+
+

मदन भण्डारी विश्वविद्यालयको संरक्षक समिति अध्यक्षमा पदम ज्योति

अनलाइनखबर अनलाइनखबर
२०८० असार १३ गते २०:१०

१३ असार, काठमाडौं। सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिको अध्यक्षमा व्यवसायी पदम ज्योतिलाई नियुक्त गरेको छ ।

संरक्षक समिति गठनका लागि योग्य उम्मेदवार सिफारिस गर्न सरकारले काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राध्यापक डा.सुरेशराज शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति (सर्च कमिटी) गठन गरेको थियो।

संरक्षक समितिको मंगलबार बसेको पहिलो बैठकले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, व्यवस्थापकीय तथा नीति र मापदण्ड स्वीकृत गर्ने, विश्वविद्यालयका लागि आवश्यक स्रोत साधनको व्यवस्थापन गर्ने, विश्वविद्यालयलाई विश्वस्तरीय विश्वविद्यालयका रूपमा विकास गर्न अल्पकालीन तथा दीर्घकालीन योजना बनाउने निर्णय गरेको छ।

समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा संरक्षक समितिमा भानुप्रसाद आचार्य, लोचन ज्ञवाली, प्रा.नम प्यो सुन, डा. सन्दुक रुइत, पुष्कर बज्राचार्य, प्रा.सिराम रामाकृष्ण लगायत १५ जना सदस्य रहेको उल्लेख छ।

विश्वविद्यालय ऐन अनुसार प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभाका सदस्य, अर्थ र शिक्षा मन्त्रालयका सचिव तथा विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि सदस्य रहने व्यवस्था छ।

बाँकी सदस्यमा विज्ञान तथा प्रविधिको क्षेत्रमा ख्यातिप्राप्त बहालवाला वा पूर्वप्राध्यापकमध्येबाट एक जना महिलासहित दुई जना, विज्ञान तथा प्रविधिबाहेकको क्षेत्रबाट ख्यातिप्राप्त बहालवाला वा पूर्वप्राध्यापकमध्येबाट एक जना सदस्य रहनेछन्।

त्यस्तै विश्वस्तरीय विश्वविद्यालयमा संरक्षकका रूपमा अनुभव भएका व्यक्तिमध्येबाट एक जना महिलासहित दुई जना, विज्ञान तथा प्रविधिको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव भएका एक जना, विज्ञान प्रविधि क्षेत्र सम्बद्ध उद्योग व्यवसायमा उपलब्धि हासिल गरेका र विश्वविद्यालयलाई सहयोग गरेका दुई जना, विश्वविद्यालयका अध्यक्ष, समाजमा विशिष्ट योगदान दिएका र आफ्नो पेशा व्यवसायमा उपलब्धि हासिल गरेका दुई जना र विश्वविद्यालयको अल्मुनाइमध्ये कम्तीमा एक जना महिलासहित दुई जनालाई संरक्षक समितिको सदस्य बनाइने व्यवस्था रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?