+
+

ओलीलाई वामदेवका लिखित एजेन्डा– खेतमा तीन बाली फलाउनुपर्ने, चोर्न ढाँट्न नहुने (दस्तावेजसहित)

अनलाइनखबर अनलाइनखबर
२०८० असार ४ गते ८:०२

४ असार, काठमाडौं । वामदेव गौतम दिक्क छन् । उनले सुनाएअनुसार केपी ओली ठान्छन्– नेकपा फुटाउने एक नम्बर व्यक्ति वामदेव हो । प्रचण्ड र माधव नेपाल ठान्छन्– वामदेवले उक्साएपछि नेकपा फुटेको हो ।

च्यासलमा एमाले अध्यक्ष केपी ओलीलाई आइतबार भेटेर छोराछोरी र नातिनातिनासँग चितवन डुल्न हिँडेका गौतमले अनलाइनखबरसँग विस्मात् मान्दै सुनाए, ‘म नेकपा एकता अभियानको संयोजक हुँ । मेरो मुख्य काम हिजोको नेकपालाई एक ठाउँमा ल्याउने हो । तै पनि उहाँहरु तीनै जना नेताहरुलाई पार्टी मैले गर्दा फुटेको हो भन्ने लाग्छ त म के गरुँ ?’

वामदेवलाई लाग्छ– उनले जानीजानी पार्टी फुटाएको ०५४ मा हो, यसपालि होइन । यसपालि पार्टी फुटाउने व्यक्तिहरु ती हुन्, जो बाहिर गए, अनि जो भित्र रहे । ‘म पार्टी फुटाउन यसपल्ट लागेको होइन । पहिला चैं मैले फुटाएको हो । तपाईं के बुझ्नुस् भने पार्टी फुट्नुमा फुटेर जानेमात्रै होइन, पार्टीमा बस्नेहरु पनि दोषी हुन्छन् ।’

वामदेव सधैं ऊर्जावान्, वामदेव सधैं आशावादी । हिजोआज भने उनलाई असीमित फुर्सद मिलेको छ, जसको व्यवस्थापन गर्न सहज भइरहेको छैन । एमालेले ७० वर्षे उमेरहद हटाइदिएपछि भने उनी फुरुक्क छन् । उनलाई यो निर्णय अध्यक्ष ओलीका लागि भन्दा पनि आफ्ना लागि नै बढ्ता गरिएजस्तो लाग्छ ।

उनलाई भित्रैबाट लागेको छ– ‘म एमालेमा प्रवेश गरेपछि नेकपा एकता राष्ट्रिय अभियान पनि एमालेमा प्रवेश गर्छ । बिस्तारै सबै पक्षहरु एमालेमा आउनेछन् । नेकपा एकता अभियानको चक्र पूरा हुनेछ ।’

आइतबार उनले अनलाइनखबरसँग यो बताउँदै गर्दा विगतको नेकपामा दोस्रो बरियताको अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्ड र हाल नेकपा एकीकृत समाजवादी अध्यक्ष रहेका माधव नेपालसहित चार दलको समाजवादी मोर्चाले आफ्नो १५ बुँदे प्रतिबद्धतापत्रलाई अन्तिम रुप दिएको छ । सोमबार त्यसलाई सार्वजनिक गर्ने योजना छ । सुरुवाती चर्चामा आएका वामदेव यो मोर्चामा छुट्ने करिब निश्चित भएको छ । कतिपय भने अन्तिम घडीमा वामदेव समाजवादी मोर्चामै आउने दाबी गर्न छाडेका छैनन् । वामदेव आफैं भने मोर्चाको औपचारिक घोषणाअघि एमालेमा दोस्रो बरियता सुनिश्चित गर्न चाहन्छन्, जहाँ अहिले ईश्वर पोखरेल छन् ।

वामदेवलाई पो हतार छ, एमालेलाई छैन । यो आजको दिनमा वामदेव गौतमको पार्टी होइन । त्यसैले ओलीलाई भेट्न जाँदा उनले आफ्नो बरियता मागलाई सैद्धान्तिक लेपसहित सत्रपाने दस्तावेज तयार पारे । यसको नामै तीव्र महत्वाकांक्षी छ । उनले यसलाई ‘नेपाली विशेषताको समाजवाद निर्माण सम्बन्धी प्रारम्भिक अवधारणा’ नाम दिएका छन् । कतिपय चाहनाहरु तिलस्मी पनि छन् । (दस्तावेजको पूर्णपाठ यसै रिपोर्टको अन्तिममा समावेश छ ।)

त्यस दस्तावेजमा उनले कृषिक्रान्ति, कृषिको औद्योगिकीकरण, देशको विद्युतीकरणदेखि जुवातास बन्द गर्ने, आगामी १० वर्षमा नेपालबाट बेरोजगारी समाप्त गर्ने, नागरिकले सरकारका सबै निर्देशन टेर्नुपर्ने, हरेक व्यक्तिले बिहान १ घन्टा, बेलुका १ घन्टा अनिवार्य व्यायाम गर्नुपर्ने, चोरी ठगी गर्न नहुने, ढाँट्न नपाइने लगायत एजेन्डा अघि सारेका छन् ।

तीन बाली फलाउन सकिनेगरी खेतबारीको प्रयोग गर्ने, चीन र इजरायलमा विकास गरेको खेती प्रणाली नेपालमा आयात गर्नुपर्ने सिफारिस छ । रोचक छ वामदेव गौतमको समाजवादी मस्यौदा, जसलाई ओलीले रुचि मानेर पढिरहेको, अनि नेताहरु विष्णु पौडेल र प्रदीप ज्ञवाली मुसुमुसु हाँसिरहेको तस्वीर देख्न सकिन्छ ।

‘म कुर्सीमा बसेर सलाम खान आउने होइन, बिहानदेखि रातिसम्म नखाई–नसुती काम गर्न आउने हो भनेको छु अध्यक्षलाई,’ उनलाई उद्धृत गर्दै एक नेताले अनलाइनखबरसँग भने, ‘मलाई जिम्मेवारी दिएर त हेर्नुहोस् ।’

स्रोतका अनुसार एकघन्टे च्यासल बसाइमा हाँसो ठट्टा राम्रै चले पनि वामदेव र ओलीको सम्बन्धमा हार्दिकता भने विकसित भएको देखिएन । यद्यपि वामदेवसँग विकल्प सकिँदै गएका कारण उनी एमालेमा आउने पक्काजस्तै रहेको ती नेताले सुनाए ।

वामदेव केही न केही सोचिरहन्छन् । चुप लागेर बस्ने बानी छैन । नजिकका नेताहरु भन्छन्, ‘जतिसुकै हन्डर बेहोरे पनि वामदेव थाक्दैनन् । उनका आँखामा जहिल्यै सपना छन् ।’

ओलीले भने– म एक्लैले प्रवेश गराउन सक्दिनँ । साथीहरुसँग कुरा गर्छु, सचिवालयमा राख्छु ।

०७४ को प्रतिनिधिसभा चुनावमा एमालेले माओवादी केन्द्रसँग गठबन्धन गर्दा देशैभरिबाट यसका अधिकांश उम्मेदवार जित्न पुगेका थिए । वामदेव भने बर्दियामा हार्न पुगे । आफ्नो पराजयको दोष उनले सधैं ओली पक्षलाई दिँदै आएका छन् । प्रधानमन्त्री बन्न सक्ने पात्र भनेर प्रचण्डले विगतमा महत्वाकांक्षा बढाइदिएको नोट गरेका ओलीले उनलाई हराउन लागेको उनको बुझाइ छ ।

यी प्रसंगहरु अहिले उनी सम्झना गर्न चाहँदैनन् । बरु पछि राष्ट्रिय सभामा सदस्य बनेका उनी गत मंसिरको आम चुनावमा प्युठानबाट माओवादी केन्द्रको चिह्न लिई लड्न चाहन्थे । प्रचण्डले सुरुमा आश्वासन पनि दिए । अन्तिममा त्यो सिट गठबन्धनको भावना बमोजिम जनमोर्चाका लागि छाडिदिनु पर्यो । वामदेव जिल्ल परे । ‘माओवादीले उसको चिह्नबाट लड्दा हुन्छ भनेर स्वीकृति पनि दिएको थियो, मैले तयारी गरें, अन्तिममा चिह्न पाइनँ, यस्तै भयो,’ उनले भने ।

तर यी पनि वामदेवलाई सम्झाइदिएपछि मात्रै सम्झिएका हुन् । उनीसँग विगतभन्दा पनि भविष्यको कार्यदिशाको झोला छ । सिर्जनात्मकताको कमी भए पनि उनका सपनाहरु ‘मार्क्सले भन्नुभयो’ बाटै सुरु हुन्छन् । ओलीलाई बुझाएको दस्तावेजमा उनी सुरु गर्छन्, ‘१८७२ को विद्रोहबाट निर्माण भएको पेरिस कम्युनको असफलता पछि कार्ल मार्क्सले निकाल्नु भएको ‘सर्वहारा वर्गले बनिबनाउ राज्यलाई प्रयोग गरेर आफ्नो मुक्ति प्राप्त गर्न सक्दैन’ भन्ने निष्कर्षका आधारमा भ्ला.ई. लेनिनले विकसित गर्नुभएको ‘राज्य र क्रान्ति’ सम्बन्धी सिद्धान्तका आधारमा गरिएको क्रान्तिबाट विकास गरिएको थियो । त्यसवेलाको परिस्थितिमा मार्क्सले निकाल्नु भएको निष्कर्ष र लेनिनले विकास गर्नुभएको समाजवाद निर्माण सम्बन्धी सिद्धान्त सही थियो ।’

शब्द सबै नबुझिए पनि वामदेवका आकांक्षाहरु त्यसमा प्रतिविम्बत छन् । उनी केही न केही सोचिरहन्छन् । चुप लागेर बस्ने बानी छैन । नजिकका नेताहरु भन्छन्, ‘जतिसुकै हन्डर बेहोरे पनि वामदेव थाक्दैनन् । उनका आँखामा जहिल्यै सपना छन् ।’ सपनाहरुको एउटै समस्या । कतिपय विपनामा पूरा हुँदैनन् । कति त पछि सम्झिन खोज्दा सम्झिँदैनन् पनि ।

वामदेवलाई यस्ता कुराको मतलब छैन । आज उनले अनलाइनखबरसँग दृढताका साथ भने, ‘संसदीय प्रणाली असफल भयो । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ भनेर अध्यक्ष ओलीलाई भनिदिएको छु, दस्तावेजमा पनि त्यो छ ।’

उसो त यो मुद्दा पहिलो संविधानसभा चुनावताका एमाले स्वयंले उठाएको थियो, जसलाई पछि पार्टीले छाड्न पुग्यो । ओलीले अब प्रत्यक्ष प्रधानमन्त्री बन्नु भनेको देशलाई दुर्घटनातर्फ लैजाने उपाय हो भनेर वामदेवलाई सावधान गराइसकेका छन् । अरु विषयमा पार्टीले ध्यानपूर्वक सोच्ने उनको भनाइ छ ।

ओलीले सोच्ने भन्दाभन्दै पनि एक एमाले उच्च नेताका अनुसार वामदेवका दस्तावेज पूरा गर्नै नसकिने किसिमको छ । यसलाई पार्टीमा पुनः प्रवेशको भर्याङ भने मान्न सकिने उनी बताउँछन् । ‘एकछिनमा के सोच्नुहुन्छ, फेरि त्यसैलाई काट्नेगरी अर्को दिन के ल्याउनुहुन्छ,’ ती नेता भन्छन्, ‘वामदेवजीसँग सकिँदैन ।’

वामदेवको अति उत्साहले पार्टीलाई खतिमात्रै भएको ती नेता तर्क गर्छन् । यद्यपि पार्टी बाहिर निस्क्रिय र निराश बस्नुभन्दा भित्र आएर सक्रिय हुँदा फाइदा हुने उनको भनाइ छ ।

‘७० वर्षे उमेर हद हटाए पनि नेताहरुलाई अब बिश्राम चाहिएको हो, खोई यो कुरा कसले बुझ्ने ?’ ती एमाले नेता प्रश्न गर्छन् ।

ओलीलाई वामदेवले बुझाएको दस्तावेजको पूर्ण पाठ पढौं :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?