+
+

ललितपुर महानगरका सबै मुख्य सडकमा एक वर्षभित्र स्मार्ट लाइट

अमृत चिमरिया अमृत चिमरिया
२०८० जेठ ३० गते ७:२८

३० जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी एक वर्षभित्र सबै मुख्य सडकमा स्मार्ट लाइट राख्ने तयारी गरेको छ । २०८१ असार भित्र मुख्य चोकहरुमा १२ वटा ‘हाइमास्ट लाइट’ र सडकहरूमा ‘स्मार्ट स्ट्रिट लाइट’ राखिसक्ने महानगरले जनाएको हो ।

महानगरपालिकाले स्मार्ट लाइट जडानको कार्यक्रम आर्थिक वर्ष २०७८/७९ को बजेटमै राखेको थियो । तर, सो आवमा जडान भने हुन सकेन । सो वर्षको योजना बमोजिम चालु आर्थिक वर्षको असारसम्म १२ वटा चोकमा हाइमास्ट स्मार्ट बत्ती जडान गरिसक्ने महानगरपालिकाले जनाएको छ । तीमध्ये चारवटा चोकमा बत्ती जडान भइसकेको महानगरपालिकाले जनाएको छ । स्मार्ट स्ट्रिट लाइट राख्ने काम आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी महानगरले गरेको छ ।

महानगरका अनुसार विद्युत प्राधिकरणसँगको सहकार्यमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरेको जनाएको छ ।

पुल्चोक क्याम्पस, पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा यो बत्ती जडान भइसकेको महानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए ।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरलाई उज्यालो बनाउने अभियानअन्तर्गत स्मार्ट सडक बत्ती जडान गरिएको बताए । उनले भने, ‘बत्तीले टाढासम्म उज्यालो दिन्छ भनेर चोक चोकमा राखेका हौं । यसले ६० देखि १०० मिटर क्षेत्रसम्म प्रकाश छर्ने छ ।’ १६ मिटर अग्लो पोलमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गरिएको महर्जनले जानकारी दिए ।

महर्जनका अनुसार कुपन्डोलस्थित बागमती पुल, पुल्चोक, लगनखेल चोक बसपार्क, बटुक भैरब मन्दिरअगाडि, बुङमती बसपार्क, शंखपार्क शंखमुल, ठाडोढुंगा चोक, धोबीघाट ढुंगेधारा, महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी मन्दिरमा बत्ती जडान गर्न लागिएको छ । एक साताभित्र सबै चोकमा हाइमास्ट स्मार्ट सडकबत्ती जडान भइसक्ने उनले बताए ।

चक्रपथभित्र ६ सय ६९, बाहिर १४ सय स्ट्रिट स्मार्ट लाइट

ललितपुर महानगरपालिकाले पहिलो चरणमा चक्रपथ भित्र कोर सिटीमा ६ सय ६९ वटा स्मार्ट लाइट जडान गरिसकेको छ । चक्रपथ बाहिर थप १ हजार ४ सय स्मार्ट स्ट्रिट लाइट राख्ने महानगरको भनाइ छ । चक्रपथभित्रको ‘कोर एरिया’ मा स्मार्ट लाइट दुई वर्ष अगाडीदेखि नै जडान गरेको महानगरले तीनवटा रुटमा ६ सय ६९ वटा स्मार्ट लाईट सञ्चालन गर्दै आएको छ । बाग्मती पुलबाट जावलाखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल, पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार, लगनखेलसम्म, पुल्चोक महानगरपालिका कार्यालयबाट मंगलबजार हुँदै ग्वार्कोसम्म सडकबत्ती जडान भइसकेका छन् । स्मार्ट सडक बत्ती जडानका लागि प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणले गरेको हो ।

महानगरले चक्रपथबाहिरका वडाहरु सुनाकोठी, बुङमती, खोकना, हरिसिद्धि, भैँसीपाटी, धापाखेलमा स्मार्ट सडकबत्ती जडान भएको जनाएको छ । ललितपुर महानगरका मेयर महर्जन भन्छन्, ‘धेरै जसो ठाउँमा बत्ती जडानको काम सकिएको छ, कुनै कुनै ठाउँमा प्राविधिक कुरा मिलाउनुपर्नेछ, दुई साताभित्र यो काम पनि समाप्त हुन्छ ।’

महानगरपालिकाले यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिने जनाएको छ । ‘पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न बत्ती जडान भएको ठाउँमा आउनुपर्दैन, सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बालेबापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ,’ महानगरपालिका इन्जिनियर महर्जनले बताए ।

चक्रपथमा पनि सडक बत्ती

ललितपुर महानगरले चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडान गर्ने भएको छ । महानगरले विद्युत प्राधिकरण र सडक विभागसँग सहकार्य गरी महानगरभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट सडक बत्ती जडान गर्न लागेको हो । बत्ती जडानका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । महानगरले आगामी आर्थिक वर्षको बजेटमा समेत रकम विनियोजन गरी स्मार्ट लाइट जडान गर्ने कामलाई निरन्तरता दिने जनाएको छ ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?