+
+

‘लो कार्ब डाइटले दीर्घरोग निको हुने भए संसारबाटै निर्मूल भइसक्थ्यो’

डा. ओममूर्ति अनिल डा. ओममूर्ति अनिल
२०८० असार ५ गते १९:०८

काठमाडौं । उच्च रक्तचाप, मधुमेह, मोटोपन घटाउने सूत्रको रुपमा अहिले लो कार्ब र किटो डाइटको व्यापार उत्कर्षमा छ । यस्तो डाइट चार्ट फलो गरेपछि दीर्घरोग च्वाट्टै निको हुन्छ भन्ने प्रचारबाजीले सर्वसाधारणलाई रनभुल्लमा पारेको छ ।

आखिर किटो वा लो कार्ब डाइट खाएपछि दीर्घरोग निको हुन्छ ? खाइरहेको औषधि पनि छाडिदिंदा हुन्छ ? यदि त्यसो हो भने किन दीर्घरोगीलाई चिकित्सकले औषधिको बदलामा खानपान परिवर्तन गर्न सुझाव दिंदैनन् ? यस्तै प्रश्न लिएर हामीले मुटुरोग विशेषज्ञ ओममूर्ति अनिललाई भेटेका थियौं ।

‘यदि कसैले आयातीत डाइट फलो गर्दा कोलेस्टेरोल बढ्दैन, मधुमेह र उच्च रक्तचापको समस्या निको हुन्छ भन्यो भने त्यो सरासर झुटको खेती हो,’ उनले भने, ‘यदि त्यसो हुँदो हो त हामीभन्दा पहिले नै विश्वबाट यी रोग निर्मूल भइसकेको हुन्थ्यो ।’

स्वस्थ, तन्दुरुस्त शरीरका लागि सही र सन्तुलित खानपान जरुरी हुन्छ । यदि कुनै व्यक्तिले प्रण गरेर जीवनभर सामान्य डाइट प्लान फलो गर्‍यो भने तौल, उच्च रक्तचाप, मधुमेह र कोलेस्टेरोल नियन्त्रणमा राख्न र कतिपय अवस्थामा त औषधि नै बन्द गर्न पनि सक्छ ।

कुनै डाइट फलो गरेर कुनै बिरामीको औषधि दीर्घकालीन रूपमा छुट्छ भन्नु गलत भएको डा. ओममूर्ति बताउँछन् । एक दुई जनालाई फाइदा गर्‍यो भनेर सबैलाई यसले फाइदा गर्छ भन्न मिल्दैन । निमको पात खाएर उच्च रक्तचाप बन्द गर्ने पनि त छन् । त्यसैले २० वर्षदेखि बिग्रिएको खानपानलाई २० दिनमा सुधारेर औषधि छोड्छु भन्नु गलत हो । त्यसैले कुनै डाइट गरेकै भरमा डाक्टरको सल्लाह बिना दीर्घरोगको औषधि छोड्न नमिल्ने डा. ओममूर्ति  बताउँछन् ।

‘किटो डाइट वा अन्य डाइटको बारेमा पनि थुप्रै रिसर्च भएका छन् । एउटा ड्यास डाइट गर्दा उच्च रक्तचाप यति प्रतिशतले घट्छ भन्ने छ । औषधि घटेर छोडेको उदाहरण पनि छ । किटो डाइटको मुख्य काम भनेको तौल नियन्त्रण गर्ने हो, तर सँगै यसका थुप्रै बेफाइदा पनि छन्,’ उनी भन्छन्, ‘त्यसैले यो डाइट गर्न चाहनेले यसको फाइदा मात्र होइन, बेफाइदाको बारेमा पनि बिरामीले थाहा पाउनुपर्छ । यो डाइटलाई कति लामो समयसम्म फलो गर्न सकिन्छ भन्ने कुरा पनि पहिल्यै तय गर्नुपर्छ । पुरानै खानपानमा फर्किएपछि के हुन्छ भन्ने कुरा थाहा पाउनुपर्छ ।’

औषधि छोडेका उदाहरण नि ?

कुनै पनि रोगको कारण खानपान मात्र हुँदैन । कुनै व्यक्तिलाई रक्तचाप बढ्यो भने किटो डाइट नगरेर बढेको हो त ? त्यसको कारण के हो भन्ने कुरा बढी महत्त्वपूर्ण हुने डा. ओममूर्ति बताउँछन् ।

‘रक्तचाप त वंशाणुगत कारणले, तनावले, प्रदूषणले, खाद्यान्नमा भएको विषादीले, व्यायामको कमीले, खानामा नुनको बढी प्रयोगले बढेको छ भन्ने कुरा पत्ता लगाउनुपर्छ । यी विभिन्न कारणले प्रेसर बढेको छ भने मासु मात्र खाएर, घिउमा मात्र पकाएर खाएर समस्याको समाधान कसरी हुन्छ ?’ उनी भन्छन् ।

किटो वा लो कार्ब डाइट तौल घटाउन उपयोगी हुन सक्छ । तौल घटेको कारण केही समयलाई रक्तचाप नियन्त्रण होला । तर किटो डाइट फलो गर्न मन छ भने शरीरको अवस्था, खानपान, जीवनशैली कस्तो छ भन्ने कुरा जान्नुपर्ने उनी बताउँछन् । कति लामो समय यो डाइट गर्न सकिन्छ त्यो पनि ख्याल गर्नुपर्छ । त्यो डाइट अपनाएपछि शरीरमा के के परिवर्तन आउँछ त्यो हेरेर विशेषज्ञ डाक्टरको सल्लाहमा मात्र औषधि छोड्ने सुझाव विश्वभरिका विज्ञहरूले दिने डा. ओममूर्ति बताउँछन् ।

‘डाइट नै औषधि छुटाउने तरिका हो भन्ने मनस्थिति राख्नु गलत हो । संसारभरि सुगर, कोलेस्टेरोल र मधुमेहको औषधि छुटाउन किटो वा लो कार्ब डाइट गराउने अभ्यास छैन,’ उनी भन्छन् ।

किन मान्छे यसरी डाइटको पछि लागेका छन् ?

कुनै डाइट गरेर कुनै एउटा व्यक्तिको तौल छिट्टै घट्यो भने उसको वरपरको मान्छे त्यसबाट प्रभावित भइहाल्छन् । जसले गर्दा मान्छे त्यसतर्फ आकर्षित हुने डा. ओममूर्ति बताउँछन् ।

‘कुनै व्यक्ति धेरै पैसा खर्च गरेर कतै जँचाउन गयो भने उसलाई त्यहाँ यो यो गर्नुस् भनेर सिकाइयो भने ऊ प्रेरित भएर जान्छ । ओहो मैले त त्यहाँ भनेको सबै कुरा मान्नुपर्छ । किनकि मेरो त्यहाँ धेरै पैसा खर्च भएको छ भनेर पनि सोच्छ र सबै कुरा मान्छ र केही समयमा परिणाम पाएर प्रभावित  हुन्छ,’ डा. ओममूर्ति भन्छन्, ‘तर यो परिणाम डाइटले मात्र होइन, मेरो मेहनत र पैसाले प्राप्त गरेको हो भन्ने कुरा नबुझेर यसको पछि लागेका हुन्छन् ।’

व्यक्तिको खानपान राम्रो भयो भने धेरै रोग लाग्दैन । रोग लागिसकेपछि पनि  खानपान सुधारेमा नियन्त्रण हुन्छ र औषधिको मात्रा घटिहाल्छ । खाना नै औषधि हो । तर कस्तो खाना खाने भन्ने कुरामा भने ध्यान दिनुपर्ने डा. ओममूर्ति सुझाउँछन् ।

‘कुनै डाइटमा प्रोटिन र फ्याट मात्र खान दिइन्छ भने त्यसले तत्काल त केही असर नगर्ला तर पछि कालान्तरमा असर गर्न सक्छ,’ उनी भन्छन्, ‘भर्खरै अमेरिकन कलेज अफ कार्डियोलोजीले गरेको अध्ययन अनुसार किटो डाइट फलो गर्नेहरूमा सामान्य व्यक्ति भन्दा पाँच गुणा बढी हृदयघात र मस्तिष्कघातको जोखिम हुने देखाएको थियो ।’

डाइटले दीर्घरोग निको हुने भए डाक्टरले औषधिको साटो डाइट दिंदा हुँदैन ? भन्ने प्रश्नमा डा. ओममूर्ति भन्छन्, ‘कुनै पनि डाक्टरले बिरामीमाथि अनुसन्धान गर्न मिल्दैन । यदि कसैले बिरामीमा कुनै कुरा अनुसन्धान गर्छ भने बिरामीलाई केही तलमाथि भयो भने त्यसको जिम्मेवारी पनि लिन सक्नुपर्छ ।’

बिरामीलाई म अनुसन्धान गर्दै छु तपाईंले मैले भने अनुसार यो यो गर्नुपर्छ,  यसको फाइदा यो हुनसक्छ, बेफाइदा यो हुनसक्छ र तपाईं यसमा सहभागी हुन मिल्छ चाहनु हुन्छ भनेर सोध्नुपर्ने उनी बताउँछन् । ‘त्यसै औषधिको साटो डाइट दिन मिल्दैन,’ डा. ओममूर्ति भन्छन् ।

किटो डाइट वा लो कार्ब डाइट त युरोपेली देशबाट नेपालमा भित्रिएको हो । डा. ओममूर्ति भन्छन्, ‘यो साँच्चै औषधिभन्दा प्रभावकारी भएको भए संसारभरिका डाक्टरले यसलाई फलो गर्थे । यो प्रभावकारी छैन, त्यसैले उनीहरूले फलो गरेका छैनन् । त्यसैले यसमा पूर्ण विश्वास गरेर औषधि छोड्न मिल्दैन ।’

तस्वीर, भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?