।

इटलीका उपप्रधानमन्त्री मटेओ सल्विनीका अनुसार बर्लुस्कोनी उनका लागि साथी र ठूलो दाइ जस्ता थिए, जसले कयौंं महत्वपूर्णर कठिन समयमा उनलाई साथ दिएका थिए । बर्लुस्कोनीको मृत्युका कारण उनी विक्षिप्त भएका छन् ।

रक्षामन्त्री ग्वीडा क्रोसेटोले भनेका छन्, ‘एक युगको अन्त्य भयो । अलविदा सिल्भियो ।’

तर बर्लुस्कोनी कयौं सेक्स स्क्याण्डल र भ्रष्टाचारको मुद्दामा पनि फसेका छन्, जसका कारण उनको प्रधानमन्त्री पद पनि गुमेको थियो ।

विवाद र उपलब्धि

सन् १९३६ मा मिलानमा जन्मिएका बर्लुस्कोनी सुरुवाती दिनमा भ्याकुम क्लिनर बेच्थे । पछि उनले निर्माण कम्पनी खोले ।

इटलीको सबभन्दा धनी व्यक्ति बने । उनले मिडिया कम्पनी, एड एजेन्सी खोले । ८० को दशकमा जब फुटबल क्लब एसी मिलान किने र टाट पल्टिनबाट बचाए, उनले निकै ख्याती कमाए ।

तर भ्रष्टाचार, कर छली र नाबालिग सेक्स वर्करसँग शारीरिक सम्बन्ध राखेको आरोप पनि खेपे ।

पछिल्लो वर्ष उनको फोर्जा इटली पार्टीले जर्जियो मेलोनीको पार्टीसँग चुनावी गठबन्धन गरेको थियो । मेलोनी प्रधानमन्त्री बनिन् भने बर्लुस्कोनी उच्च सदन सिनेटका लागि निर्वाचित भए ।

तर दुर्लभ ब्लड क्यान्सरसँग जुधिरहेका उनी गत अप्रिलमा फोक्सोमा संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?