+
+
प्रधानमन्त्रीसँग प्रश्नोत्तर :

सचिवालयको गल्तीले बिग्रियो प्रधानमन्त्रीको ‘स्क्रिप्ट’

अनलाइनखबर अनलाइनखबर
२०८० असार ८ गते २१:२७

८ असार, काठमाडौं । सरकारलाई संसदप्रति उत्तरदायी बनाउने उद्देश्य सहित अभ्यासमा ल्याइएको ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ कार्यक्रम प्रतिनिधिसभाको यो कार्यकालमा शुक्रबार दोस्रोपटक चल्यो । सांसदहरुले प्रश्न गरे, रोष्ट्रममा उभिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिए ।

तर सांसदले लिखित रुपमा बुझाएको एउटा प्रश्नै हराउँदा जवाफ दिन उभिएका प्रधानमन्त्री प्रचण्ड पटकपटक अप्ठ्यारोमा परे भने प्रश्नोत्तर कार्यक्रम हँदै कमजोर तयारीका साथ चलिरहेको पनि खुल्यो ।

कमजोर तयारीकै कारण प्रधानमन्त्री तेस्रो प्रश्नमै अलमलिएका थिए । सांसद अञ्जुली श्रेष्ठले शून्य समय, विशेष समय र आकस्मिक समयमा उठ्ने प्रश्नको जवाफ नआउने गरेकोबारे जिज्ञासा राखेकी थिइन् ।

जवाफ दिन प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरेले समय दिए । तर प्रधानमन्त्री अलमलमा परे, र उल्टै सोधे, ‘अहिले भर्खरै बोल्ने माननीय सदस्यको नाम मैले थाहा पाउनुपर्ने भयो ।’

सभामुख घिमिरेले भने, ‘अञ्जली श्रेष्ठ ।’

यसपछि प्रधानमन्त्रीले सांसदहरुले उठाउने प्रश्नबाट सरकार नभाग्ने छोटो जवाफ दिए ।

सातौं प्रश्न थियो– अम्बिका बस्नेतको ।

बस्नेतले काठमाडौंको गोर्कणेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जले त्यहाँ बसोबास गर्ने नागरिकका आफन्तहरुसँग प्रवेश शुल्क लिइरहेको जानकारी दिइन् । सँगै, दुई पटक मन्त्रिपरिषदले शुल्क नलिने निर्णय गरे पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेकी थिइन् ।

तर प्रचण्डले यो प्रश्नको जवाफ दिन सकेनन् । फेरि पनि सहयोग मागे, ‘सभामुख महोदय, फेरि मलाई नाम भन्दिनुपर्ने भयो । यहाँ मेरो थोरै तलमाथि परेको छ ।’

सभामुख घिमिरेले सहजीकरण गरे, ‘माननीय अम्बिका बस्नेतको प्रश्न हो, यो ।’

यसपछि प्रधानमन्त्री प्रचण्ड आफूले साथमा लिएर गएको कागजातमा अम्बिका बस्नेतको नाम खोज्ने थाले । संसद सचिवालयका कसैले  ‘७ प्रश्न नम्बर हो’ भनेर सहयोग गरे । सभामुख घिमिरेले पनि ७ नम्बर भने ।

तर प्रधानमन्त्री प्रचण्डले त्यो प्रश्नको जवाफ रहेको कागज भेटेनन् । प्रधानमन्त्री प्रचण्ड पाना पल्टाइरहे । ‘नम्बरै छैन, कसरी गडबड खायो’, प्रधानमन्त्री प्रचण्डले बोलेको प्रष्ट सुनियो ।

संसद सचिवालयका कर्मचारीले सहयोग गर्दा पनि जवाफ फेला परेन ।

प्रश्नकर्ता सांसद बस्नेत, सभामुख घिमिरे अनि अरु सांसदहरुको हाँसो लुकेन ।

अन्ततः सांसद बस्नेतलाई प्रश्न दोहोर्याइ दिन प्रधानमन्त्रीले आग्रह गरे, ‘माननीय सदस्य फेरि एकपटक प्रश्न भनिदिन म अनुरोध गर्दछु । मेरो तयारीमा केही कमजोरी रहेको देखियो ।’

जबकी सांसदलाई बोल्ने समय सभामुखले दिने हो । तर जवाफ दिने कागज नै नभेटिएपछि प्रधानमन्त्रीकै आग्रहमा बस्नेतले प्रश्न दोहोर्याउने मौका पाइन् भने संसद सचिवालयले माइक अन गरिदियो । सांसद बस्नेतले कागजमा लेखिएको प्रश्न हुबहु पढिन् (हाँस्दै) ।

यो प्रश्नको जवाफ प्रधानमन्त्रीको साथमा नरहेको तथ्य बुझिसकेका सभामुख घिमिरेले अप्ठ्यारो मान्दै भने, ‘सम्माननीय प्रधानमन्त्रीको जवाफ जान्छ ? (हेर्दै)

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

तर, यसपटक प्रचण्डले नअलमलिकन स्वविवेकमा आधारित जवाफ दिए, ‘.. गोकर्णेश्वर नगरपालिका अन्तर्गत माननीय सदस्यले जे प्रश्न उठाउनुभएको छ, यो बारेमा पहिले पनि त्यस पालिकाका जनप्रतिनिधिहरुले आवाज उठाइसक्नुभएको छ । यो समस्या समाधान गर्न सरकारले पहल गरिसकेको छ ।’

यसपछि त संंसद बैठकमा सहभागी अरु सांसदले पनि त्यस प्रश्नको जवाफ प्रधानमन्त्रीको साथमा नरहेको बुझिहालेँ । प्रतिपक्षी बेञ्चबाट उभिएर सांसद अशोककुमार चौधरीले प्रश्न राख्नु अगाडि व्यंग्य नै गरे, ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरो नाम नोट गर्नुहोला । मेरो नाम अशोककुमार चौधरी । फेरि भुल्नु होला ।’

प्रश्नोत्तर ४२ मिनेट चल्यो ।

कहाँ भयो कमजोरी ?

सांसदले लिखित रुपमा बुझाएको प्रश्नै हराएका कारणले रोेष्ट्रममा उभिएका प्रधानमन्त्री अप्ठ्यारोमा परेपछि सभामुख र प्रधानमन्त्रीको सचिवालयले कमजोरीको खोजीमा लागेको छ । ‘कहाँ कमजोरी भयो भन्ने पहिचान गर्न लागेका छौं, अर्को पटक यस्तो हुँदैन’, प्रधानमन्त्रीका सचिवालयका एक सदस्य भन्छन् ।

तर प्रश्नै हराएकाले प्रधानमन्त्रीले जवाफ दिन नसकेको उनी स्वीकार्छन् । ‘त्यो प्रश्न हराएछ, तर कहाँ हरायो भन्ने खोजी गर्छौं, र आवश्यक निर्णय लिइन्छ’, ती सदस्य भन्छन् । यसपटक संसद सचिवालयबाट आएको प्रश्नहरु सिधै मुख्यसचिवले बुझेर सम्बन्धित महाशाखाले काम गरेको उनी बताउँछन् ।

सभामुखको सचिवालयले पनि त्यो प्रश्न हराएपछि आवश्यक सोधखोज गरेको छ । सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारी, सांसदहरुको प्रश्न लाहाछाप गरेर पठाइएकाले प्रधानमन्त्रीकै कार्यालयमा कतै कमजोरी भएको हुन सक्ने बताउँछन् । ‘सांसदहरुले प्रश्न बुझाएकै दिन हामीले प्रधानमन्त्रीको सचिवालयलाई लाहाछाप गरेर बुझाएका हौं’, उनी भन्छन् । अधिकारीका अनुसार, प्रधानमन्त्री प्रचण्डका नीजि सचिव ज्ञानु खड्कालाई प्रश्न बुझाइएको थियो ।

खड्काले त्यसै साँझ मुख्यसचिवलाई प्रश्नहरु बुझाएको प्रधानमन्त्रीको सचिवालयका ती सदस्य भन्छन् । ‘संसद सचिवालयबाटै त्यो प्रश्न नआएको पनि हुनसक्छ नि’, ती सदस्य भन्छन् । यसपटक इमेलबाट नभई लिखित कागजमै प्रश्नहरु आउँदा यस्तो समस्या आएको उनी बताउँछन् ।

‘इमेलबाट प्रश्न उठाउँदा लिक हुने भएकाले सांसदहरुले बुझाएकै पत्रमा प्रश्न ल्याउने भनिएको थियो’, ती सदस्य भन्छन् । तर जहाँ कमजोरी भए पनि ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ पूर्णतः औपचारिक र कमजोर ‘स्क्रिप्ट’मा आधारित भएको शुक्रबारको घटनाले देखाएको छ ।

प्रतिपक्षी दलका एक सांसद, संसदको नियमावली बनाउने क्रममा नै प्रधानमन्त्रीसँग प्रश्न उत्तरलाई औपचारिकता पूरा गर्ने प्रकृतिको बनाइएको बताउँछन् । ‘नियमावलीमै तीन दिन अगाडि प्रश्न बुझाउने भन्ने छ, फेरि प्रतिप्रश्न गर्न पाइँदैन’ ती सांसद भन्छन्, ‘पहिले पठाएको सांसदमा तयारीका साथ आउने प्रधानमन्त्रीलाई प्रतिप्रश्न गर्न नियमावलीले नै रोकेको छ ।’

सरकारलाई संसदप्रति प्रत्यक्ष उत्तरदायी बनाउन हरेक महिनाको पहिलो साता यो कार्यक्रम राख्ने संसद नियमावलीले व्यवस्था गरेको छ । त्यही नियमावली अनुसार, गत ६ असारमा सभामुख घिमिरेले शुक्रबार ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’ राखेको जानकारी गराएका थिए ।

त्यही दिन १५ जना सांसदबाट प्रश्न संकलन गरिएको थियो । यसरी तीन दिन अगाडि प्रश्न लिने, सम्बन्धित मन्त्रालयका सचिवहरुबाट त्यसको उत्तर संकलन गर्ने र प्रधानमन्त्रीले लेखेर ल्याएको जवाफ पढ्ने प्रक्रिया भएपनि शुक्रबार त्रुटि देखिएपछि सत्तारुढकै सांसदले आपत्ति जनाएका छन् ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूको सचिवालय अस्तव्यस्त छ । .. आज सम्माननीय प्रधानमन्त्रीले उत्तर दिदैं गर्दा एक जना माननीयले सोधेको प्रश्नको उत्तर पनि आएको रहेनछ’ एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले संसदमै भने, ‘यो त ३ दिन अगाडि प्रश्न गरेको हो नि । उहाँको सचिवालयले तयार गरिदिनु पर्थ्यो कि पर्दैन थियो ? विघटन गरिदिए हुन्छ त्यस्ता सचिवालय ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?