
१३ असार, काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले २ अर्ब एक करोड ८० लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ ।
बुधबार उपप्रमुख भोलाप्रसाद अधिकारीले ३१ करोड ७३ लाख ८२ हजार ९११ रुपैयाँ घाटासहित २ अर्ब एक करोड ८० लाख ४८ हजार ४११ रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
प्रस्तुत बजेटको आय शीर्षकमा १ अर्ब ७० करोड ६ लाख ६५ हजार ५०० रुपैयाँ रहेको छ भने व्ययमा २ अर्ब १ करोड ८० लाख ४८ हजार ४११ रुपैयाँ रहेको छ ।
बजेटको स्रोतमा आन्तरिक आय ४२ करोड ४ लाख, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान २८ करोड, राजश्व बाडफाँटबाट ३९ करोड ७३ लाख लगायत रहेको छ ।
जीतपुर सिमराका २४ वटा वडाका लागि प्रत्येक वडामा जनसंख्याका आधारमा रकम विनियोजन गरिएको छ । ठूला वडालाई २ करोड ३१ लाखदेखि साना वडालाई १ करोडसम्म विनियोजन गरिएको छ । घाटा बजेट पूर्तिका लागि पछि अन्य स्रोत खोजिने उल्लेख छ । तर त्यो स्रोत के हुने भन्नेबारे अन्योल छ ।
सुत्केरी गाई-भैंसीलाई पोषण भत्ता
जीतपुर सिमरा उपमहानगरले सुत्केरी गाई-भैंसीलाई पोषण भत्ता दिने भएको छ । उपमहानगरले सुत्केरी गाईभैंसीका लागि बजेट विनियोजन गरेको हो ।
नगरका सुत्केरी गाइभैंसीलाई ७ दिनको लागी नगद १ हजारका दरले मिनरल (पोषक तत्व) भिटामिन वितरण गर्ने भएको छ । जसका लागी नगरले ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यसैगरी नगरले पशुहरुको बाँझोपन निवारणका लागी पनी बजेट विनियोजन गरेको छ ।
पशुपालक कृषकहरुको गुनासो र समस्याहरुको आधारमा नगरले आर्थिक वर्ष २०८०/८१ मा बाँझोपन सम्बन्धी शिविर सञ्चालन गर्न ५ लाख रकम विनियोजन गरेको छ ।
नगरले आर्थिक वर्ष २०८०/८१ का लागि पशुपंक्षी विकास शाखा मार्फत २ करोड ४२ लाख रकम विनियोजन गरेको छ ।
जीतपुरसिमरा उपमहानगरले यसै वर्षबाट नगरमा स्वयम सेवक शिक्षक नियुक्त गर्न बजेट विनियोजन गरेको छ । करिब ३ करोडको बजेटमा नगरमा स्वयम् सेवक शिक्षक नियुक्त गरी शैक्षिक क्षेत्रको विकासमा केन्द्रित रहने बजेटमा उल्लेख छ ।
प्रतिक्रिया 4