+
+

गर्मीमा कुकुरको टोकाइ किन बढ्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार ७ गते १४:१९

७ असार,काठमाडौं । गर्मीयाममा कुकुरहरु बढी आक्रामक बन्दछन् र मानिसलाई कुकुरले टोक्ने घटनामा पनि वृद्धि भएको पाइन्छ ? वास्तवमा यो कुनै काकताली होइन रहेछ। हालै अमेरिकी वैज्ञानिकहरुले यसको गुह्य कारण पत्ता लगाएका छन्।

हार्वार्ड मेडिकल स्कूलले ७० हजार भन्दा धेरै कुकुरले टोकेका घटनाहरुमाथि गरेको अध्ययनले एउटा अनौठो तथ्य बाहिर ल्याइदियो। यो अध्ययनबाट के देखिएको छ भने समयक्रमसँगै कुकुरहरु हिंश्रक बन्दै गएका छन् र यो क्रम बढ्ने पक्का छ।

गर्मी तथा धुलोधुवाँ अधिक भएका दिनहरुमा कुकुरले मानिसमाथि आक्रमण गर्ने दरमा वृद्धि हुने अध्ययनका क्रममा देखिएको छ। शोधकर्ताका अनुसार जब प्रदूषण अधिक हुन्छ, तब कुकुरको आक्रमणमा अन्य दिनको तुलनामा ११ प्रतिशतले बढोत्तरी हुन्छ ।

वैज्ञानिकहरुका अनुसार मानवीय कारणले नै जलवायु परिवर्तन तथा विश्व उष्णिकरणमा वृद्धि भैरहेको छ र त्यसको असर कुकुरहरुको मूडमा पनि परिरहेको छ।

नेचर जर्नलको साइन्टिफिक रिपोर्टस्मा गत जून १५ मा यो शोध प्रकाशित भएको छ। अमेरिकाका ८ वटा ठूला सहरमा १० वर्षसम्म सो अध्ययन गरिएको थियो। त्यसले प्रष्ट रुपमा के देखाएको छ भने जम मौसम धेरै गर्मी हुन्छ र जुन दिन धुलोधुवाँको मात्रा बढ्दछ त्यसबेला कुकुरको आक्रामकता पनि बढेको देखिन्छ ।

शोधका अनुसार जब परावैजनी किरणको मात्रा बढ्दछ तब कुकुरले टोक्ने घटनामा ११ प्रतिशतले वृद्धि हुन्छ। गर्मीयाममा यो अझै ४ प्रतिशतले बढ्दछ भने ओजोनको तह बढेको दिनमा कुकुरको टोकाइको डर थप ३ प्रतिशतले बढ्दछ।

त्यस्तै तीव्र रुपमा वर्षा भएको बेलामा समेत कुकुरको टोकाइमा १ प्रतिशतले वृद्धि हुने देखिएको छ।

गर्मीको असर मानिसमा पनि

कतिपय अध्ययनहरुले के देखाएका छन् भने तापक्रम उच्च अर्थात् गर्मी मौसमसँग अपराधिक घटनाहरुको प्रत्यक्ष सम्बन्ध छ ।

एम्सटर्डमस्थित व्रिजे विश्वविद्यालयले यस विषयमा एउटा अध्ययन गरेको थियो जसको नतिजा बिहेभियरल एण्ड ब्रेन साइन्सेस पत्रिकामा छापिएको थियो। त्यसमा जलवायु, मानिसको आक्रामकता र आत्मनियन्त्रणबीचको सम्बन्धको विश्लेषण गरिएको थियो।

शोधकर्ताका अनुसार मानिसहरु जुन मौसममा बसोबास गर्दछन् त्यसले उनीहरुको रिसमा नियन्त्रण गर्ने वा झनै उक्साउने भूमिका खेल्दछ। गर्मी मौसममा मानिस बढि आक्रामक हुन्छ र अपराधका घटना पनि बढि हुन्छन्, जुन चिसो इलाकामा घट्दै जान्छ।

मानिसको यो प्रवृत्ति कुकुरमा पनि लागू हुने पछिल्लो अध्ययनले देखाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?