+
+

जेलमुक्त रेशम चौधरीको देशदौडाहा

दिपेश शाही दिपेश शाही
२०८० असार ३ गते १९:१४
कैलालीको टीकापुरमा पालिका प्रमुखहरूसँग छलफल गर्दै रेशम चौधरी। तस्वीर : रेशमको फेसबुकबाट

३ असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी हिजोआज राजनीतिक भेटघाट र पार्टी कार्यक्रममा निकै व्यस्त छन् । जन्मकैद मुद्दामा पाँच वर्ष डिल्लीबजार कारागारमा बिताएका उनी १५ जेठमा राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएपछि सार्वजनिक कार्यक्रम र भेटघाटका लागि पूर्वदेखि पश्चिम नेपालसम्म पुगिरहेका छन् ।

रेशमको भेटघाट र कार्यक्रमको सूची लामो छ । ‘देशैभर घुमेर जनता र शुभचिन्तकसँग भेट गरिरहेको छु । संगठन विस्तार, केन्द्रीय समितिको बैठक, जिल्लाका नेता कार्यकर्ता र जनप्रतिनिधिसँग भेटघाट भइरहेको छ’, अनलाइनखबरसँग रेशमले भने, ‘हिजो सुदूरपश्चिम प्रदेशका माननीय, कैलालीका मेयर र उपमेयरसँग छलफल गरेँ । आज साँझ बाँकेका नेता कार्यकर्तासँग छलफल छ । दिउँसो बर्दियामा आमसभा छ ।’

जेलमुक्त भएकै दोस्रो दिनबाट उनले राजनीतिक भेटघाट सुरु गरेका हुन् । यसबीचमा दुई सय बढी कार्यक्रममा भाग लिइसकेको उनी बताउँछन् । पार्टीले गर्ने कार्यक्रमदेखि अरु संस्थाले गर्ने कार्यक्रममा सहभागी भइरहेका छन् ।

आइतबार पश्चिम नेपालमा रहेका रेशम सोमबार धरान जाँदैछन् । त्यहाँ मेयर हर्क साङपाङसँगै उनी श्रमदान गर्नेछन् । ‘हर्कजीसँग मजदुरी गर्ने कार्यक्रम छ । त्यसपछि झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, सर्लाही, धनुषा, र त्यसपछि सुर्खेतमा भेटघाट, अन्तर्किया र आमसभाहरू छन्’, रेशमले भने ।

मोरङ, सुनसरी, रौतहट, बारा, सर्लाही, सिरहा, धनुषा लगायत जिल्लामा रेशमको स्वागत भएको छ । ती कार्यक्रमहरुमा उनले थारु भाषा, संस्कृति, अधिकार लगायतबारे बोल्ने गरेका छन् ।

शनिबार रेशम राजधानीको सर्वनाम नाट्यघरमा आयोजित साहित्यिक जमघटमा सहभागी भए । त्यसको केही दिनअघि २१ वर्षअघि काम गरेको रेडियो नेपालमा पुगे । त्यहाँ उनका पुराना सहकर्मीहरुले स्वागत गरेका थिए । शुक्रबार नेपाल कराते महासंघ र नेपाल सितोरियो कराते संघले उनलाई ‘ब्ल्याक बेल्ट फाइभ डिग्री डन’ को प्रमाण पत्रले सम्मान गर्‍यो ।

पार्टी निर्माणको उद्देश्य

रेशमको यो दौडधुपको उद्देश्य भने पार्टी निर्माणकै निम्ति भएको लुकाएका छैनन् । तर उनले भने आफू अप्ठेरोमा हुँदा सहानुभूति जनाउन जेलसम्म पुग्ने शुभचिन्तकलाई भेटेर हार्दिकता प्रकट गरिरहेको बताउँछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, जनमत पार्टीका अध्यक्ष सीके राउत लगायत नेताहरूसँग रेशमले भेटिसकेका छन् । अरू नेतालाई पनि भेट्ने कार्यक्रम रहेको, तर समय मिलाउन नसकेका कारण विस्तारै सबैसँग भेट गर्ने उनको लक्ष्य छ ।

‘प्रधानमन्त्री प्रचण्ड, जनमतका अध्यक्ष सीके राउत र नेसपाका अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेँ । उहाँहरू मलाई जेलमा निकै पटक भेट्न आउनुभएको थियो’, उनले भने, ‘जेलमा सबभन्दा बढी भेट्न आउने पूर्वप्रधानमन्त्री मध्ये बाबुरामजी हो । उहाँले मलाई पटकपटक भावना दर्शाउनु भयो । सीकेजी पनि पटकपटक भेट्न आउनुभयो । त्यस्तो माया दर्शाउने नेतालाई जेलमुक्त भइसकेपछि एकपटक भेट्न जानुपर्छ भन्ने लागेर पुगेको हुँ ।’

आफू जेलमा हुँदा होस् वा जेल बाहिर रहँदा सधैं राजनीतिक गतिविधिमा लागिरहने मान्छे भएकाले अब पनि त्यसैलाई निरन्तरता दिने बताए । अहिले जेलबाटै गठन गरेको पार्टी नागरिक उन्मक्तिलाई विस्तार गर्ने र बाहिर रहेको थारु समुदायको मात्रै पार्टी हो भन्ने भ्रमलाई चिर्ने उनको दावी छ ।

उनले जेलमा हुँदै खोलेको पार्टीलाई थप विस्तार गर्ने र आगामी चुनावसम्म त्यसलाई शक्तिशाली बनाउने लक्ष्य राखेका छन् । त्यसका लागि उनी अहिले विशेष गरी मधेशका जिल्लामा पुगेर संगठन विस्तार गर्ने र साना दलहरूसँग छलफलमा व्यस्त भइरहेका छन् ।

संविधान निर्माणका क्रममा थारु समुदायमाथि भएको ज्यादतीको बलमा नागरिक उन्मुक्तिले पश्चिम नेपालका कैलाली र बर्दियामा स्थानीय तहदेखि प्रदेश र संघसम्म राम्रो मत प्राप्त गरेको छ । तर नागरिक उन्मुक्तिले प्राप्त गरेको उक्त थारु समुदायको सेन्टिमेन्टका आधारमा आएको भनेर समेत विश्लेषण गरेको छ । रेशम भने त्यसलाई स्वीकार गर्दैनन् ।

‘नागरिक उन्मुक्ति कुनै जाति विशेष वा थारुको मात्रै पार्टी होइन । यो देशका बाहुन, खस, आर्य, क्षेत्री, थारु, दनवार, जनजाति, मधेसी, मुस्लिम सबै समुदायको पार्टी हो’, उनले भने, ‘देशका ७७ वटै जिल्ला र सीमानाभित्र रहने हरेक नागरिकले राजनीति गर्न पाउनुपर्छ र हरेक नागरिकको मुद्दा यही पार्टीले मात्रै बोक्न र नेतृत्व गर्न सक्छ ।’

उनले अब आफ्नो बाँकी समय राजनीतिमा नै बित्ने बताए । ‘सबैको माग र अपेक्षालाई सुन्दै र राजनीतिक विचारधारालाई स्थापित गर्दै हामी अगाडि बढ्ने हो’, रेशमले भने ।

उनले अन्य राजनीतिक दल र नेताहरूसँग सहकार्य र एकताका लागि समेत प्रयास गर्ने बताए । ‘नयाँ आएका दल र नेताबाट जनताले अपेक्षा राखेका छन् । त्यसका लागि हामीले मेहनत गर्ने हो,’ उनले भने, ‘हामीले पनि जनताको भावना बुझ्न सकेनौँ भने त्यो निराशाले ठूलो दुर्घटना निम्त्याउँछ ।’

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?