+
+

खाँण जेल परेसँगै कांग्रेसमा भावी समीकरणको बहस

देउवा क्याम्पका शक्तिशाली नेता बालकृष्ण खाँणको राजनीति धरापमा परेसँगै उनीप्रति बफादार नेताहरूको व्यवस्थापनबारे कांग्रेसमा बहस सुरु भएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८० असार ४ गते २०:३३

४ असार, काठमाडौं । बालकृष्ण खाँण कांग्रेसका एक्ला पात्र हुन्, जो नेपाल विद्यार्थी संघ र तरुण दल दुवै भ्रातृ संगठनको अध्यक्ष बन्न सके ।

पार्टी जीवनमा बढ्ता महत्व राख्ने दुई शक्तिशाली संगठन हाँक्न पाएकैले उनलाई पार्टी संगठनभित्र लाभै लाभ भयो । जुनै जिल्ला पुगे पनि उनीसँग प्रत्यक्ष काम गरेका कार्यकर्ता भेटिन्थे । प्रभावशाली अनुहारहरू उनकै वरिपरि ।

त्यसैले कांग्रेसको संस्थापन पक्षमा पार्टीभित्रको संरचना तथा संगठनमा देउवा पछि अरू कसैको वर्चस्व छ भने उनी खाँण नै हुन् । केन्द्रदेखि पालिकासम्मै उनीप्रति बफादारहरूको बलियो पंक्ति भेटिन्छ । अंकगणितमा देउवाकै सरह शक्ति नभए पनि आफ्नो समूह खाँणले खडा गरेका छन् ।

भुटानी शरणार्थीको नक्कली सूची बनाएर ठगी गरेको अभियोगमा संलग्न प्रमाणित भएसँगै खाँण यतिबेला थुनामा छन् ।

खाँण पक्षीय नेताहरूको दाबी अनुसार कांग्रेस केन्द्रीय समितिमा २१ जना उनी पक्षीय छन् ।सहमहामन्त्रीद्वय भीष्म आङ्देम्बे र महेन्द्र यादव पूर्वमन्त्री खाँण निकट नेताका रूपमा परिचित छन् । केन्द्रीय सदस्यहरूमा उदयशमशेर राणा, लक्ष्मी परियार, जीतजंग बस्नेत, राधा घले, गंगा शाही, कान्तिका सेजुवाल लगायत खाँण निकट चिनिन्छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे समेत खाँण निकट नेताका रूपमा परिचित छन् ।

तरुण दलमा बलियो पकड बनाएका खाँणले उक्त संगठनलाई आफू अनुकूल बनाउँदै आएका थिए । तरुण दलको राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेकाहरू अधिकांश खाँण पक्षधर छन् । आफ्नो इच्छा विपरीतको व्यक्ति तरुण दलमा अध्यक्ष हुनै नसक्ने गरी उनले पकड जमाएका थिए । ‘तरुण दलको सदस्यता वितरणमा नै उनले सिन्डिकेट बनाए । उनले चाहेको व्यक्ति बाहेक अरू अध्यक्ष हुनै नसक्ने अवस्था छ’, संस्थापन पक्षका एक केन्द्रीय सदस्य भन्छन् ।

खाँण तरुण दलको अध्यक्ष भएदेखि नै पार्टी शक्तिकेन्द्रको वरपर रहेका व्यक्ति हुन् । कांग्रेसका पूर्व सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले युवा संगठनलाई सक्रिय बनाउन तरुण दलको अध्यक्ष खाँणलाई तोकेका थिए । ३७ वर्षसम्म गतिविधिविहीन रहेको तरुण दल हाँक्ने युवा क्षमता गिरिजाले खाँणमा देखेका थिए । विसं २०५४ कात्तिकमा नेपालगञ्जमा भएको कांग्रेसको महासमिति भेलाबाट तरुण दलले पुनर्जीवन पाएसँगै खाँण अध्यक्ष बनेका थिए ।

कांग्रेस नेताहरूका अनुसार पूर्व तथा वर्तमान सबै सभापतिसँग खाँणको सम्बन्ध टाढाको रहेन । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालाहुँदै शेरबहादुर देउवासँग उनको सम्बन्धमा दरार आएन ।

किसुनजीका सच्चा अनुयायीका रूपमा आफूलाई चिनाउने खाँणले वर्तमान सभापति देउवासँग निकटको सम्बन्ध बनाए । मूल नेतृत्वसँग सधैं नजिक रहेका खाँणले सूचनामा पहुँच पुग्ने शक्तिशाली मन्त्रालय सम्हाले । गृह र रक्षा मन्त्री बने । यी दुई मन्त्रालय सूचनामा सर्वाधिक पहुँच राख्ने सरकारी निकायका रूपमा परिचित छन् ।

संस्थापनमा दोस्रो शक्ति, सधैंको शक्तिको निकट, सूचनाको पहुँच राख्ने मन्त्रालय सम्हालेको अनूभव भएका खाँण थुनामा पुगेपछि उनको शक्ति के होला ? पार्टीभित्र लेखाजोखा सुरु भएको छ । कदाचित खाँणले ‘क्लिन चिट’ पाए पनि मूल नेतृत्वमा पुग्ने नैतिक धरातल गुमाएको कांग्रेस पंक्ति ढुक्क जस्तै छ । संस्थापन पक्षबाट भावी सभापतिको आकांक्षी देखिएका खाँणको राजनीतिक जीवनमा लय समात्न नसक्ने कांग्रेसका नेताहरू दाबी गर्छन् ।

देउवा समूहभित्रै आफ्नो छुट्टै शक्ति रहेकाले सभापतिको ‘यस म्यान’ खाँण नभएको पार्टीभित्र चर्चा हुँदै आएको छ । कथं, उनी राजनीतिक जीवनमा पर्खने अवस्था बने पनि शक्ति भने उनको क्षय भइसकेको छ । थप राजनीतिक भविष्य भएका खाँणको उस्तै क्रियाशीलता भावी दिनमा नहुन सक्छ । खाँणको शक्ति नहुँदा उनलाई पछ्याइरहेकाहरूले साथ छोड्दै जानेछन् ।

खाँणको शक्ति घटेसँगै उनी पक्षीय नेता–कार्यकर्ता कता ढल्किएलान्, पार्टीभित्र चासो छ । संस्थापन पक्षका नेताहरूको दाबी मान्ने हो भने खाँण निकटका नेता–कार्यकर्ता देउवासँगै रहनेछन् । खाँण निकट भनी चिनिएकाहरू पनि संस्थापनकै भएकाले तितरवितर नहुने देउवा पक्षको बुझाइ छ । ‘उनीसँग जोडिएकाहरू देउवासँग पनि उस्तै सम्बन्ध छ खाँणको अभावमा उनीहरूले समूह परिवर्तन गर्ने सम्भावना देखिंदैन’ सभापति देउवा पक्षीय एक नेता भन्छन्, ‘खाँण पक्षकाले दोस्रो दर्जाको महसुस हुने अवस्था छैन ।’

खाँणको राजनीतिक जीवन संकटले उनीसँगै पार्टीभित्रका अन्यलाई पनि असर गरेको छ । देउवा पक्षका एक नेताका अनुसार खाँणका कारणले पार्टीभित्र उनी पछि कसैलाई हानि पुगेको छ भने ती व्यक्ति हुन् उपसभापति पूर्णबहादुर खड्का ।

खाँणको राजनीति सरलरेखामा अघि बढेको भए खड्का–खाँणले छुट्टै समीकरण हुने आकलन पार्टीभित्र थियो । १५औं महाधिवेशन केन्द्रित गठजोडको तयारी भइसक्ने ती नेताको बुझाइ छ । ‘पूर्णबहादुरलाई सभापतिको उम्मेदवार मानेर उनी मातहतको पदमा बालकृष्ण बस्न सक्ने थिए’ देउवा पक्षीय एक नेता भन्छन्, ‘खाँणको राजनीति अप्ठ्यारो हुँदा पूर्णबहादुरलाई ठूलो घाटा भएको छ ।’

त्यसो त, १४औं महाधिवेशनमा पनि पूर्णबहादुर–खाँण मिलेर आफ्नै समूहबाट महामन्त्री उठेका डा. प्रकाशशरण महतलाई हराएको आरोप उनीहरू माथि लागेको थियो । गत महाधिवेशनमा महामन्त्रीका लागि देउवा पक्षबाट खाँण आकांक्षी थिए । देउवाले आफ्ना विश्वासपात्र डा. प्रकाशशरण महतलाई अघि सारे । अर्का नेता कृष्णप्रसाद सिटौला पक्षसँग प्यानल बनाउँदा महामन्त्रीको अर्को उम्मेदवार प्रदीप पौडेल बने ।

संस्थापनसँगको प्यानलमा नेता सिटौलालाई उपसभापतिको प्रतिस्पर्धी बनाउने देउवा पक्षमा कुरा चलेको थियो । पूर्णबहादुर र विजय गच्छदार उपसभापतिको उम्मेदवारबाट पछि हट्न तयार देखिएनन् । सिटौलाले पनि उपसभापति पदका लागि बल गरेनन् । सिटौलाले महामन्त्रीमा प्रदीप उठाएर विना प्रतिस्पर्धाको बाटो रोजे । कसैले कसैलाई छोड्न तयार भएनन् ।

देउवा जित्नलाई सिटौला पक्षलाई मिलाउनै पर्ने बाध्यता पनि उनीसामु थियो । देउवा पक्षबाट महामन्त्री पदका प्रत्यासी महत पराजित भए । महतको स्थानमा खाँणलाई उठाएको भए जित्ने विश्लेषण र चर्चा कांग्रेसमा आजपर्यन्त हुन्छ । खाँण निकट केन्द्रीय सदस्य राधा घले भन्छिन्, ‘सभापति जित्ने कष्टमा तपाईंका लागि महामन्त्री पदको उम्मेदवार छोडेर केन्द्रीय सदस्य मात्रै हुने आफैं घोषणा गर्नुभएको हो ।’ खाँणले खुलातर्फ तेस्रो स्थानको मत ल्याएर केन्द्रीय सदस्य जिते ।

नियमित समय अनुसार कांग्रेसको महाधिवेशन भए १५औं महाधिवेशन २०८२ मंसिरमा गर्नुपर्ने हुन्छ । साढे दुई वर्षपछि महाधिवेशन हुने भए पनि पार्टीभित्रको समीकरणको बहस सुरु भइसकेको छ । महामन्त्री पदमा उठाउन तयार नभएका देउवा खाँणलाई सभापतिकै रूपमा उठाउने आँट नगर्ने देउवा पक्षीय नेताहरू दाबी गर्छन् । देउवा पक्षीय शीर्ष तहका एक नेता भन्छन्, ‘देउवाले सक्ने र हुने भए सभापति प्रकाशशरणलाई बनाउन चाहन्छन् । उनले पार लाग्ने नदेखिए मात्रै अरू व्यक्ति खोज्ने हुन् ।’

नेताहरू भ्रष्टाचार प्रकरणमा मुछिएपछि राजनीतिमा पुरानै लयमा फर्केको इतिहास भने भेटिन्न । कांग्रेसमा पनि यही नजिर लागू हुन्छ । भ्रष्टाचारी ठहर भएका खुमबहादुर खड्काले १३औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएका थिए । स्वास्थ्यका कारणले उनी सक्रिय हुन सकेनन् । उपचारकै क्रममा उनको भारतमा मृत्यु भयो । खड्का निकट रहेकाहरू संस्थापन पक्षमै रहे ।

खड्का सहित चिरञ्जीवी वाग्ले, विजयकुमार गच्छदार, टेकप्रसाद गुरुङ, जेपी गुप्ता लगायत भ्रष्टाचार काण्डमा परे । अन्तिम फैसला नभएका जोशी र गच्छदारको राजनीतिक जीवन सकिए जस्तै छ । सक्रिय राजनीतिबाट उनीहरू ओझेल पर्दै गएका छन् । जोशीले त बागी उम्मेदवारी दिएर पार्टी कारबाही समेत भोगे । पछिल्लो समय उनी कांग्रेसबाट टाढिएका छन् ।

केन्द्रीय सदस्य टेकबहादुर गुरुङ भ्रष्टाचारी ठहर भएपछि उनको सांसद पद निलम्बनमा परेको छ । दोषी ठहर भएकालाई समेत निलम्बन नगर्ने पद्धति कांग्रेसले बसालेको छ । खाँण संलग्न देखिएको प्रकरणले राजनीतिक जीवनमा स्वाभाविक असर पुगेको बताउँदै उनी पक्षीय केन्द्रीय सदस्य राधा घले भन्छिन्, ‘कालो बादल देखिए पनि हट्ने आशा थियो । केही न केही ब्रेक त लाग्यो । धेरै नै नोक्सान त पु¥याइसकेको छ । रिकभर गर्न समय लाग्छ ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?