+
+

बीटीएस सदस्यलाई अनिवार्य सैन्य सेवामा सहभागी गराउन नहुने पक्षमा विशेषज्ञ

अनलाइनखबर अनलाइनखबर
२०८० असार ११ गते १२:१५

काठमाडौं । दक्षिण कोरियाको लोकप्रिय सांगीतिक ब्याण्ड बीटीएसले स्थापनाको १० वर्ष पूरा गरेको छ । यस विशेष अवसरमा गत जुन ९ मा ब्याण्डले नयाँ गीत ‘टेक टु’ रिलिज गरेको थियो । रिलिज भएको केही दिनमै यो गीत बिलबोर्ड सूचीको ग्लोबल २०० स्थानमा थियो । ब्याण्डको यो अर्को कीर्तिमान हो ।

के–पप जगतको यो चर्चित ब्याण्डका प्रशंसक संसारभर छन् । यसको पूरा अर्थ : बुलेट प्रुफ ब्वाइज स्काउट्स हो । यस वर्ष बीटीएसले १० औं वर्षगाँठ मनाइरहेको छ । यस अवसरमा दक्षिण कोरियाको राजधानी सियोलमा रहेको सियोल टावर, सियोल सिटी हल र १२३ तलाको वल्र्ड टावरलाई बैजनी रङको बत्तीले सजाइएको छ ।

यति मात्र होइन, दक्षिण कोरिया सरकारले सियोलमा रहेको बीटीएससम्बन्धी ठाउँलाई पर्यटकीय स्थलको रुपमा घोषित गरेको छ । यी स्थानमा उक्त ब्याण्डले संगीत भिडियो छायांकनदेखि रेकर्ड समेत गरेको छ । पर्यटन प्रवद्र्धनका लागि सरकारले यो कदम चालेको हो । वास्तवमा बीटीएसका गीतलाई लिएर मानिसमा क्रेज व्यापक छ । यसले दक्षिण कोरियाको अर्थतन्त्रमा समेत प्रभाव पारेकै छ ।

ब्याण्डले सन् २०२२ देखि सांगीतिक कार्यक्रम आयोजना गरेको छैन । अहिले यो ब्याण्डका सदस्यले दक्षिण कोरियाली सेनामा अनिवार्य सैन्य सेवा दिइरहेका छन् । यो मुलुकमा १८ देखि ३५ वर्ष उमेर समूहका शारीरिक रुपमा तन्दुरुस्त पुरुषले १८ देखि २१ महिना सेनामा सेवा गर्न जरुरी छ ।

धेरै आर्थिक विशेषज्ञ बीटीएसलाई अनिवार्य सैन्य सेवा दिन लगाउने सरकारको विपक्षमा छन् । गायकहरु ब्यान्डबाट अलग भएर रक्षा क्षेत्रमा लागेको खण्डमा देशको अर्थतन्त्रलाई नोक्सान पुग्ने उनीहरु बताउँछन् । ब्याण्डका एक सदस्य जे होप यस वर्ष अप्रिलमा दक्षिण कोरियाको सैन्य सेवामा सामेल भए । गत वर्ष समूहका वरिष्ठ गायक जिन ३० वर्षको उमेरमा रक्षा सेवामा सामेल भए ।

सन् २०२१ मा पत्रकार स्टेसी भेनेक स्मिथले बीटीएस ब्याण्डका कारण कोरियाली संस्कृतिमा बढ्दो चासोको बारेमा अनुसन्धान गरे । यस रिपोर्टअनुसार कोभिड महामारीका बेला अनलाइनमार्फत बीटीएस कन्सर्टको टिकट र व्यापारिक सामान बिक्रीबाट करिब पाँच अर्ब ७६ करोड आम्दानी भएको थियो ।

बीटीएस क्रेजका कारण अर्थव्यवस्था मात्र उकालो लागेको छैन, कोरियाली भाषा पाठ्यक्रम पनि द्रूत रुपमा बिक्री भइरहेका छन् । विश्वको नजर कोरियाली टिभी कार्यक्रम, फेसन र परम्परागत खानातर्फ सोझिएको छ । स्टेसी भेनेक स्मिथको रिपोर्टअनुसार बीटीएसले हरेक वर्ष करिब पाँच अर्ब डलर योगदान गरिरहेको छ ।

यी कारणले विशेषज्ञ बीटीएसका सदस्यलाई अनिवार्य सैन्य सेवामा सहभागी गराउन नहुने पक्षमा अहिले पनि छन् । यो घोषणा पहिलोपटक हुँदा बीटीएसको मूल कम्पनी हाइबको सेयरमा ७.८ प्रतिशतको गिरावट आएको थियो । रोयटर्सको रिपोर्टका अनुसार डिफेन्स क्षेत्रमा बीटीएसको संलग्नतालाई लिएर मानिसको मनमा धेरै चिन्ता थियो, जसकारण यो गिरावट आएको हो । यद्यपि बीटीएसको यो सैन्य सेवा सन् २०२५ भित्र समाप्त हुनेछ ।

बीटीएसका धेरैजसो गीतले मानसिक स्वास्थ्य, आत्मप्रेम, विद्यालय वा कार्यक्षेत्रमा आउने धम्कीविरुद्ध र महिला सशक्तीकरणजस्ता गम्भीर विषयका सन्देश दिन्छन् । उनीहरुको म्युजिक भिडियोमा पनि गीतको भावनालाई कथाजस्तै खिचिएको छ । उनका हरेक म्युजिक भिडियोमा कुनै न कुनै सन्देश पक्कै हुन्छ । खासगरी कथावाचन शैलीमा निर्माण गरिएको गीति भिडियो, मनछुने र्‍यापको प्रयोग, पहिरन र रङको छनोट तथा यसबाहेक बीटीएस सदस्यहरु गीतमा नृत्य पनि गर्छन् । यी कारणले गर्दा बीटीएस संसारभर लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?