+
+
प्रवास :

पशुपति-बुद्धको आँगनमा जुटेका बोस्टनका नेपाली

ग्रेटर बोस्टन नेपलीज कम्युनिटी (जीबीएनसी) बने पनि उसको आफ्नै भवन थिएन। यसैबीच सन् २०१२ मा पशुपति बुद्ध फाउन्डेसनको सामुदायिक भवन बनाउने परिकल्पना गरियो।

डा. विष्णुप्रसाद जोशी डा. विष्णुप्रसाद जोशी
२०८० असार ६ गते १०:०२
पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इंग्लैण्ड (प्याब्फोन) को मन्दिर एवं सामुदायिक भवनको मुख्य परिसर

नेपाली धार्मिक, सांस्कृतिक विविधता प्रवासमा पनि झल्किन्छ। केही सामाजिक कार्य यस्ता हुन्छन् जसले जातीय, क्षेत्रीय या दलगत संकीर्ण घेराहरू तोडेर सम्पूर्ण नेपाली समुदायलाई एकताको मालामा उन्दछ। यस्तै साझा फूलबारीका विविध श्रद्धा र सद्भावका फूलहरू सिउरेको मालाको कडी बन्यो मे महिनाको अन्तिम साता पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यू इंग्लैण्ड (प्याब्फोन) द्वारा आयोजित पशुपतिनाथ बुद्धको मूर्ति प्राणप्रतिष्ठा एवं सामुदायिक भवन समुद्घाटन कार्यक्रम।

सन् २०२३ सम्ममा अमेरिकामा नेपाली समुदायको संख्या दुई लाख कटेको छ। शिक्षा र रोजगारीका अवसर खोज्दै र डीभी परेर आएका नेपालीको उपस्थिति न्यु योर्क, क्यालिफोर्निया जस्ता ठूला शहर या टेक्सास, मेरिल्यान्ड, भर्जिनिया जस्ता नेपालीको बाक्लो उपस्थिति रहेका ठाउँमा नेपाली बस्ती मात्रै हैन केही मन्दिर समेत बनेका छन्। हाल म्यासाचुसेट्स जस्ता साना राज्यका मझौला आकारका बोस्टन जस्ता शहरमा पनि नेपालीको सङ्ख्या उल्लेख्य हुन थालेको छ।

 बोस्टन आसपास बस्ने नेपालीको सङ्ख्या पनि लगभग १० हजार पुग्ने यात्रामा नेपाली समुदायलाई जोड्ने प्रयास अन्तर्गत केही संस्थाहरू गठन भए। ग्रेटर बोस्टन नेपलीज कम्युनिटी (जीबीएनसी) बने पनि उसको आफ्नै भवन थिएन। यसैबीच सन् २०१२ मा पशुपति बुद्ध फाउन्डेसनको सामुदायिक भवन बनाउने परिकल्पना गरियो।

सन् २०१७ मा सम्पन्न सप्ताहमा नेपाली समुदायबाट एक मिलियन डलर (१३ करोड नेरु) को हाराहारीमा धनराशि दानमा दिने सङ्कल्प आएपछि योजनाले मूर्तरूप लिएको प्याब्फोनका कोषाध्यक्ष खगेन्द्र रेग्मी बताउँछन्। एउटा जीर्ण चर्च खरिद गरेर सामुदायिक भवनसँगै पशुपतिनाथको मन्दिर र पञ्चबुद्धका मूर्ति स्थापना गर्ने निर्णय अघि बढ्यो। रेग्मी थप्छन्, ‘कोभिड महामारीमा रोकिएको काम पुनः सुरु गर्दा हालसम्म १.७ मिलियन डलर खर्च आएको मध्ये ५० प्रतिशत अग्रिम भुक्तानी भइसकेको छ। बाँकी काम सम्पन्न र भवन सञ्चालन गर्न चालु खर्च उठाउन समुदाय अघि सरिरहेका छन्। सबै दाताको विवरण पारदर्शी रूपमा फाउन्डेसनको वेबसाइटमा राखिएको छ।’

मन्दिर र सामुदायिक भवनको उद्घाटनको लागि कैयौं हप्ताको सामूहिक तयारी भएको थियो। विधिवत् पूरा गरेर भक्तजनहरूका लागि नियमित रूपमा दर्शन गर्नका लागि मन्दिर खोल्न पूजा, पाठ, हवनका कार्यक्रम मे महिनाको उत्तरार्धमा तीव्र भएका थिए। मे महिनाको २१ तारिख आइतबारका दिन पूर्वाङ्गको कार्य सम्पन्न गरेसँगै हरेक दिन विभिन्न धार्मिक क्रियाकलाप भए। मेको अन्तिम सप्ताहान्तमा २८ देखि ३० तारिखसम्म मुख्य कार्यक्रमहरू भए।

२८ तारिख श्रीमद्भागवत वाचन, २९ तारिख विश्व शान्तिको कामना गर्दै लघु रुद्री पाठ तथा हवन जस्ता अनुष्ठान सम्पन्न गरियो। पूजापाठको बीचमा पूर्व इलामदेखि पश्चिम बझाङसम्मका दाजुभाइ एकैठाउँमा भेटेर सँगै चिया पिउँदा जीवन दर्शनसँगै नेपालको राजनीतिको बारे रमाइला गफगाफ हुन्थे।

३० तारिखमा शिवलिङ्ग प्राणप्रतिष्ठा एवं बुद्धको मूर्ति स्थापना सँगै मन्दिर र सामुदायिक भवन उद्घाटन सम्पन्न भयो। यसैबीच श्रद्धालु भक्तजनको उपस्थितिमा हरेक दिन पाठ, पूजा, भजनकीर्तन सम्पन्न भए। बोस्टन आसपास हुनुभएका कैयौं नेपाली दाजुभाइ/दिदीबहिनीले स्वयंसेवकको रूपमा योगदान दिए। सर-सफाइ, सजावटदेखि भक्तजनहरूका लागि प्रसाद वितरण र चियापानको व्यवस्था गर्न कैयौं नेपाली स्वस्फूर्त रूपमा अघि सरेका थिए।

आगामी दिनमा मन्दिर र सामुदायिक भवनमा के–कस्ता क्रियाकलाप हुन्छन् भन्ने प्रश्नमा संस्थाका बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तथा सामाजिक अभियन्ता मिलन गुरुङ समुदायका सदस्यहरूको सक्रिय सहभागितासँगै धार्मिक तथा सामाजिक क्रियाकलापहरू बढाउने योजना सुनाउँछन्। यस बाहेक बाबु-नानीहरूलाई नेपाली भाषा पढाउने, अंग्रेजी नजान्नेहरूलाई अंग्रेजी भाषा पढाउने, नेपाली किताबहरूको पुस्तकालय सञ्चालन गर्ने, हाम्रा लोपउन्मुख नेपाली बाजाहरूको संकलन, संरक्षण र सम्बर्धन गर्ने जस्ता कार्यहरू गर्नुपर्नेमा जोड दिन्छन् गुरुङ।

सामुदायिक कार्यहरूमा केही छिटपुट फरक मत र आलोचना पनि हुन्छन् नै। यहाँ पनि मन्दिर अधिकांश नेपालीको घना बस्तीबाट टाढा हुनाले यात्रा असहज हुनेदेखि सामुदायिक हल मन्दिरमै जोडिएको हुनाले सामुदायिक कार्यक्रम र भेला, भोज र पार्टीहरू गर्दा माछामासु र मादक पदार्थ राख्न असहज हुने हो कि भन्ने जस्ता आशङ्का फाटफुट सुनिए। तर मन्दिर भन्दा तल्लो तलामा बेस्मेंटमा किचन र पार्टी गर्न सकिने हल हुनाले शायद त्यस्तो समस्या नआउला।

ग्रेटर बोस्टन नेपलीज कम्युनिटी (जीबीएनसी) का वर्तमान अध्यक्ष अन्जु थापा, पूर्व अध्यक्ष मिलन कार्की लगायत समाजसेवी पनि यो उद्घाटन समारोहमा सक्रिय रूपमा सहभागी भएका थिए। पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्यु इंग्लैण्ड (प्याब्फोन) को भवनभित्र हालै जीबीएनसीको अफिस पनि राखिएको हुँदा आउँदा दिनमा प्याब्फोन र जीबीएनसी मिलेर नेपाली समुदायमाझ कैयौं काम मिलेर गर्ने सम्भावनाको ढोका पनि खुलेको छ।

पत्रकार सुपेन्द्र बस्नेत मिलन कार्की हुन् या मिलन गुरुङ प्याब्फोनको सामुदायिक भवनमा आएर सबैको मिलन हुने विश्वास राख्छन्। त्यस्तै प्याब्फोनका बोर्ड अफ ट्रष्टिजका अध्यक्ष सुशील पौडेल यो पशुपति-बुद्धको मन्दिरले नेपाली समुदायमा एकता ल्याउने विश्वासका साथ भन्छन्, ‘हामी विभाजित हुने कैयौं कारण हुन सक्लान् तर एकजुट हुने एउटै कारण छ- आफ्नो देश, भाषा र समुदायको माया!’ यो मन्दिर र सामुदायिक भवन बोस्टन आसपास बसोबास गर्ने प्रवासी नेपाली समुदायको एकताको प्रतीक बनोस्! शुभकामना !

लेखकको बारेमा
डा. विष्णुप्रसाद जोशी

बझाङमा जन्मिएका लेखक हाल अमेरिकामा वैज्ञानिकको रूपमा कार्यरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?