+
+

‘परस्त्री’ले प्रदर्शन अनुमति नपाएपछि शिल्पाको टिप्पणी : सेन्सर बोर्ड पूर्वाग्रही भयो

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते ११:२७
अभिनेत्री शिल्पा मास्के । फाइल तस्वीर

काठमाडौं । सेन्सर बोर्डले प्रदर्शन अनुमति नदिएपछि फिल्म ‘परस्त्री’ यतिबेला चर्चामा छ । यो विषयमा बोर्डको तर्क एकातिर छ भने निर्माताको तर्क अर्कोतिर । फिल्ममा समावेश चुम्बन, बेडसिन र हिंसाका लामा दृश्य समाजका लागि मर्यादित नहुने बोर्डको तर्क छ । निर्माता चाहिं यी दृश्यमा कैंची चलाउँदा कथावस्तुको सान्दर्भिकता नहुने बताउँदैछन् ।

यो विवादमा अभिनेत्री शिल्पा मास्केले मुख खोलेकी छन् । नेपाली फिल्मका यस्ता दृश्यमा कैंची चलाइने हो भने हलिउड र बलिउड फिल्मबाट समेत यस्ता दृश्य कटौती गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले हलमा डेड एभिलजस्ता अंग्रेजी फिल्म चलाएको देखिरहेका छौं । ती फिल्मलाई बच्चाले पनि हेरेको देखिएको छ,’ उनले भनिन्, ‘किन विदेशी फिल्ममा यस्तो नियम लागू हुँदैन ?’

उनले विदेशी फिल्मप्रति सेन्सर बोर्डले साँधेको मौनताप्रति आपत्ति जनाइन् । ‘अवश्य पनि परस्त्रीमा हिंसाका लामा दृश्य छन् । बेडसिन र किस सिन पनि छन् । तर यी दृश्य काटेर एडल्ट प्रमाणपत्र दिन्छु भन्नु गलत हो,’ उनी भन्छिन्, ‘यसमा त्यस्तो भल्गर केही छैन । हामीले स्क्रिप्टमा आधारित भएर काम गरेको हो । काटमारको सिनमा आपत्ति जनाउन सकिन्छ । तर सिन काटेर दियो भने मतलब हुँदैन ।’

यी दृश्यमा कैंची चलाउँदा फिल्मको कला पक्षलाई मर्का पर्ने शिल्पाले बताइन् । ‘यो फिक्सनल क्यारेक्टर हो । यसको कथा पनि हामीले समाजबाटै लिएका हौं । टिकटकमा परिवारै मारेको न्युज र दृश्य पनि आइरहेका हुन्छन् । यो इन्टरटेनमेन्ट हो । फिल्मलाई फिल्मकै रुपमा बुझ्नुपर्छ । वास्तविक कथावस्तुमा आधारित होइन,’ उनी भन्छिन् ।

असार १५ गते प्रदर्शनको तयारीमा रहेको फिल्मलाई सेन्सरले रोकेपछि निर्माताले आज बोर्डका पदाधिकारीसँग छलफल गर्दैछन् । छलफलमा दृश्य नकाटिकनै वयस्क प्रमाणपत्रको माग गर्ने जनाइएको छ । सुरज पाण्डे निर्देशित यो फिल्ममा शिल्पाको शीर्ष भूमिका छ । फिल्मले विवाहेत्तर सम्बन्धको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?