+
+

कोशी प्रदेशका मुख्यमन्त्रीको प्रस्तावमा आज मत विभाजन

हरि अधिकारी हरि अधिकारी
२०८० असार १५ गते ९:३१

१५ असार, विराटनगर । बिहीबारको बैठकमा विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नफर्किएपछि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक आज  बिहान ११ बजे बस्दैछ । आजको बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुनेछ ।

विहीबार मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले सम्बोधनको क्रममा मुख्यमन्त्रीको कार्यशैलीमा पनि प्रश्न उठाएका थिए । नेताहरुको सम्बोधनपछि सभामुख बाबुराम गौतमले मत विभाजन तयारीका लागि ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

३० मिनेटका लागि बैठक स्थगित भएपछि प्रदेशसभाबाट बाहिरिँदै गर्दा सदनमा उठेका प्रश्नको जवाफ तयार गरेर आउने बताएका मुख्यमन्त्री कार्की फर्किएनन् । त्यसपछि सभामुख बाबुराम गौतमले राति साढे ९ बजे दलका प्रमुख सचेतकहरुसँगको छलफलपछि शुक्रबार (आज) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

विश्वासको मत मागेर मुख्यमन्त्री हिँडे पनि प्रतिपक्षी दलहरु भने बिहीबार नै मतदान हुनुपर्ने अडानमा थिए । मुख्यमन्त्री नफर्किएपछि कांग्रेस संसदीय दलका नेता उद्धव थापाले विश्वासको मत मागेर मुख्यमन्त्री भागेको आरोप लगाएका थिए ।

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत विभाजनका लागि आज ११ बजे बैठक बस्ने बताए । विश्वासको मत विभाजन अघि मुख्यमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ पनि दिनेछन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । कोशी प्रदेशमा ४० सांसद भएको एमाले र ६ सांसद भएको राप्रपा एक ठाउँमा छन् । मुख्यमन्त्रीलाई विश्वासको मतका लागि १ मत कम छ । एक मत जुटाउने अन्तिम प्रयासका  लागि उनले आजसम्मका लागि बैठक स्थगीत गर्न चाहेका थिए ।

प्रदेशको विपक्षी गठबन्धनसँग पनि ४६ मत मात्रै छ । ४६ मध्ये एक सिट रहेको जसपाले विश्वासको मत विभाजन हुँदा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

कार्कीले विश्वासको मत नपाए नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन्छ । संविधानको धारा १६८ (२)अनुसार प्रदेशसभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार नयाँ सरकार गठनको दाबी गर्न पाँचदलीय गठबन्धनसँग पनि सहज बहुमत पुग्दैन । कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जसपाका एक गरी ४६ प्रदेशसभा सदस्य छन् । सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएकाले निर्णायक अवस्थामा उनले गठबन्धनलाई मत दिन सक्छन् । तर सरकार गठन प्रक्रियामा उनलाई जोड्न मिल्ने वा नमिल्ने भन्नेमा बहस जारी छ ।

बहुमतका लागि गठबन्धनलाई राप्रपाको आश छ । तर राप्रपाले एमालेको साथ छाड्न मानेको छैन ।

मुख्यमन्त्रीले विश्वासको मत नपाए कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विवाद पनि गठबन्धनभित्र छ । माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान राखेको छ । नेपाली कांग्रेसले पनि सरकारको नेतृत्वमा दाबी गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टी भने मुख्यमन्त्रीको दौडभन्दा बाहिर छ ।

माओवादी केन्द्र दलका नेता इन्द्रबहादुर आङ्बो सरकारको नेतृत्वको विषय केन्द्रीय गठबन्धनले टुङ्गो लगाउने बताउँछन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?