+
+

प्रधानमन्त्री प्रचण्डले आफैंलाई दिए ‘डिस्टिङ्सन’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८० असार १३ गते १८:५१

१३ असार, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विनियोजन शीर्षकमा उठेका प्रश्नहरूको जवाफ दिन बुधबार संसदको रोष्ट्रममा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको कामहरूको फेहरिस्त सुनाए । अनि आफूले आफैंलाई नम्बर दिए, डिस्टिङ्सन ।

सरकारको कामले व्यवस्थाप्रति जनतामा भरोसा जगाएको भन्दै उनले जसरी काम अगाडि बढेका छन्, त्यसले चाँडै विकासको तुफान आउन सक्ने दाबी समेत गरे ।

उनले अर्थतन्त्रका सकारात्मक सूचकहरू प्रस्तुत गर्दै यो सरकारको मात्र नभई मुलुककै उपलब्धि भएको बताए । आफूले सरकारको नेतृत्व लिंदै गर्दा देश श्रीलंका जस्तै आर्थिक संकटमा जाने भाष्य निर्माण भइरहेको भन्दै उनले भने, ‘त्यो भाष्य बौद्धिक वर्गमा मात्र सीमित थिएन, आमनागरिकसम्म पुगेको थियो ।’

अहिले अवस्था फेरिएको उनको दाबी छ । ‘अहिले जतिसुकै निराशावादी पनि श्रीलंकाको दुःस्वप्नबाट जागिसकेको छ, किनकि यसबीचमा अर्थतन्त्र धेरै गतिशील भएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘म यसलाई सरकारको उपलब्धिमा मात्र सीमित गर्न चाहन्नँ, राष्ट्रकै उपलब्धि मान्दछु ।’

६ महिनायता कुल विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भएको र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सुरक्षित अवस्थामा पुगेको उनले बताए । कुल वस्तु व्यापार घाटामा १५.२ प्रतिशतले कमी आएको र विप्रेषण उल्लेखनीय रूपमा बढेको भन्दै उनले भने, ‘गत वर्षको यो अवधिको तुलनामा पर्यटक संख्या दोब्बर बढी भएको छ । बैंकको ब्याजदर घटेको छ ।’

उद्योग क्षेत्रमा २७४ परियोजना मार्फत करिब ३५ अर्ब वैदेशिक लगानी सुनिश्चित भएको र लगानी बोर्डबाट ९५४.३० मेगावाट विद्युत् उत्पादन हुने गरी विभिन्न ६ वटा जलविद्युत् परियोजनाका लागि १ खर्ब ६७ अर्ब लगानी स्वीकृत भएको उनले बताए । कम्तीमा २० हजार थप रोजगारी सिर्जना गर्ने गरी २ खर्ब ५ अर्ब लगानीका २८४ नयाँ स्वदेशी उद्योग दर्ता भएको उनले सुनाए ।

लोकतन्त्रको सर्भिसिङ सुरु भयो

प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै सबभन्दा ठूलो अनुसन्धान र कारबाही गरेको दाबी गरे । यसले लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण अभियान सुरु भएको र यो निरन्तर हुने समेत बताए ।

हाइ प्रोफाइल व्यक्तिहरू कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेको र यसले जनतामा निराशा र आक्रोश जन्माएको भन्दै उनले भने, ‘तर नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढेपछि जनतामा विश्वास जागेको छ ।’ नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर करोडौं ठगी गरेको अभियोगमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँण सहित १६ जना पुर्पक्षका लागि थुनामा छन् ।

यो प्रकरणमा मुछिएका कतिपय हाइ प्रोफाइल व्यक्तिलाई बयानसम्म नलिएको भनेर आलोचना भएको छ । प्रधानमन्त्री प्रचण्डले भने सरकारको कदमले जनतामा राज्य र सरकारप्रति विश्वास जागृत गरेका मात्र दाबी गरेनन्, लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण अभियान नै सुरु भएको बताएका छन् ।

मिटरव्याजी र सहकारीका ठगहरू पक्राउ सुरु गरेको र प्रधानमन्त्री निवास निल्न खोज्ने ललितानिवास काण्डका अभियुक्तहरू हिजोबाट पक्राउ पर्न थालेको भन्दै उनले भने, ‘संसद र आम जनसमुदायलाई विश्वास दिलाउन चाहन्छु, यो शुद्धीकरण अब रोकिने छैन ।’ उनले यो विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाईंमा आफूलाई संसद र जनताको समर्थन चाहिएको समेत बताए ।

संसदप्रति गुनासो

सरकार सरकारको ६ महिनामा भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । ४०८ मेगावाट विद्युत् उत्पादन क्षमता थपिएको, थप तीन प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको, १ लाख ६६ हजार थप जनसंख्यालाई प्रशोधित खानेपानीको प्रत्याभूति गरिएको बताए ।

हालै भएको आफ्नो भारत भ्रमण सफल भएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले अघि भने, ‘भ्रमणमा नेपाल भारतबीच दश वर्षमा दश हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी दीर्घकालीन विद्युत् व्यापार सम्झौता प्रारम्भिक हस्ताक्षर भएको छ ।’ नेपाल, भारत र बंगलादेशबीच विद्युत् बिक्री सम्झौता हुने क्रममा रहेको भन्दै उनले तेस्रो देशमा विद्युत् निर्यातको बाटो खोल्ने प्रक्रिया नेपालको आर्थिक विकासमा कोसेढुंगा साबित हुने बताए ।

आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा देशमा १८ घन्टासम्म लोडसेडिङ रहेको स्मरण गरेका उनले भने ‘केही वर्षमै भारत र बंगलादेशलाई बिजुली बेच्ने ठाउँमा आइपुगेका छौं । यति उज्यालो भविष्यको यति नजिक यसअघि हामी कहिल्यै थिएनौं ।’

राहदानी मात्र होइन, नो अब्जेक्सन लेटर लिन हप्तौं लाइन बस्नुपर्ने अवस्था अन्त्य गरेको र राष्ट्रिय परिचयपत्र वितरणमा सुधार गरेको उनले बताएका छन् ।

वैदेशिक रोजगारीमा गएकाहरूलाई सामाजिक सुरक्षा कोषमा जोड्नु ऐतिहासिक भएको दाबी गर्दै उनले भने, ‘केही हुँदैन र अवस्था बदलिंदैन भन्ने हीनभावनाबाट माथि नउठेसम्म यो देशले आफैंमाथिको विश्वास फर्काउन सक्दैन ।’

सामाजिक सञ्जालका चित्रहरूले राष्ट्रका प्राथमिकतालाई विषयान्तर गरिरहेको भान हुने गरेको भन्दै उनले प्रश्न गरे, ‘हामीले गम्भीर भएर सोच्ने बेला आएको छ, कतै हामीबीच विषयविज्ञताभन्दा निन्दाबाजी त हावी भइरहेको छैन ?’

उनी यतिमा रोकिएनन्, ‘जनताका वास्तविक मुद्दाहरू हराउँदै गएर सतही सस्ता विषयले त महत्व पाइरहेका छैनन् ?’ कतै हामी राजनीतिज्ञ पनि सामाजिक सञ्जालका खहरे तालीका लागि विवेक र सीमा मिचिरहेका त छैनौं ? कतै हाम्रै व्यवहारले राजनीतिको चरित्र र चेहरा त कमजोर भइरहेको छैन ?’

मतदाताका रूपमा तयार भएको नयाँ पुस्ताले विगतको शासन व्यवस्था र अवस्था बुझ्न आवश्यक रहेको समेत उनले बताए । ‘जसले युद्ध देख्नुपरेन, विद्यालय पुग्न तीन चार घन्टा पैदल हिंड्नु परेन । कुनै दिन इन्टरनेट र टेलिफोन काटेर, एयरपोर्ट र सडकसम्म बन्द गरेर देशमा चलाइएको शाही शासन देखेन’ प्रधानमन्त्री प्रचण्डले थपे, ‘सञ्चार गृहमै पसेर बर्दीधारी सैनिकहरूले सम्पादकहरूलाई के छाप्ने, के देखाउने र के सुनाउने भनेर निर्देशन दिन्थे भन्ने इतिहास आज सोसल मिडियामा उन्मुक्त पुस्तालाई थाहा छैन ।’

त्यो पुस्तालाई हिजो देशमा दूधकै नदी बहन्थ्यो झैं भाष्य खडा गरेर लोकतन्त्रबाट दिग्भ्रमित गर्ने प्रयास भइराखेको प्रधानमन्त्री प्रचण्डको बुझाइ छ । उनले अघि भने, ‘बीस वर्षअघि र आजको जनताको जीवनस्तरमा आएको परिवर्तनलाई बिर्साउन खोजिंदैछ । सुशासनमा समस्याले यो अवस्था सिर्जना भएको हो । सुशासनको प्रत्याभूति गर्दै लोकतन्त्रको शुद्धीकरणका लागि सिंगो संसद् एकठाउँमा उभिनेछ भन्ने मेरो विश्वास छ ।’

चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्था विरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले संसदसँगै पनि गुनासो गरे । हालै भएको आफ्नो भारत भ्रमणमा नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भएको र तेस्रो मुलुकसम्म विद्युत् निर्यातका लागि ऐतिहासिक ब्रेक थ्रु भएको भन्दै उनले भने, ‘यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं । यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे यो सम्मानित संसद् गम्भीर होस् भन्ने मेरो आग्रह छ ।’

अनि दिए आफैंलाई डिस्टिङ्सन

सरकारको ६ महिने उपलब्धिबारे लिखित सम्बोधनपछि उनले प्रधानमन्त्री कार्यालय लगायतको बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिए ।

प्रधानमन्त्री कार्यालयलाई अझ प्रभावकारी बनाउनुपर्ने सांसदहरूको सुझाव मनन गर्ने भन्दै उनले आज बुधबार बिहान मात्र एक्सन रूपमार्फत भेरी–बबई डाइभर्स आयोजनाको हेडवक्र्स र सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ निर्माणको अनुगमन गरेको बताए ।

संघीय परिषद्लाई अझै सानो बनाउनुपर्ने सुझावमा आफू सहमत रहेको भन्दै उनले भने, ‘यस विषयमा संसदमा रहेका सबै दलबीच छलफल गरेर साझा सहमति निर्माण गर्न आवश्यक छ ।’

त्यसपछि सांसदहरूको प्रश्न गर्ने पालो आयो । त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रश्न गरिन्, ‘विद्यार्थीको रिपोर्ट कार्डमा पास माक्र्स र फुल माक्र्स हुन्छ । प्रधानमन्त्रीको रिपोर्ट कार्डमा कति अंक आयो ?

१० पुस २०७९ मा प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुसमा विश्वासको मत माग्दा संसदमा आउँदा हरेक पटक रिपोर्ट कार्ड लिएर आउने बाचा गरेका थिए । त्यसलाई टेकेर रास्वपा सांसदले अंक खोजेपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो रिपोर्ट कार्ड र कामकारबाहीमा आफू पास मात्रै नभएर मेरिटमै पास हुने जवाफ दिए । उनले भने, ‘काम कारबाहीका आधारमा डिस्टिङ्सन नै पाउनुपर्छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?