+
+

मुलुकलाई फिल्म छायांकन र निर्माणको हब बनाउन जरुरी : मन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० असार १७ गते ११:५५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई फिल्म छायांकन र निर्माणको हबको रुपमा विकास गरेर लैजानुपर्ने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाललाई फिल्म छायांकनको नवीनतम गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताइन् ।

नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले यो सम्भव रहेको चर्चा गर्दै उनले भनिन्, ‘चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौं । यसलाई अनुपम हबका रुपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’

विद्यमान चलचित्र ऐन परिमार्जन गरेर यस क्षेत्रका समस्याको समाधान गर्न सरकार लागिपरेको उनले बताइन् । स्वदेशी फिल्मको नीतिगत आधार तयार गरिने भन्दै मन्त्री शर्माले चलचित्र क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले लिने नीतिबाटै नेपाली चलचित्र संरक्षण हुनुपर्छ । दोस्रो कुरा– प्रतिस्पर्धा नै हो । हामीले स्वदेशी चलचित्रको गुणस्तर सुधारेर यसलाई हेर्ने बनाउनैपर्छ । त्यसो गर्दा विषयवस्तु, प्रस्तुति र देशको आवश्यकताका दृष्टिले चलचित्र क्षेत्र अघि बढ्न सक्छ ।’

गणतन्त्र, संघीयता, समावेशिताजस्ता महत्वपूर्ण कुरा स्थापित भएर कार्यान्वयनको चरणमा रहेको भन्दै मन्त्री शर्माले नीतिगत र कानुनी समस्या रहेको बताइन् । ‘यसबारे संवैधानिक र कानुनी व्यवस्था हामीले गरेका छौं । जनमानसमा जानकारी पुर्‍याउने प्रभावकारी माध्यम चलचित्र पनि हो,’ उनले भनिन् ।

समाज रुपान्तरणको सन्दर्भमा भएका घटनालाई प्रवर्द्धन र उठान गर्ने मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताइन् । चलचित्र क्षेत्रका समस्या समाधान गर्नका लागि सबै पक्षबीच संवाद हुनुपर्ने खाँचो उनले औंल्याइन् । समस्याको पहिचान गरेर समाधानको प्रतिबद्धता उनले गरिन् । नयाँपुस्तालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु जरुरी रहेको उनले बताइन् ।

समारोहमा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति विवरण र बोर्डको भावी योजनाको प्रस्तुतीकरण गर्दै बोर्डका सदस्य सचिव विशाल सापकोटाले मन्त्रालयसम्म १७ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको जानकारी दिए । उक्त अवसरमा गण्डकी प्रदेशको छायांकन गन्तव्यबारेको भिडियो प्रस्तुत पनि गरियो । बोर्डका दुई कर्मचारीलाई सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरियो ।

गायिका अस्मिता अधिकारीले गायन प्रस्तुति दिइन् । चलचित्र मञ्च २०७९ को लोकार्पण समेत गरियो । स्टोरी बैंकमा उत्कृष्ट ६ मा परेका कथानक र लघु फिल्मका कथाकारलाई सम्मान गरियो । राष्ट्रिय लघु चलचित्र प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद र प्रमाणपत्र समेत वितरण गरिएको छ । छोटो फिल्म प्रतियोगितामा सूर्य शाही निर्देशित विह्ल्स अन द बस प्रथम, जुनको दोस्रो र एट अनदर विन्टर तेस्रो घोषित भए ।

तस्वीर सौजन्य : विवेक बस्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?