+
+

पुष्पकमल दाहालले स्वीकारेको ‘धर्मपथ’

धर्मलाई अफिमको संज्ञा दिने कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने क्रममा कुनैबेला ‘प्रचण्डपथ’लाई विचारधारा बनाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला गेरुबस्त्र लगाउनुको औचित्य स्थापित गर्नुपर्ने दबाबमा छन् ।

सइन्द्र राई सइन्द्र राई
२०८० जेठ ३२ गते २१:५७

३२ जेठ, काठमाडौं । पाँच मन्त्रीलाई साथमा लिएर शनिबार साँझ (२७ जेठ) दर्शन गर्न पशुपति पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना भइरहेको छ । धर्म मान्न र शक्तिपीठको दर्शन गर्न हरेक नागरिकलाई स्वतन्त्रता भएपनि देशको प्रधानमन्त्रीले मन्त्रीहरू सहित सामूहिक पूजा गर्दा धर्मनिरपेक्ष संविधानको पालना हुन नसकेको आलोचकहरुको टिप्पणी छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार, त्यसदिन प्रधानमन्त्री प्रचण्ड र मन्त्रीहरु भारतको महाकालेश्वर मन्दिरबाट ल्याएको जल चढाउन पशुपति पुगेका हुन् । ‘महाकालेश्वरबाट ल्याएको जल चढाउनुभयो । अनि पशुपतिनाथको अवलोकन गर्नुभयो’, खतिवडा भन्छन् ।

अवलोकनपछि प्रधानमन्त्री प्रचण्डले पशुपतिनाथको जीर्णोद्धार गर्ने वचन दिएका छन् । ‘पशुपतिका चारै ढोका चाँदी छन् । तर जीर्ण बन्दै गएकाले जिर्णोद्धार गर्न आवश्यक छ भन्यौं’, खतिवडा भन्छन्, ‘प्रधानमन्त्रीले छिटो गर्नुपर्ने भनेर पुस्तिकामै लेख्नुभएको छ ।’

यसअघि प्रधानमन्त्रीकै हैसियतमा केपी शर्मा ओली पूजा गर्न जाँदा पशुपतिमा सुनको जलहरी राखिएको थियो । पत्नी राधिकासहित पूजा गर्न १२ माघ २०७७ मा पशुपति पुगेका ओलीले एक अर्ब लागतमा सुनको जलहरी राख्न स्वीकृति दिएका थिए । कोरोना महामारीका कारण आमनागरिक जीवनरक्षाको पीरमा हुँदा मुलुकका प्रधानमन्त्रीले जलहरी राख्न रुचि देखाएको भनी ओलीको त्यसबेला चर्को आलोचना भएको थियो ।

अहिले पनि जलहरी राख्ने त्यो निर्णयबाट ओली आलोचनामुक्त भइसकेका छैनन् । गत १० जेठमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभा बैठकमा जलहरीबारे प्रश्न उठाएका थिए । जलहरीमा राखिएको सुनको मात्राबारे प्रश्नसहित महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन तयार पारेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको यो प्रकरणमा सांसद दाहालले कुरा उठाउँदा एक दिन एमालेले संसद नै अवरुद्ध गर्‍यो ।

धर्म निरपेक्षतालाई एक मुख्य माग मानेर विद्रोहको नेतृत्व गरेका प्रचण्डलाई विदेशी भूमिमा पहिलोपटक गेरु बस्त्रमा देख्दा आलोचना गरिनु स्वाभाविक थियो ।

‘जलहरीमा सुन भनेर पित्तल राखिएको’ दाहालको अभिव्यक्तिलाई लिएर एमालेले १२ जेठमा प्रतिनिधिसभा बैठक अवरुद्ध गर्‍यो । ओलीमाथ लगाइएको आरोप फिर्ता नभएसम्म संसद अवरोध कायमै राख्ने एमाले अडानपछि सर्वदलीय बैठक बस्यो । सर्वदलीय सहमतिअनुसार, प्रतिनिधिसभा बैठकमा रोष्ट्रमबाटै प्रचण्डले आफ्ना सांसदको अभिव्यक्ति उचित नभएको स्वीकारेपछि संसद अवरोध हट्यो ।

तर माओवादी सांसद दाहालले जलहरीबारे प्रश्न गरेको तीन साताभित्रै पशुपतिमा चाँदीका चार ढोका फेर्ने निर्णयमा प्रचण्ड पुगेका छन् । ‘असावधानीका कारणले महाकालेश्वर मन्दिर पुग्नुभयो, त्यसलाई सच्याउन भनेर पशुपतिको पूजा राम्रो भएन’, माओवादीका एक नेता भन्छन् ।

धर्म राजनीतिको स्वीकारोक्ति !

धर्म निरपेक्षतासहित ४० बुँदे माग राखेर दश वर्ष सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्डमा धार्मिक रुझान देखिएको टिप्पणी यसअघि पनि भएको थियो । सुनसरीको चतरामा २०६६ मा आयोजित एक यज्ञमा प्रचण्डले भैंसी पूजा गरेपछि सशस्त्र विद्रोहको औचित्यमाथि प्रश्न गरिएको थियो । त्यसबेला कृष्ण गिरीले (कृष्णदास महाराज भनेर चिनाइने) आयोजना गरेको यज्ञमा प्रचण्डले भैंसी, घोडा, हात्ती लगायत जनावारको पूजा गरेका थिए । ती गिरीलाई पछि बलात्कारको आरोप लाग्यो ।

त्यसपछि ठूलो विवादमा पर्नेगरी धार्मिक गतिविधिमा प्रचण्ड देखिएका थिएनन् । तर १७–२० जेठको भारत भ्रमणका क्रममा भने अरु पाँच मन्त्री (अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उर्जामन्त्री शक्ति बस्नेत र उद्योगमन्त्री रमेश रिजाल) सहित प्रधानमन्त्री प्रचण्ड गेरु वस्त्रमै देखिए । धर्म निरपेक्षतालाई एक मुख्य माग मानेर विद्रोहको नेतृत्व गरेका प्रचण्डलाई विदेशी भूमिमा पहिलोपटक गेरु वस्त्रमा देख्दा आलोचना गरिनु स्वाभाविक थियो ।

तर गेरु वस्त्र लगाउनेगरी महाकालेश्वर तीर्थ यात्रा गर्नु गल्ती नभएको प्रचण्डले तर्क गरेका छन् । ‘प्रोटोकल मिचेर भए पनि लाउन नदिनुस् भन्दाखेरी के हुने भयो भन्दा भारतका करोडौं जनताको मनमा चिसो पस्ने भयो, नेपालप्रति र नेपालका प्रधानमन्त्रीप्रति’, स्वदेश फर्कदै प्रचण्डले भने । गेरु वस्त्र लगाउँदा भारतका एक अर्ब मानिस खुसी भएको पनि प्रचण्डले बताए ।

भ्रमणमा टोलीमा रहेका एक मन्त्रीका अनुसार, इन्दौर घुमेपछि महाकालेश्वर पुग्ने कार्यक्रम पूर्वनिर्धारित हो । महाकालेश्वर मन्दिर जाने पूर्वनिर्धारित तालिका भएकै कारण परराष्ट्रमन्त्री एनपी साउदले रुद्राक्षसहित पूजा सामग्री नेपालबाटै लगेका थिए । ‘इन्दौर शहर पुग्दा महाकालेश्वर निस्कनुपर्छ, नजिकै हो भन्ने प्रस्ताव आएको थियो’ ती मन्त्री भन्छन्, ‘महाकालेश्वर जाने भनेपछि केही मन्त्रीले यताबाटै पूजाको व्यवस्था गरेका रहेछन् ।’

तर गेरु वस्त्र लगाउनैपर्ने मन्दिरको नियमबारे प्रधानमन्त्री समेत जानकार नदेखिएको उनी बताउँछन् । ‘प्रदेशको गभर्नरले स्वागत गरेपछि मन्दिर गइयो, मन्दिर पुगेपछि हुलमुल भयो, भित्र ठेलिहाल्यो’ ती मन्त्री भन्छन्, ‘पोर्टफोलियो छ भनेर लुगा खोल्न लगाएपछि हामी भेडा जस्तै भइयो नि ।’

उच्च स्रोतका अनुसार, महाकालेश्वरको पूजा गर्ने प्रस्ताव प्रधानमन्त्री प्रचण्डलाई समकक्षी नरेन्द्र मोदीले गरेका थिए । मोदीको प्रस्ताव अनुसार नै इन्दौर शहरको भ्रमण र त्यहाँदेखि ५६ किलोमिटर उत्तरमा रहेको उज्जैन तीर्थ यात्राको तालिका तय भयो ।

१८ जेठ दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनबाटै मोदीले उज्जैन यात्राबारे जानकारी दिएका थिए । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सम्पन्न पत्रकार सम्मेलनमा मोदीले भनेका थिए, ‘प्रधानमन्त्री प्रचण्डजी, तपाईं भोलि इन्दौर र धार्मिक शहर उज्जैनको यात्रा गर्नुहुनेछ । मलाई विश्वास छ कि तपाईंको उज्जैन यात्रा उर्जामयी हुनेछ ।’

भारतीय जनता पार्टी (भाजपा) ले बोकिरहेको राजनीतिक लिगेसी हेर्दा मोदीको प्रस्ताव अस्वभाविक होइन । किनकि हिन्दू धर्मलाई राजनीतिको कार्ड बनाएरै भाजपा भारतको संस्थापन छ भने मोदी दोस्रो कार्यकाल प्रधानमन्त्री छन् । सन् २०१४ देखि सरकारको नेतृत्व गरिरहेको भाजपा र मोदीले आगामी वर्ष हुने लोकसभा चुनावमा धार्मिक कार्डलाई थप सशक्त बनाउने अनुमान गरिदैछ ।

सत्तारुढ भाजपाका नेताहरुको गतिविधि, अभिव्यक्ति र धर्ममा भइरहेको लगानीले पनि आगामी चुनावमा हिन्दू धर्म एजेण्डा बन्नसक्ने अनुमान गर्न सकिन्छ । प्रचण्डले पूजा गरेको महाकालेश्वर (हिन्दू पुराण बर्णित १२ मध्ये एक ज्योतिर्लिङ्ग) मर्मतमा बितेको तीन वर्षमा मोदीले भारु.८५० करोड खर्च गरिसकेका छन् ।

राजनीतिक विश्लेषक हरि रोका, अहिले भारतमा चलिरहेको धर्मको राजनीतिमा मोदीले महाकालेश्वर दर्शनको प्रस्ताव राख्नु स्वभाविक भएको बताउँछन् । तर त्यस्तो प्रस्तावबारे प्रधानमन्त्री प्रचण्डले आवश्यक ध्यान दिन चुकेको उनको बुझाइ छ । ‘एक अर्ब भारतीय नागरिक खुशी भएको कुरा गर्नुभयो । तर त्यहाँको विपक्षी शक्ति र अल्पसंख्यकहरुले के सोचे भन्ने हाम्रो प्रधानमन्त्रीले ध्यान दिनुपर्ने थियो’, विश्लेषक रोका भन्छन् ।

भाजपाको विगत हेर्दा नेपाली नेताहरुलाई करोडौं भारतीय खुशी हुने भावनात्मक कुरा गरेर हिन्दू गतिविधिमा सामेल हुन प्रस्ताव आउनु नयाँ होइन । ९ माघ २०६० मा पूर्वराजा ज्ञानेन्द्रलाई भारतको नागपुरमा आयोजित सभाबाट ‘विश्व हिन्दू सम्राट’ घोषणा गरिएको थियो । विश्व हिन्दू महासंघले त्यसबेला ज्ञानेन्द्रलाई ‘९० करोड हिन्दू’ का सम्राट भनेको थियो ।

जानकारहरुका अनुसार, ज्ञानेन्द्रले हिन्दू सम्राट स्वीकारेको ४० वर्ष अगाडि राजा महेन्द्रलाई पनि उस्तै प्रकृतिको प्रस्ताव आएको थियो । तत्कालीन प्रधानमन्त्री तुल्सी गिरीमार्फत आएको प्रस्तावलाई महेन्द्रले स्वीकारेनन् । त्यसबेला महेन्द्रको तीन तर्क थियो । पहिलो, म नेपालमा गैरहिन्दूको पनि राजा हुँ । दोस्रो, भारत धर्मनिरपेक्ष देश हो । र तेस्रो, भारतीय संस्थापनले धर्म निरपेक्षतामा विश्वास गर्छ ।

तर महेन्द्रले अस्वीकार गरेको र ज्ञानेन्द्रले स्वीकारेको हिन्दू गतिविधिमा सामेल हुने प्रस्तावमा प्रचण्ड गेरु वस्त्र लगाउनेदेखि फर्केर महाकालेश्वरको जल पशुपतिनाथमा चढाउनेसम्म गर्न पुगे । भारत भ्रमण अगाडिका केही घटनाक्रम हेर्दा पनि समकक्षी मोदीको प्रस्ताव अनुसार, हिन्दू धर्मप्रति आफूलाई पुनरावलोकन गर्न सक्ने संकेत प्रचण्डले दिएका थिए भन्न सकिन्छ ।

जस्तो– गत ३ जेठमा माओवादीकै एक नेताले हिन्दू राष्ट्रबारे जनमत संग्रहको माग राखेर बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डले बुझे । माओवादी वृत्तले समेत राम्ररी नचिन्ने रामकुमार शर्माबाट प्रधानमन्त्रीको सरकारी निवासमै यस्तो माग बुझ्नु सामान्यतयाः माओवादीभित्र कल्पना बाहिरको कुरा हो ।

किनकि सशस्त्र विद्रोह, शान्ति प्रक्रिया र संविधान निर्माणकै बेला पनि माओवादीले धर्म निरपेक्षताबारे सम्झौतारहित अडान लिएको थियो । त्यही अडानमा राप्रपादेखि कांग्रेस–एमालेकै कतिपय नेताहरु असहमत हुँदा संविधान निर्माणमा विलम्ब हुन पुगेको थियो ।

विद्रोहकालमा त हिन्दू गतिविधि फैलाएको भनेर २३ वैशाख २०६२ मा पुराणबाचक नारायण पोखरेलको रुपन्देहीमा हत्या भएको थियो । तर यस्तो बिगतलाई बिर्साउने गरी प्रचण्डले हिन्दू राज्य मागेको प्रष्ट अर्थ बोक्ने ज्ञापनपत्र बुझेको तस्वीर सार्वजनिक गरियो ।

अर्को घटना हो, पशुपतिको जलहरीबारे आफ्ना सांसदले दिएको अभिव्यक्तिमा प्रचण्डले मागेको माफी । जलहरीबारे गरिएको प्रश्न उचित नभएको भनिएपनि एमालेको आँखाबाट हेर्दा प्रचण्डको त्यो अभिव्यक्ति माफी नै थियो ।

यी दुई भन्दा महत्वपूर्ण हो, विश्व हिन्दू महासंघ भारत च्याप्टरका अध्यक्ष प्रह्लाद मोदीको काठमाडौं भ्रमण । भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्ड निस्कने केही दिन अघि मात्रै प्रह्लादले नेपालका शीर्ष नेताहरुलाई भेटेर हिन्दू राज्य स्थापनामा सहमति गर्न प्रस्ताव गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीका भाइ भएकाले पनि उनको भ्रमण अर्थपूर्ण मान्न सकिन्छ ।

बुझ्न नसकिने रहस्य

प्रधानमन्त्री प्रचण्डले भने भारत भ्रमणदेखि अगाडि बढेको धार्मिक गतिविधिलाई दुई देशबीचको कूटनीतिक सम्बन्धमा सुधार, पर्यटनको विकासदेखि धर्म निरपेक्षतालाई बलियो बनाएको समेत तर्क गरेका छन् । तर तत्य र घटनाक्रमले प्रचण्डको तर्क पुष्टि हुँदैन । किनकि हिन्दू कार्ड भारतमा भाजपाको एजेण्डा हो । अनि हिन्दू भएकै कारण राज्य स्तरबाट नेपालले उल्लेख्य कूटनीतिक लाभ पाएको छैन ।

उल्टै, नेपाललाई पटकपटक नाकाबन्दी लगाउँदा विपक्षी भूमिकामा रहेको भाजपा भारतीय संस्थापनकै साथमा रहने गरेको छ । कंग्रेस नेतृत्व संस्थापनले सन् १९६२ र १९९८–९० मा नेपाललाई नाकाबन्दी लगाउँदा साथ दिएको भाजपा आफैले २०७२ मा ६ महिना लामो नाकाबन्दी गर्‍यो । नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै अहिलेकै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले नाकाबन्दी लगाएको थियो ।

राष्ट्रिय सुरक्षा र मुलुकको हितलाई विश्वास गर्ने कुटनीति अपनाएको भारतमा भाजपाले त्यस्तो भूमिका निर्वाह गर्नु नौलो पनि होइन । बरु भाजपाले उठाउने धार्मिक एजेण्डाकै कारण बेला–बेला छिमेकी देशहरुसँगको अविश्वास र खटपट देखिने गरेको छ ।

प्रचण्डले दिल्ली पुग्नु तीन दिन अगाडि (१४ जेठमा) मात्रै भारतीय संसद भवनभित्र राखिएको नक्सा त्यसैको एक उदाहरण हो । सांस्कृतिक नक्सा भनेर संसद भवनमा राखिएको मुरलमा नेपालको कपिलवस्तु र लुम्बिनी समेत समावेश छ । त्यही तस्वीर ट्वीट गर्दै भारतका संसदीय मामिला मन्त्री प्रह्लाद जोशीले ‘अखण्ड भारत’लाई नयाँ संकल्प भनेर लेखे । जसको नेपालमा चर्को आलोचना भयो ।

तर तीन दिनपछि मोदीलाई भेट्दा प्रधानमन्त्री प्रचण्डले यसबारे कुरा उठाएनन् । गेरु बस्त्रलाई कूटनीतिक कार्ड भनेर अर्थ्याएका प्रचण्डले दुई देशबीचको समस्यालाई दीर्घकालीन हल खोज्न गठित प्रवृद्ध समूह (ईपीजी) को प्रतिवेदनबारे त बोल्दै बोलेनन् । वातावरण बिग्रने भएकाले ईपीजीको कुरा नगरेको प्रचण्डले सार्वजनिक प्रष्टोक्ति दिए ।

जबकि नेपाल–भारत बीचको असमान सन्धि/सम्झौता खारेजीलाई प्रचण्डले २०५२ मा सशस्त्र व्रिदेहको मुख्य कारण मानेका थिए । अर्थात् आफ्नै पृष्ठभूमि, मुलुकको संविधान र नागरिक पंक्तिबाट आउन सक्ने संभावित प्रश्न भन्दा मोदीको प्रस्तावलाई महत्व दिएर गेरु वस्त्रदेखि पशुपतिमा चाँदीका ढोका फेर्नेसम्म गर्दा पनि प्रचण्डले मुख्य समस्या भने हल गर्न सकेको देखिएन ।

राजनीतिक विश्लेषक रोका, प्रधानमन्त्री प्रचण्डले गरेको तर्क कतैबाट पनि पुष्टि हुन नसक्ने बताउँछन् । ‘पुष्पकमल दाहाल एक व्यक्तिका रुपमा जुनसुकै धार्मिक गतिविधिमा सहभागी हुन सक्छन् । तर मन्त्रीहरुको हुल लिएर प्रधानमन्त्रीको हैसियतमा मन्दिर धाउनु संविधानको भावना विरुद्ध हो’, रोका भन्छन् ।

सत्ताका लागि सम्झौता

सत्तारुढ दलका एकजना नेता, प्रचण्डको हिन्दू रुझान बाध्यताको उपज भएको हुन सक्ने आँकलन गर्छन् । ‘पुष्पकमल दाहाललाई जसरी चिनेको छु, धर्मप्रति रुचि भएको नेता पक्कै पनि होइनन्’ ती नेता भन्छन्, ‘तर सत्ता जोगाउनुपर्ने बाध्यताको उपज हो कि !’

ती नेताका अनुसार, प्रचण्डले सत्तारुढ अरु नेता र पार्टीभित्र पनि गेरु वस्त्रलाई धेरै महत्व नदिन आग्रह गरेका छन् । ‘नेपालमा धर्मको एजेण्डा बिक्दैन, नहुने बाटोतिर लागेर किन सकिने ?’, ती नेता उल्टै प्रश्न गर्छन् ।

ती नेताको दाबी जस्तो नेपालमा धार्मिक राजनीति अहिलेसम्म चलेको देखिदैन । २०४६ सालमा पञ्चायती शासन अन्त्य भएपछि हिन्दू राज्य र राजसंस्थाको पक्षमा राप्रपाले राजनीति गर्दै आएको छ । तर अहिलेसम्म राप्रपाले पाएको सबैभन्दा धेरै मत १७.९३ प्रतिशत हो ।

२०५१ मा राप्रपाले २०५ सदस्यीय प्रतिनिधिसभामा २० सिट जित्यो । यही सिट संख्याका आधारमा सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द गठबन्धन बदल्दै कांग्रेस–एमालेको समर्थनमा पालैपालो प्रधानमन्त्री भए । २०५६ को चुनावमा राप्रपाले २०४८ को भन्दा खराब नतिजा ल्यायो ।

२०४८ मा दुई राप्रपा (थापा र चन्द) गरी ११.९४ प्रतिशत मत ल्याएको राप्रपाले २०५६ मा ५.३७ प्रतिशत मत पायो । २०६४ मा ३.४८ (समानुपातिक तर्फ), २०७० मा ९.११ (समानुपातिक तर्फ), २०७४ मा २.०६ (समानुपातिक तर्फ) र २०७९ मा ५.६५ (समानुपातिक तर्फ) मत पाएको छ ।

यो नतिजाले नेपालमा धर्मको एजेण्डामा रुझान नरहेकै पुष्टि हुन्छ । यद्यपि प्रधानमन्त्रीका पछिल्लो अभिव्यक्ति र निर्णयले मत बढाउने धार्मिक गतिविधिमा लागेको विश्लेषण पनि गर्न सकिन्छ । किनकि तेस्रोपटक प्रधानमन्त्री भएपछि दौरासुरुवाल लगाएको प्रसंगमा प्रचण्डले क्रान्तिकारी हुँदैमा मत नपाउने गरेको गुनासो गरेका थिए ।

२६ पुसमा विश्वासको मत लिने क्रममा प्रचण्डले भनेका थिए, ‘प्रतिस्पर्धाको राजनीतिमा आएपछि आमजनताको मनोभावना र मनोबललाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो दिएको पनि देखिनँ । लगाउने (दौरा–सुरुवाल) जतिले जितेका छन्, नलगाएकाले हारेका छन् ।’

तर भारतमा भने हिन्दू राजनीतिले भाजपालाई लगातार सफलता मिलेको छ । हिन्दू राज्यको उद्देश्य लिएको आरएसएसको राजनीतिक संगठन भाजपाले २०१९ को लोकसभा चुनावमा ३७.४६ प्रतिशत मत पायो । जबकि सन् १९८४ मा ५४३ सदस्यीय लोकसभामा जम्मा २ सिट जित्दा ७.७४ प्रतिशत मत पाएको थियो ।

तर त्यसपछि क्रमशः जनमत बढाउँदै लग्यो । सन् १९८७ मा ११.३६ प्रतिशत, १९९१ मा २०.११ प्रतिशत, १९९६ मा २०.२९ प्रतिशत, १९९८ मा २५.५९ प्रतिशत, १९९९ मा २३.७५ प्रतिशत, २००४ मा २२.१६ प्रतिशत, २००९ मा १८.८० प्रतिशत र २०१४ मा ३१.३४ प्रतिशत मत पायो । लगातार मत बढाउँदै लगेको भाजपाले हिन्दू राज्यको नारा अझै लगाएको छैन । यो नारालाई भाजपाले संकटको अस्त्र बनाउनसक्ने अनुमान गरिन्छ ।

तर त्यसका लागि नेपालमा प्रतिकुल परिस्थिति निर्माण नहोस् भन्ने मोदीको चाहना देखिन्छ । गौतम बुद्ध भारतमा जन्मिएको अभिव्यक्ति दिएर नेपाललाई चिढ्याउनेदेखि पशुपतिनाथको प्रशंसा गरेर भावनात्मक उत्साह ल्याउने गरिरहेका मोदीले प्रचण्ड कम्युनिष्ट पृष्ठभूमिका नेता भएको जान्दाजान्दै महाकालेश्वर पठाउनुले त्यही संकेत गर्छ ।

तर नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा.गंगालाल तुलाधर, जस्तोसुकै दबाब र प्रभाव पारे पनि नेपाल हिन्दू राज्यतिर फर्कन सक्ने संभावना नरहेको बताउँछन् । ‘कठिन संघर्षबाट आएका हाम्रा नेताहरुले यति सजिलै हार मान्नु हुन्छ भन्ने लाग्दैन, पछाडि फर्कने संभावना छैन’, तुलाधर भन्छन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?