+
+

लुम्बिनीमा ११ प्रतिशतमात्रै रोपाइँ

टोपराज शर्मा टोपराज शर्मा
२०८० असार १५ गते १२:२०

१५ असार, बुटवल । लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११ प्रतिशतमात्रै धान रोपाइँ भएको छ । सिंचाइ सुविधाको अभाव र समयमा वर्षा नहुँदा धान रोपाइँको अवस्था मध्य असारसम्म निराशाजनक देखिएको हो ।

लुम्बिनी प्रदेशमा धान रोपाइँ हुने ३ लाख ११ हजार ४२ हेक्टर क्षेत्रफल जग्गामध्ये अहिलेसम्म ३४ हजार ४८३ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । गत वर्ष असार १४ गते ३२.७१ प्रतिशत धान रोपाइँ भएको थियो भने २०७८ को असार १४ सम्म करिब ४६ प्रतिशत रोपाइँ भएको कृषि तथा भूमि मन्त्रालयको तथ्यांक छ ।

प्रवक्ता मरासिनीका अनुसार यस वर्ष असार १४ गतेसम्म ११.०९ प्रतिशतमात्रै रोपाइँ भएको छ । ‘समयमै वर्षा नहुँदा गत वर्षको भन्दा २१.६२ प्रतिशतले कम रोपाइँ भएको छ’ कृषि तथा भूमि मन्त्रालयका प्रवक्ता अनिल मरासिनीले भने, ‘मनसुनले साथ नदिए यो वर्ष धान उत्पादन घट्ने छ ।’

सबैभन्दा धेरै रोपाइँ प्युठानमा

प्रदेशका १२ जिल्लामध्ये प्युठानमा सबैभन्दा धेरै ८० प्रतिशत रोपाइँ सकिएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै धान खेती कपिलवस्तुमा र सबैभन्दा कम रुकुम पूर्वमा हुन्छ । कपिलवस्तुमा ७० हजार ७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा रुकुम पूर्वमा १ हजार ४१९ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ ।

कपिलवस्तुमा ४ हजार २०४ हेक्टर क्षेत्रफल अर्थात धान रोपाइँ हुने क्षेत्रफलको ६ प्रतिशतमात्र रोपाइँ भएको छ भने रुकुम पूर्वमा ८ सय ५८ हेक्टर अर्थात ६०.५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यस्तै रुपन्देहीमा ८ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८० हेक्टरमा रोपाइँ भएको छ ।

धान उत्पादन हुने मुख्य जिल्ला दाङमा ८ प्रतिशत र बर्दियामा १० प्रतिशत रोपाइँ सकिएको छ । दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार ४३० हेक्टर क्षेत्रफलमध्ये ४ हजार २९० हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । बर्दियामा ४९ हजार ३३ हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९०३ हेक्टरमा अर्थात १० प्रतिशत रोपाइँ सकिएको छ ।

नवलपरासी पश्चिममा धान रोपाइँ हुने २० हजार ५०० हेक्टर क्षेत्रमध्ये २ हजार ४६० हेक्टर अर्थात १२ प्रतिशतमात्रै रोपाइँ भएको मन्त्रालयका प्रवक्ता मरासिनीले बताए ।

लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ८.५ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ८ हजार ६७० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ भने अहिलेसम्म ७३७ हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।

अर्घाखाँची र पाल्पामा १० प्रतिशत रोपाइँ भएको छ । पाल्पामा ८२१ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदा अर्घाखाँचीमा ८०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । पाल्पामा ८ हजार २१० हेक्टर र अर्घाखाँचीमा ८ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।

रोल्पामा ४५ प्रतिशत रोपाइँ सकिएको छ । रोल्पामा धान रोपाइँ हुने ४ हजार ६३८ हेक्टर क्षेत्रफलमध्ये २ हजार ११० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

सरकारले सिंचाइको सुविधा र क्षेत्र बढाउन नसक्दा आकाशे पानीमा निर्भर हुनुपर्दा धान खेतीमा असर गरेको कृषिविज्ञ सन्तोष जीसी बताउँछन् ।

मल अभाव कायमै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस वर्ष मलको अभाव नभएको संसदमै बोले पनि जिल्लाहरुमा मलको अभाव कायमै छ । कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका अधिकृत गणेश घिमिरेका अनुसार अहिले डीएपी मलको अभाव नै छ । कार्यालयमा अहिले ४ सय मेट्रिक टन मात्रै डीएपी मल वितरणका लागि छ । जुन लुम्बिनी प्रदेशका साथै कर्णालीका केही जिल्ला, गण्डकी प्रदेशका नवलपुर र स्याङ्जा जिल्लाको लागि समेत हो ।

अधिकृत घिमिरेका अनुसार हालको भन्दा दोब्बर ८ सय मेट्रिक टन मल हुँदा पनि अपर्याप्त हुन्छ । सरकारले खरिद गर्ने कुल खरिदको २०.५५ प्रतिशत मल भैरहवा कार्यालयलाई पठाउने गर्दछ । उक्त कोटा अनुसारको सबै मल एकैपटक आएमात्रै मल अभाव नहुने उनी बताउँछन् । अब साउन महिनातिर मात्रै ४ सय मेट्रिकटन मल आउने सम्भावना रहेको उनले बताए ।

लुम्बिनी प्रदेशमा वार्षिक २ लाख मेट्रिक टन मल आवश्यक छ । तर सरकारले भने ८ सय मेट्रिक टन मल उपलब्ध गराउंछ । लुम्बिनी प्रदेशमा हाल १ लाख मेट्रिक टन युरिया मल, ७० हजार मेट्रिक टन डीएपी र १० हजार मेट्रिक टन पोटास आवश्यक छ । यस्तै कर्णाली प्रदेशमा १ हजार ५ सय ३० मेट्रिक टन, सुदूरपश्चिममा ११ हजार २ सय मेट्रिक टन मल आवश्यक छ ।

समयमा मल नपाउँदा उत्पादनमा ५० प्रतिशतसम्म कमी आउन सक्ने कृषि विज्ञ सन्तोष जीसी बताउँछन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?