 
																			कार्ल मार्क्स विश्वास गर्थे– शासकले मजदुर वर्गलाई तह लगाउन धर्मको प्रयोग गर्छन् । त्यसैले उत्पीडितहरूलाई झुटो सान्त्वना दिंदै जीवन सुधारको बाटोमा अगाडि बढ्नबाट रोक्न भूमिका खेल्ने साधनको रूपमा धर्मलाई व्याख्या गरे । ‘धर्म उत्पीडितहरूको निश्वास हो, हृदयहीन संसारको हृदय र आत्माविहीन अवस्थाहरूको आत्मा हो’ मार्क्सले भने, ‘यो जनताको अफिम हो ।’
दुखाइको भाव कम गर्दै उत्साहको भाव सिर्जना गर्ने औषधि अफिमको अनियन्त्रित र अनावश्यक प्रयोग कुलत पनि बन्न सक्छ । यहाँनेर मार्क्सले धर्मको विरोध गरेको नभई शासकीय शक्तिले कसरी धर्मको दुरुपयोग गर्छन् भनेर बुझाउन खोजेको देखिन्छ ।
शासकले उत्पीडितको आज बाँचिरहेको कष्टप्रद जीवन बेवास्ता गरेर मृत्युपछिको ‘स्वर्ग’को भ्रम देखाउन धर्मलाई कसरी दुरुपयोग गर्छन् भनेर मार्क्सले व्याख्या गरेका छन् । अहिलेको भारतमा जस्तै जर्मनमा त्यतिबेला समाजको एउटा बलियो शक्ति धर्म थियो, जहाँ मूल मुद्दाबाट नागरिकलाई बहकाउँदै (डिभर्टिस्मन्ट) धर्मको भावना भड्काइन्छ र एउटा भुलभुलैयामा फसाइन्छ ।
त्यसो त, अफिम शताब्दीयौंदेखि औषधिको रूपमा प्रयोग हुँदै आएको वस्तु हो । विशिष्ट चरित्र, विशेषता र संवेदनशीलताका कारण यसको दुरुपयोग हुने जोखिम अधिक हुन्छ, जसरी धर्मको छ । सदुपयोग गर्दा अफिम औषधि हो भने दुरुपयोग गर्दा यसका अवगुणको लामो सूची नै बन्छ । अफिमले केही घन्टा लठ्याउँछ, तर धर्मले मानिसलाई जीवनभर लठ्याउँछ ।
चीनमा सातौं शताब्दीतिर पहिचान गर्दै अभ्यासमा ल्याइएको अफिमको सत्रौं शताब्दीमा ब्रिटिश इष्ट इण्डिया कम्पनीले चीनतिरै निर्यात गर्न थाल्यो । १९औं शताब्दीमा त अफिम युद्ध नै भयो ।
अफिममा लट्ठिएर केही समय दुःखबाट मुक्ति पाए पनि यो दीर्घकालीन उपाय भने होइन । नशाको प्रयोगले हुने दुःखबाट मुक्ति अस्थायी हो भन्ने थाहा पाए पनि लाखौं मानिस यसको कुलतमा फसेका छन् । यो सन्दर्भमा मार्क्सले धर्मलाई अफिमसँग गरेको तुलना आज पनि सान्दर्भिक नै देखिन्छ । असमानता र उत्पीडनतर्फ डोर्याउने वस्तुगत अवस्थालाई बुझ्दै चुनौती दिन सामाजिक परिवर्तनको बाटो नभुल्न मार्क्सको उक्त भनाइले आज पनि बलियो उत्प्रेरणा दिइरहेको छ ।
नेपालमा सञ्चालित १० वर्षको जनयुद्धको अवधिमा पुष्पकमल दाहाल प्रचण्ड मार्क्सको धर्मसम्बन्धी कथनको सुन्दर र शानदार सप्रसंग व्याख्या गर्ने गर्थे । तब न एक जर्मन दार्शनिकले अर्का दार्शनिक हेगेललाई जवाफ दिने क्रममा सन् १८७३ मा ‘अ कन्ट्रिब्युसन अफ द क्रिटिक अफ फिलोसफी फ्रम हेगेल’ नामक कृतिमा व्यक्त विचार झण्डै सवा सय वर्षपछि नेपालका बस्ती–बस्तीसम्म कण्ठस्थ सुनाइयो ।
प्रचण्ड, पहिरन र पशुपति
युद्धको रापताप सेलाउँदै जाँदा बलिदान र वीरताका गाथा धुमिल हुन थालेका छन् । क्रान्तिकारिता अब एकादेशको कथा बन्न थालेको छ । जनताको मन जित्न मिहिनेत गर्ने नेताहरू धन कमाउने स्पर्धामा मस्त छन् । हिजो केही हजार भ्रष्टाचारको आरोपमा चौतारीमा मृत्युदण्ड दिंदै हिँड्ने माओवादी नेताहरूसँग जोडिएर करोडौंका भ्रष्टाचारका खबर बाहिरिइरहेका छन् ।
यी र यस्तै अस्तव्यस्तता बीचमा तेस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा उक्लिएका प्रचण्डको पछिल्लो भारत भ्रमण महत्वपूर्ण सहमति र सम्झौताका कारण भन्दा उनले लगाएको गेरुबस्त्रका कारण चर्चामा छ । यो चर्चा भारत भ्रमणमा गेरुबस्त्र पहिरिने मन्त्रीहरूको साथमा प्रचण्डको पशुपति मन्दिर भ्रमणपछि थप चुलिएको छ ।

प्रचण्डको पहिरनमा ‘क्रमभंग’को सुरुवात गेरुबस्त्रमा पुग्नुअघि दौरा–सुरुवालबाट भएको हो । युद्धताका दौरा–सुरुवाललाई सामन्तवादको बिम्ब मान्न प्रेरित गरेर माओवादीभित्र प्रशिक्षण नै चल्थे । राजा महेन्द्रको ‘एक भाषा, एक भेष’ रणनीति अन्तर्गत राखेर बनाइएको उक्त संकथन विरुद्ध तेस्रो पटक प्रधानमन्त्री भएपछि प्रचण्ड स्वयं उत्रिए ।
प्रचण्डले पहिरनमा ल्याएको क्रमभंगलाई भोटको राजनीतिसँग जोडेर व्याख्या गरेका छन् । दौरा–सुरुवाल लगाएपछि संसदमै उनले स्वीकारे, ‘क्रान्तिकारिता प्रदर्शन गर्दा निर्वाचन परिणाम राम्रो देखिनँ । लगाउने जतिले जितेका छन्, नलगाउनेले हारेका छन् भनेपछि त … ।’
आफूले दौरा–सुरुवाल लगाउने खबर बाहिरिएपछि सामाजिक सञ्जालमा एउटै नकारात्मक प्रतिक्रिया नदेखेको पनि उनले बताए । ‘पोजेटिभ मात्र देखेपछि मैले यो निर्णय त लिनैपर्ने भयो’ उनले भनेका थिए, ‘जनअभिमत अनुसार पनि लगाउनुपर्ने भयो भनेर मैले लगाएको मात्रै हो ।’
भारतमा पुगेर गेरुबस्त्र पहिरिएपछि प्रचण्डले स्पष्टीकरण दिंदै भने, ‘मैले गेरुबस्त्र नलगाउँदा एक अर्ब भारतीयको मनमा चिसो पस्थ्यो ।’ मध्यम वर्गको मन जित्न उनले ‘मार्ग परिवर्तन’ नै गरिरहेको टिप्पणी पनि भइरहेकै बेला खासमा उनले भारतीयको भन्दा नेपाली मतदाताकै मन जित्न खोजेको देखिन्छ ।
भारतको उज्जैनमा अवस्थित महाकालेश्वर मन्दिरमा रुद्राभिषेक गरेर स्वदेश फर्किएका उनी त्यहाँको जल चढाउन मन्त्रीहरूको दलबल बोकेर पशुपतिनाथ मन्दिर पुगे । हिन्दु परम्परामा भारतमा रहेको ज्योतिर्लिङ्गको दर्शनपछि पशुपतिनाथको दर्शन नगरी तीर्थयात्रा पूर्ण नहुने मान्यता छ ।

पशुपतिमा जल चढाउने कदमसम्म आइपुग्दा प्रचण्डले मतदातासँगै शक्तिकेन्द्र पनि रिझाउन चाहेको देखिन्छ । भौतिकवाद र आदर्शवादको लक्ष्मणरेखा नाघेर प्रचण्ड धार्मिक समाजतिर अघि बढेको देखिन्छ । जसरी हुन्छ शासक बनिरहने भोकले राजनीतिमा धार्मिक अन्धताको प्रयोगलाई पनि स्वीकार्न उनी तयार देखिएको आशंका बलिया भएका छन् ।
कुनै बेला नयाँ संस्कृति निर्माणका लागि हजारौंको संख्यामा जनधनको क्षति हुने गरी युद्धको नेतृत्व गरेका प्रचण्डको यो नयाँ अवतारले धेरै मानिसलाई झस्काउने भइहाल्यो । किनकि उनी सामान्य ढुंगा हान्ने र टायर पोल्ने संसदीय राजनीतिको जगबाट आएका नेता होइनन् । धर्मलाई अफिमसँग तुलना गर्दै हिंड्ने प्रचण्डको आकर्षण ‘अफिम खेती’ अर्थात् धार्मिक राजनीतितिर बढेपछि केही प्रश्न स्वाभाविक रूपमा जन्मिएका छन् ।
प्रचण्ड आकर्षित भएको धार्मिक राष्ट्रवादको राजनीतिमा केही मानिसको देवत्वकरण हुन्छ । अनि बहुसंख्यक जनता भक्तको स्थानमा धकेलिन्छन् जसरी राजतन्त्रमा रैतीको स्थान हुन्छ । गज्जबको भगवान बन्न केही राक्षस सृष्टि गर्नुपर्ने नै भयो । हिजो वर्ग युद्धमा वर्ग दुश्मनलाई राक्षसीकरण गर्ने अभ्यास थियो । अब प्रचण्डका वर्ग दुश्मन को हुन् ? नयाँ संकथनहरू सिर्जना गर्न थालिनेछन् ।
यद्यपि, चुनाव अगाडि राष्ट्रवादको एजेन्डालाई ‘फ्रेमिङ’ गरेको नेकपा एमाले र अध्यक्ष केपी ओलीले गरिरहेको यो पुरानै अभ्यास हो ।
प्रचण्ड झुकावः हिन्दुत्व कि हिन्दुवाद ?
भारत भ्रमण आसपास प्रचण्डको धार्मिक गतिविधिको सामीप्यता हिन्दुवादसँग हो कि हिन्दुत्वसँग ? यो सामान्य प्रश्न होइन । हिन्दुत्वले धर्मलाई राजनीतिक दर्शनको रूपमा लिन्छ । यसले धर्मलाई राष्ट्रको आधार मान्छ र यस्तो राष्ट्र टिकाइराख्न हिंसाको प्रत्यक्ष–परोक्ष प्रयोगलाई स्वीकार्छ ।
तर हिन्दुवाद फरक अवधारणा हो । महात्मा गान्धी हिन्दुवादलाई मान्थे, जसको अर्थ हुन्छ अहिंसा, परस्पर सम्मान र सहअस्तित्व । गान्धी धर्मलाई नैतिकता र परम्पराको रूपमा व्याख्या गर्दथे र यही आदर्श पछ्याइरहँदा उनी हिन्दुत्वका पक्षधरको गोली खाएर मारिए । हामी कल्पना गर्न सक्छौं धार्मिक राष्ट्रवादको हिंसात्मक अवतारले महात्मा गान्धीलाई पनि मार्न सक्छ ।
भारतमा सुरु–सुरुमा मराठा र ब्राह्मण लगायत निश्चित समुदायमा खुम्चिएको हिन्दुत्व अहिले आरएसएसका कुशल र इमानदार स्वयंसेवक नरेन्द्र मोदीको नेतृत्वमा भारतभर फैलिएको छ । हिन्दुत्वको उदय गैरहिन्दुमाथि हिंसात्मक आन्दोलन हुँदै मौलाउन थाल्यो । बाबरी मस्जिद हिंसा यो अभियानको प्रस्थानविन्दु बन्यो ।
भारतमा कृषिमा आधारित उत्पादन सम्बन्ध उद्योगमा आधारित बनिरहेको सन्दर्भमा जन्मिएको कर्पोरेट पूँजीवादले जसरी भए पनि नाफा कमाउने र सफल हुने अर्थमानव जन्माउने अस्वस्थ स्पर्धा सुरु भयो । यस्तो अर्थमानव र हिन्दु वैदिक दर्शनले कल्पना गरेको आदर्श मानवको बीचमा आकाश–जमिनको अन्तर छ । यो विरोधाभासको पटाक्षेप नहुँदासम्म धार्मिक राष्ट्रवादमा आधारित राजनीति मौलाइरहन्छ । भारतमा त्यही भइरहेको छ ।
‘धर्म’ छाडेर धर्मको राजनीति
अंग्रेजी शब्द ‘रिलिजन’ले ‘ईश्वर र पूजामा विश्वास गर्ने’लाई मात्रै समेट्छ, जबकि ‘धर्म’ले ईश्वर र अलौकिक शक्तिमा विश्वास/अविश्वास गर्ने सबैलाई समेट्छ । यसले सजीव मात्र होइन, हरेक निर्जीव वस्तुहरूको नैसर्गिक कार्यलाई समेट्छ ।
कहिल्यै बग्न नछोड्ने नदी, निरन्तर ताप र ऊर्जा दिइरहने सूर्यले आफ्नो ‘धर्म’ निर्वाह गरिरहेका हुन्छन् । तर मान्छे नै आफ्नो मूल स्वभावबाट विचलित भइरहेको छ र संसार समस्यै समस्याको पहिरोले पुरिएको छ ।
हिन्दु धार्मिक ग्रन्थ वेदले हरेक वस्तुको अनन्त व्याख्यालाई स्वीकार्छ, जबकि हिन्दुत्वले एक धर्म, एक विचारको वकालत गर्दछ । धर्मलाई सत्य मान्दा शासक अधर्मी (सत्यबाट विचलित) भए भने उसलाई नागरिकले धर्म (सत्य) को बलमा जित्न सक्छ । यो लोकतन्त्रको पनि चुरो मान्यता हो ।
त्यसो भए सत्य के हो त ? यहाँनेर हामीले अल्बर्ट आइन्स्टाइनको सापेक्षतावादको सिद्धान्त भुल्नुहुँदैन । वेददेखि विज्ञानसम्म जता गए पनि धर्म सत्यको खोजमा गरिने कर्म हो । निरन्तर खोजबाट सत्यको मूल्य प्राप्त गर्न सकिन्छ । यो अर्थमा धर्मलाई खोजको साधन मान्न सकिन्छ, न कि साध्य ।
पश्चिमा दार्शनिकहरूले पनि निरन्तरताको सचेतना र सतर्कताबाट मात्रै स्वतन्त्रताको मूल्य प्राप्त गर्न सकिने व्याख्या गरेका छन् । एकै विषयमा फरक मत राख्ने, प्रश्न गर्ने, खबरदारी गरिरहने अभ्यासलाई ऋग्वेदले पनि स्वीकारेको छ । ऋग्वेदले भन्छ– एउटै सत्यलाई पनि विद्वान्हरूले फरक–फरक तरिकाले व्याख्या गर्न सक्छन् ।
हिन्दु धर्मसँग जोडिएका एक होइन, धेरै देवता, ग्रन्थ, संस्कृति छन् । हिन्दु धर्मका व्याख्याताहरूले फरक–फरक समयमा यसलाई फरक ढंगले व्याख्या गरे । आठौं शताब्दीमा शंकराचार्यले अद्वैत दर्शन भने पनि १३औं शताब्दीमा माधवाचार्यले द्वैत दर्शन भनिदिए । तर हिन्दु धर्मको खास विशेषता भनेको यी फरक र विपरीत व्याख्याले पनि एकअर्काका सह–अस्तित्व स्वीकारिरह्यो । आस्थागत विविधता स्वीकार्न छाडेको दिन हिन्दु धर्मले नै आफ्नो ‘धर्म’ छाडेको ठहर्छ । व्याख्याहरूको विविधताप्रतिको सहिष्णुता र सबै धार्मिक आस्थाहरूप्रति निरपेक्ष हुनसक्ने गुण हिन्दु धर्मको मुटु हो ।
यो पृष्ठभूमिमा हिन्दु धर्मलाई मानिसको मूल स्वभावको खोज र अभ्यासतर्फ केन्द्रित गर्न छाडेर सत्ता स्वार्थका लागि राजनीतिमा धार्मिक राष्ट्रवादको प्रयोग विडम्बनापूर्ण छ । झन् एकजना कम्युनिष्ट नेता विचलित हुनु वा फस्नु शुभ–संकेत होइन । प्रचण्डको धर्म क्रान्तिको निरन्तरता र समाजवादको स्थापनाका लागि सम्झौताहीन राजनीतिक यात्रा जारी राख्नु हुनसक्थ्यो । तर, कुनै बेला ‘क्रान्ति’को नेतृत्व गर्ने पार्टी र सिंगो पार्टी पंक्ति मौन रहनु योभन्दा पनि भयंकर विडम्बना बनेको छ ।
हिन्दुत्वको राजनीति र प्रचण्ड विचलन
हिन्दु धर्म यति उदार छ कि यसले ईश्वर नमान्न पनि छुट दिन्छ । स्वामी विवेकानन्द भन्थे, ‘यो स्वीकार होइन सहिष्णुता सिकाउने धर्म हो ।’
हिन्दुत्वको राजनीति नागरिकको धार्मिक भावनाको शोषण गरेर सत्तामा पुग्ने र टिकिरहने धूर्ततापूर्ण दुष्प्रयास हो । यसले मानिसलाई धार्मिक अन्धता र अतिवादको शरणमा पुर्याउँछ । विज्ञान बिर्सिएर (अन्ध) विश्वासतिर मानिसलाई डोर्याउँछ ।
आजको हिन्दुत्वको राजनीति यो मान्यताबाट विचलित छ । धर्मले जब मानवीयतासँग दूरी बढाउन थाल्छ त्यो अधर्म बन्छ । आजको सन्दर्भमा मानवीय रजगजले सिर्जना गरेको वातावरणीय संकटको सन्दर्भमा धर्मलाई मानवीय हितभन्दा फराकिलो बनाउँदै सबै जैविक/अजैविक अस्तित्वको हितसँग जोडेर हेर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । तर धार्मिक राष्ट्रवादीहरूले यो बृहत्तर आवश्यकतालाई दुत्कार्दै केही सीमित मानिसहरूको स्वार्थसँग धर्मलाई खुम्च्याउने दुष्प्रयास गरिरहेका छन् ।
प्रचण्डले यही सीमितताभित्र खुम्चिएर आफैंले परिभाषित गरेको ‘अफिमखेती’ तिर आकर्षण किन बढाइरहेका छन् ? क्रान्ति, मानव जाति, पृथ्वी र पर्यावरणको हितका खातिर हो कि साँघुरो सत्ता स्वार्थका लागि ?
जोखिममा नेपालको अखण्डता
नेपालका संकीर्ण हिन्दुत्ववादीहरूले नबुझेको वा बुझपचाएको यथार्थ के हो भने भारतमा उग्र रूप लिइरहेको हिन्दुत्व अभियानबाट प्रभावित भएर नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा कसरी हुनसक्छ ? आफ्नो नयाँ संसद भवनमा सांस्कृतिक नक्साको आवरणमा भारतले अखण्ड भारतको प्राचीन नक्सा राखेर स्पष्ट सन्देश दिएकै छ । भारतीय नेता र शक्तिपीठ धाइरहेका पूर्वराजादेखि पूर्वक्रान्तिकारी नेताहरूले यो कुरा नबुझेका होलान् भनेर विश्वास गर्न सकिन्न ।
धर्म एक व्यक्तिगत आस्थाको विषय हो । त्यसैले हिन्दुत्वको राजनीति हाम्रो संविधान, संवैधानिक अधिकारको मान्यता र सहिष्णुताको सिद्धान्त विपरीत छ । हाम्रो जस्तो विविधतापूर्ण समाजमा कुनै एक धर्म राष्ट्रिय एकताको सूत्र बन्न सक्दैन । हो, नियोजित धर्मान्तर रोक्नुपर्छ । तर यसका लागि राज्यले रचनात्मक उपाय अपनाउनुपर्छ ।
आर्थिक समानता सुनिश्चित नगर्ने राजनीतिक समानताले जसरी विश्वसनीयता गुमाउँछ, त्यसरी नै सांस्कृतिक–धार्मिक स्वतन्त्रता सुनिश्चित नगर्ने राजनीतिक स्वतन्त्रता नाममात्रको हुन्छ । जुनसुकै नाम वा बहानामा हुने नागरिकमाथिको विभेद आधुनिक लोकतान्त्रिक समाजमा स्वीकार्य हुँदैन ।
हिन्दुत्वमा आधारित रहेर भारतले गर्ने हरेक निर्णयको नेपाल प्रभाव कमजोर हुनेछैन । अहिले भइरहेको यही हो । यसको मूल्य भारतमा जस्तै नेपालमा पनि पशुको मूल्यमा मान्छेको बलि दिएर चुक्ता गर्ने क्रूर अभ्यास हुनेछ । र, नागरिकहरू शासकको बफादार रैतीको हैसियतमा खुम्चनेछन् ।
मोदी सरकारले अगाडि सारेको ‘अग्निपथ योजना हिन्दु समाजलाई सैन्यकरण गर्ने योजनासँग जोडिएको’ टिप्पणी भारतकै कतिपय राजनीतिक दलहरूले गरिरहेका छन् । भारतीय नयाँ संस्थापनको विश्वास पात्र बन्न तयार नेपाली नेताले क्रान्तिको निशानी ‘रातो पहिरन’ फुकालेर गेरुबस्त्र पहिरिएर मात्र पुग्दैन, अग्निपथ जस्ता रणनीतिक योजनामा ल्याप्चेछाप लगाउन पनि तयार हुनुपर्छ । जसको परिणाम हजारौं युवा भारतीय सेनामा भर्ती हुन तयार हुनु हो ।
असफल प्रयासको नयाँ संस्करण
त्यसो त, नेपाल जस्तो धार्मिक समावेशिता र सहिष्णुता भएको देशमा भारतमा जस्तो संकीर्णताको राजनीति सजिलै नफस्टाउन सक्छ । गत निर्वाचनमा मुखर रूपमै धार्मिक राष्ट्रवादको नारा लगाउने दलहरूको कमजोर मतपरिणामले पनि नेपालमा जातिवादी, राजावादी र हिन्दुत्ववादीको कमजोर उपस्थितिलाई संकेत गर्छ ।
यद्यपि प्रचण्ड मात्र होइन, कांग्रेस र एमालेभित्रको एउटा पंक्तिमा मतदाताको धर्मासक्ति दुरुपयोग गरेर राजनीति गर्ने अभीष्ट देखिन्छ र उनीहरू धर्मलाई पूजाकोठा भन्दा बाहिर निकाल्ने स्पर्धामा छन् ।
धर्म र राज्यलाई मिसाउनुहुँदैन भन्ने बीपी कोइरालालाई आदर्श मान्ने कांग्रेसका केही नेता यस्तै नारा लगाइरहेका छन् । गत वर्ष महाधिवेशन गर्न चितवन पुगेका केपी ओली चितवनमा राममन्दिर बनाउने भनाइले समेत चर्चामा रहे ।
भारतीय हिन्दुवादी नेताहरूसँग सम्बन्ध बनाउन मेहनत गरेका ओलीले प्रधानमन्त्री पद भने जोगाउन सकेनन् ।
राजतन्त्रकालीन शासनसत्तामा मूर्ति कसले बेच्न सक्थ्यो ? सहजै अनुमान गर्न सकिन्छ । भगवानको मूर्ति बेच्न भगवान जन्माउने विरोधाभासको पुनरुक्ति कदापि आजको विकल्प हुन सक्दैन । तर, यही ढोंगलाई पुनः गौरवीकरण गर्न केही नयाँ, पुराना राजनीतिक शक्तिहरू दृश्य/अदृश्य रूपमा प्रयत्नरत छन् । यही लाइनमा अब प्रचण्ड पनि उभिएका छन् ।
तर, विचार शून्य भएपछिको प्रतिफल राजनीतिमा रुढिवादले स्थान लिन्छ । अगाडि बढाउने कुनै विचार र योजना बाँकी नरहेपछि कि यथास्थितिमा अडिने हो कि पछाडि फर्कने हो । यो कतिपय राजनीतिक नेतृत्वको नियति बनेको छ ।
यहाँनेर ख्याल पुर्याउनुपर्ने विषय के हो भने हाम्रा नेताहरू कुनै ईश्वरको माया वा विश्वास लागेर होइन, सत्ता स्वार्थका लागि हिन्दुत्ववादी राजनीति गरिरहेका छन् ।
प्रचण्डको यो नयाँ क्रमभंगले देशलाई फाइदा/घाटा जे भए पनि धर्म पुकारेर राजतन्त्रको शवमा प्राण भर्ने दुस्वप्नकर्मीहरूको अनुहारमा भने चमक थपिनेछ । विचारविहीनताले छिराउने धार्मिक राष्ट्रवादको सुरुङमा नै हो र यो अँध्यारो सुरुङ यात्राले सिध्याउने लोकतन्त्र नै हो ।
हरेक धर्मावलम्बीले आस्था राख्ने स्थान र प्रतीकहरूमा आदर भाव राख्नु हिन्दुको विशेषता हो । ईश्वरीय शक्तिलाई नमन गर्ने अभ्यासमा देखिने सहिष्णुतालाई उग्रतामा उकाल्ने प्रयास ‘भगवान’ले पनि माफी दिने कुरा होइन ।
कुनैबेला प्रचण्ड आफ्नो पार्टीलाई असली कम्युनिष्ट अथवा हिङकै रूपमा अथ्र्याउँदै अन्य कम्युनिष्ट पार्टीलाई हिङ बाँधेको टालोको उपमा दिन्थे । नेपालमा अनेकौं रंगीचंगी राष्ट्रवादीहरूले दृश्य/अदृश्य रूपमा धार्मिक राष्ट्रवादको प्रहसन देखाइरहेको बेला सोही बाटो हिंड्ने प्रचण्ड प्रयास हिङ बाँधेको टालोको हिङ बन्ने असफल प्रयास सावित हुनसक्छ ।
जसलाई जे सुहाउँछ, जो जेका लागि हो, उसले त्यही काम गर्नुपर्छ । अन्ततः यो झाँक्रीले बेचेको एलोपेथिक औषधि वा डाक्टरले बोकेको ढ्यांग्रो जस्तो अविश्वसनीय बन्ने खतरा धेरै छ । प्रचण्डले यदि मेमोपोलिटिक्स अर्थात् विगत बिर्साएर नयाँ आगतको संकथन निर्माण गर्न चाहेकै हुन् भने पनि यो सही र सहज बाटो होइन ।
जे होस्, प्रचण्डको ‘अफिम खेती’ मार्क्सवाद र हिन्दुत्वको यस्तो ककटेल राजनीति हो, जुन हिन्दुकरणको महेन्द्रमार्गमा ‘प्रचण्डपथ’ विलयको प्रस्थानविन्दु हो ।
ओलीले ठोरीमा राम खोजे, पशुपतिलाई सुनको जलहरी लगाइदिए, तर पनि सरोकारवाला शक्तिकेन्द्र रिझाउन नसक्दा सत्ताच्यूत भए । प्रचण्ड ओलीकै पुरानो र असफल सूत्रको अन्धाधुन्ध नक्कल गरिररहेका छन्, जसले उनलाई कहिले महाकालेश्वरमा शिवलिंग पूजा गर्ने लाइनमा रातो पहिरन खोलेर गेरुबस्त्रमा उतारेको छ त, कहिले क्याबिनेट सदस्यहरूको हुलमुल सहित पशुपतिमा उभ्याएको छ । प्रचण्डको यो ‘अफिम खेती’ कम्तीमा उनैका लागि फाइदाजनक पुष्टि नहुनसक्छ भने देश र जनताको लागि समेत घातक सिद्ध हुनसक्छ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4