
१६ साउन, काठमाडौं। तरुण दल जुम्लाको ५ औं अधिवेशन निर्वाचन मार्फत नगरिएको भन्दै एकपक्षले विरोध गरेको छ । अधिवेशनबाट हमबहादुर बुडथापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ समिति बनाइएको छ ।
असन्तुष्ट पक्षले सर्वसम्मतको नाममा एकपक्षीय रुपमा नयाँ समिति ल्याइएको भन्दै विरोध गरेको छ । सहमतिमा नयाँ समिति आउन नसक्ने अवस्था बनेपछि निर्वाचन गर्नुपर्नेमा एकतर्फी समिति ल्याइएको असन्तुष्ट पक्षले जनाएको छ।
निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि असन्तुष्ट पक्षले सञ्जिव रावलको नेतृत्वमा प्यानल बनाएको थियो । तर, निर्वाचन समितिले निर्वाचन नगरी बिहीबार नयाँ समिति गठन गरिएको निर्णय सुनाएको थियो ।
पार्टीको जिल्ला समितिको पदाधिकारी बैठकले निर्वाचन गर्न निर्देशन गर्दागर्दै समेत लत्याइएको तरुण दलका जिल्ला नेता वीरेन्द्र शाहीले जानकारी गराए । सर्वसम्मतको नाममा ल्याएको समिति खेदजनक रहेको भन्दै समानान्तर समिति सञ्जीव रावलको नेतृत्वमा गठन गरिएको बताए ।
सर्वसम्मत भन्दै १५ साउनमा घोषणा गरिएको समितिमा दुई उपाध्यक्ष रतनबहादुर शाही र माधवराज शर्मा बनेका छन् । सचिव कृष्णप्रसाद उपाध्याय, सहसचिव कमल बहादुर बोहरा, कोषाध्यक्ष डिल्लाप्रसाद उपाध्याय बनेका छन् ।
प्रतिक्रिया 4