+

‘पाकिस्तान फुटबल पुनर्निर्माण प्रक्रियामा छ’

२०८० असार  १३ गते २०:२१ २०८० असार १३ गते २०:२१
‘पाकिस्तान फुटबल पुनर्निर्माण प्रक्रियामा छ’

१३ असार, बैंगलुरु । सन् २००८ मा श्रीलंका र माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पाकिस्तान समूह चरणका तीनवटै खेलमा पराजित भएर समूह चरणबाटै बाहिरिएको थियो ।

त्यसयता १५ वर्षमा विश्व फुटबल धेरै अगाडि बढिसकेको छ । तर यो बीचमा धेरै उतार चढाव भोगेको पाकिस्तानको फुटबलमा भने अहिले पनि २००८ कै स्थितिमा छ ।

भारतको बैंगलुरुमा भएको साफ फिफा निलम्बन फुकूवापछि पाकिस्तानको पहिलो साफ च्याम्पियनसिप थियो । निलम्बन फुकूवापछि खेलेको साफमा पाकिस्तानबाट त्यति ठूलो प्रदर्शनको अपेक्षा थिएन ।

तर पाकिस्तानले अपेक्षा गरेको भन्दा पनि कमजोर प्रदर्शन गरेर समर्थकलाई निराश बनायो । पाकिस्तानले समूह ए मा खेलेको तीनवटै खेलमा हार बेहोर्‍यो । जसमा कूल ९ गोल खाँदा एक गोल समेत गर्न सकेन । २००८ मा पाकिस्तानले तीन खेल हारे पनि कम्तीमा दुई गोल गरेको थियो ।

यस पटक दक्षिण एसियाको पावर हाउस भारत, आमन्त्रित टिम कुवेत र नेपालसहितको समूहमा पाकिस्तान थियो । सुरुवाती दुईमा पराजित हुँदै समूह चरणबाट बाहिरिएपछि नेपाल र पाकिस्तानबीच प्रतिष्ठाको लडाईँ हुँदा नेपालले बाजी मार्‍यो । युवा फरवार्ड आशिष चौधरीले डेब्यु गोल गर्दै नेपाललाई जिताए । त्यसअघि पाकिस्तान भारत र कुवेतसँग समान ४-० को नतिजामा पराजित भएको थियो ।

यसपटक श्री कान्तिराव स्टेडियममा यस पटक पाकिस्तानको प्रदर्शन फिक्का नै रह्यो ।

सन् २०२२ मा निलम्बन फुकूवापछि पाकिस्तानले जति पनि खेल खेल्यो त्यसमा एक पनि जित्न सकेको छैन । गत नोभेम्बरमा काठमाडौंमा नेपालसँग खेलको मैत्रीपूर्ण खेलसहित अहिलेसम्म पाकिस्तान कूल ८ खेल खेल्दा सबै ८ खेलमा पराजित भएको छ ।

जसमा जम्मा एक गोल मात्र गरेको छ ।

यसवर्ष मात्रै पाकिस्तानले कूल ७ खेल खेल्दा ७ वटै खेलमा पराजित भएको हो ।

मार्चमा माल्दिभ्ससँग भएको मैत्रीपूर्ण खेलमा १-० ले पराजित भयो । साफअघि जुनमै मरिसका भएको फोर नेसन्स कपमा पाकिस्तानले एकै खेल जित्न सकेन ।

मरिससँगसँग ३-०, केन्यासँग १-० र जिबुटीसँग ३-१ ले पराजित भयो । यो अवधीमा पाकिस्तानले गरेको यो नै एक गोल मात्र हो ।

साफमा लगातार तीन हार बेहवरेपछि पाकिस्तानका मुख्य प्रशिक्षक शमहजाद अनवर पोष्ट म्याच कन्फेरेन्समा उपस्थित भए र पाकिस्तानको अहिलेको पुटबल अवस्थाको बारेमा धारणा राखे ।

उनको मुख्य जोड राष्ट्रिय टिमले धेरै भन्दा धेरै खेल खेल्नुपर्ने र घरेलु फुटबलको संरचना राम्रो हुनुपर्नेमा थियो । पाकिस्तानको फुटबलमा समस्या भएको उनले पनि स्वीकारे अनी यस पटक कठिन समूहमा पनि रहेको बताए । ‘हामी नयाँ टिम छौं। पाकिस्तान फुटबल अहिले समस्यामा छ । साफमा पनि भारत कुवेत नेपाल रहेको कठिन समूहमा पर्‍यो’, अनवरले भने, ‘हामी अहिले सुधार गर्ने चरणमा छौँ ।’

उनले अहिले टिम पुनर्निर्माणको चरणमा रहेको बताए । ‘हामीले साफअघि फोर नेसन्स कप खेल्यौं । हरेक स्टेजमा सुधार भइरहेको छ । भविष्यमा राम्रो गर्ने लक्ष्य छ । हामी अहिले रिबिल्डिङ फेज (पुनर्निर्माण चरण)मा छौं’, प्रशिक्षक अनवर आशावादी देखिए ।

उनले भारतमा आएर साफ च्याम्पियनसिप खेल्न पाउँदा धेरै खुशी लागेको बताए । ‘यहाँ आएर खेल्न पायौं । राम्रो व्ववस्थापनका लागि एआईआईएफलाई भन्यवाद । खुशी छौं । समर्थकलाई पनि धन्यवाद ।’

उनले भविष्यमा पाकिस्तानको फुटबल अझ राम्रो बनाउनका लागि धेरै खेल खेल्नुपर्ने बताए ।

‘हामीलाई धेरै खेल चाहिन्छ । जति खेल भयो हाम्रो लागि उति नै राम्रो हुन्छ’, उनले भने, ‘फिफा विन्डोमा सेप्टेम्बरमा खेल हुन्छ । त्समा हामीले दुई खेल खेल्न सक्यौं भने वर्ल्ड कप क्वालिफायरका लागि तयारी गर्न सजिलो हुन्छ । त्यसअघि फिफा विन्डोमा मैत्रीपूर्ण खेलहरु हुनुपर्छ ।’

पर्याप्त तयारी नगरेका कारण यस पटक साफमा पाकिस्तानको प्रदर्शन राम्रो नभएको उनले सुनाए । ‘भारत आउनुअघि हाम्रो केही खेलाडी विदेशी लिगमा खेलिरहेका थिए । स्थानीय खेलाडी पनि स्थानीय खेल खेलिरहेका थिए । १०-१५ दिन मात्र प्रशिक्षण गर्‍यौँ । त्यसपछि मरिसस गयौं जहाँ तीन खेल खेल्यौं ।’

पाकिस्तानको डोमेस्टिक फुटबल संरचना पनि राम्रो हुनुपर्ने उनको जोड थियो ।

४५ वर्षीय शाहजाद अनवर पाकिस्तानको प्रो लाइसेन्स धारी प्रशिक्षक हुन् ।

तर उनले यस साफमा टिम राम्रोसँग ह्यान्डल गर्न नसकेको पूर्व सहायक प्रशिक्षक नासिर इस्माइलले फुटबल पाकिस्तान डट कमसँग भनेका छन् ।

‘कोचले टिम ह्यन्डल गर्न सकेनन् । खेलाडीले लगातार गल्ती गरिरहे । धेरे खेलाडी व्यक्तिगत खेलमा केन्द्रित भए,’ नासिरले भनेका छन् ।

सन् २०१८ मा बंगलादेशको ढाकामा भएको साफमा समूहको अन्तिम खेलमा भुटानलाई हराएयता पाकिस्तान १२ खेलमा लगातार पराजित भएको थियो । ढाकामै सेमिफाइनलमा भारतसँग हारेपछि पाकिस्तानले पाँच वर्षका कुनै खेल जित्न सकेको छैन ।

बीचमा फिफा निलम्बनमा परेपछि पाकिस्तानले केही समय अन्तर्राष्ट्रिय फुटबल खेल्न पाएन । २०२२ जुनमा निलम्बन फुकूवा भएपछि २०२२ नोभेम्बरमा अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो ।

पाकिस्तानले अब अक्टोबरमा २०२६ को विश्वकपका लागि एसियन छनोटको सुरुवाती चरण खेल्नेछ । त्यसका लागि राम्रो तयारी गर्नुपर्ने पाकिस्तानको प्रशिक्षकको जोड छ ।

पाकिस्तानले अहिलेसम्म फिफा विश्वकप क्वालिफायरको खेल जित्न सकेको छैन ।  २०१९ मा विश्वकप छनोटमा पाकिस्तान सुरुमै कम्बोडियासँग दुबै खेलमा पराजित भएको थियो ।

साफ च्याम्पियनसिप
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय