+
+

जुम्लाको ४२ सय हेक्टरमा स्याउ खेती, गुठीचौरमा नेपालकै ठूलो बगैंचा

नेत्र शाही नेत्र शाही
२०८० असार १७ गते १०:०५

१७ असार, जुम्ला । जुम्ला स्याउ खेतीका लागि परिचित जिल्ला हो । पछिल्ला वर्ष जुम्लामा स्याउ खेतीलाई बढावा दिइएको छ । क्षेत्रफल बढेसँगै उत्पादन पनि बढ्न थालेको सरकारी तथ्यांक छ ।

जिल्ला कृषि विकास कार्यालयले २०६४ साल ‘एक घर, एक स्याउ बगैंचा’ अवधारणा ल्याएपछि जिल्लाका प्रायः सबै घरमा स्याउ बगैंचा र स्याउ रोप्ने नीति कार्यान्वयन भएको छ ।

अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउको उत्पादन बढाउने, विज्ञता प्रदान गर्नेदेखि अनुदानले स्याउ खेतीको क्षेत्र विस्तार भएको हो ।

जुम्लामा वि.सं २०७३/०७४ सालदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई बिरुवामा अनुदान, कृषि सामग्री अनुदान तथा क्षमता विकास कार्यक्रम गर्न थालेपछि स्याउ खेती विस्तारमा सहयोग पुगेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्यांक अनुसार अहिले जुम्लाको ४ हजार २५० हेक्टर जमिनमा स्याउ खेती विस्तार भएको छ । जसमा उच्च घनत्वका बिरुवाहरु पनि लगाउन थालिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालयका प्रमुख खेमराज शाहीका अनुसार ३३५.७५ हेक्टर जमिनमा यो कार्यक्रमअन्तरगत स्याउ खेती बढाइएको छ ।

परियोजनाले स्याउ खेतीलाई सहयोग गर्न १८ वटा नर्सरीका लागि जालीघर निर्माण, एउटा माटो परीक्षण ल्याब, २ वटा हाइटेक नर्सरीसमेत स्थापना गरिदिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तरगत गुठीचौर एग्रो फममा मात्रै ४६ लाख ९९ हजार ४५० अनुदान सहयोग समेत भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीरकण स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख शाहीका अनुसार २५ लाख बिरुवामा अनुदान तथा २१ लाख ९९ हजार ४५० सिँचाइ र घेरबारमा अनुदान दिइएको छ ।

‘गुठीचौरमा नेपालकै ठूलो बगैंचा’

गुठीचौर एग्रोफर्मले जलजला, धपडा र काँडाखोला क्षेत्रमा बगैंचाहरू निर्माण गरेको छ । यही फर्मले निर्माण गरेको एउटा बगैंचालाई नेपालकै ठूलो बगैंचा दाबी गरिएको छ ।

किसान मिनबहादुर भण्डारीको नेतृत्वमा सञ्चालन भएको फर्मले तीन ठाउँमा बगैंचा निर्माण गरी ३६ हजार बिरुवा रोपेको छ । जसमध्ये एकै बगैंचामा २८ हजार स्याउका बिरुवा छन् । अरु दुईवटामा ५५०० र २८०० बिरुवा छन् ।

यस्तै ठूलो स्याउको फर्म मनाङमा पनि छ । उक्त फर्मले ४५ हजार बिरुवा रोपेर बगैंचाहरू निर्माण गरेको छ । तर, एउटै बगैंचामा गुठीचौरको जति बिरुवा नभएको परियोजनाको दाबी छ । गुठीचौरमा एउटै बगैंचामा २८ हजा बिरुवा छन् ।

किसान भण्डारीको बगैंचामा फुजी, किङरङ र गोल्डेन जातका स्याउ छन् । भण्डारीले गत वर्ष ८० टन स्याउ उत्पादन भएको र यस वर्ष २०० टन स्याउ फल्ने अनुमान गरेको बताए ।

भण्डारीले करिब २२ करोड लगानीमा उक्त बगैंचा व्यवस्थापन गरिरहेको बताए ।

जुम्लामा भण्डारी जस्तै धेरै किसानले अहिले स्याउबाटै आर्थिक समृद्धि खोजिरहेका छन् ।

चन्दननाथ नगरपालिका आखे कृषि पर्यटन तथा अनुसन्धान उद्योगले ३ हजार पाँच सय स्याउ बिरुवा रोपेको छ ।

किसान सरोज शाहीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट ४५० बिरुवा ५० प्रतिशत अनुदान दिइएको र १० लाख ५० प्रतिशत अनुदानमा स्याउ ग्रेडिङ मेशिन राखिएको छ ।

परियोजना अन्तरगत स्याउ सुपरजोन संचालक समन्वय समिति जिल्लाका अध्यक्षसमेत रहेका शाहीका अनुसार परियोजनाले राम्रो काम गर्दै आएको तर बजेट पर्याप्त हुनुपर्ने बताए ।

गुठीचौर गाउँपालिका-३ तल्लो गुठीचौरमा किसान टंक गिरीले २२ हेक्टर जमिनमा १४ हजार स्याउ बिरुवा रोपेर व्यवसायिक स्याउ खेती सुरु गरेका छन् ।

उनले दुई हजार दुईसय हेक्टर जमिनमा घेरवार गरेर स्याउ लगाएका छन् । हिमाली टि एण्ड एग्रो प्रा.लिको नाममा सुरु गरिएको उक्त बगैंचामा २४ लाख ४९ हजार १५१ रुपैयाँ अनुदान छ ।

प्रालिका प्रोपाइटर नवीन हमालका अनुसार यो बगैंचामा ७० लाख लगानी भएको छ । स्याउबाटै समृद्धि देखिएकाले स्याउ खेतीमा लागेको उनले बताए ।

स्याउको सामुदायिक बगैंचा

स्याउको व्यवसायिक खेती सुरु भएसँगै जुम्लामा सामुदायिक बगैंचा पनि निर्माण हुन थालेका छन् ।

गुठीचौर गाउँपालिका-५ मा सामुदायिक बगैंचा निर्माण गरेर स्याउ खेती सुरु गरिएको छ । उक्त बगैंचामा २८०० बिरुवा रोपिएको छ ।

स्थानीय धर्म भण्डारीले सामूहिक रुपमा बगैंचाको स्थापना गरिएको बताए । उनका अनुसार सामुदायिक बगैंचाको जग्गा ४० जना किसानको हो ।

यो बगैंचामा पनि सरकारले लगानी सुरु गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्लाले १५०० बिरुवाको ५० प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

अहिले जुम्लाका नांगा डाँडापाखामा पनि स्याउ रोप्न थालिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लामा आर्थिक वर्ष २०७९/०८० मा १८ हजार मेटि्रकटन स्याउ उत्पादन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?