 
																			१९ असार, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष राम गुरुङले उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट गरेको भन्दै नेकपा एमालेले वडा कार्यालयमा ताला लगाएको छ ।
खोराको मुख उपल्लो इदी खोला माछापुच्छ्रे सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले वडाध्यक्ष गुरुङले आफूलाई कुटपिट र अश्लील गालीगलौज गरेको बताएका छन् । सोही विषयलाई लिएर एमालेको वडा कमिटीले सोमबार वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
ढुंगा लिएर आएको टिपरको टायर बिग्रेर वर्कसपमा मर्मत गर्न लागेका बेला वडाध्यक्ष गुरुङले अपशब्द बोल्दै कुटपिट गरेको भण्डारीले बताए । ‘रफ शब्द बोल्दै को हो, के हो ? भन्नुभयो । बीच बाटोमै बाइक राखेर ‘यहाँ आइज’ भन्नुभयो । म मामा के भयो भन्दै गएको थिएँ । बाटोमै कुटपीट गर्नुभयो, मेरो गालामै हान्नुभएको हो, देख्नेहरु पनि छन्’, भण्डारीले भने, ‘उहाँलाई कारवाही गर्नुपर्यो भन्ने मेरो माग हो।’
आफूमाथि हातपात भएको भन्दै उपभोक्ता समिति भण्डारीले आइतबार नै दिन जिल्ला प्रशासन कार्यालय कास्कीमा उजुरी दिएका थिए । तर उजुरी दर्ता गर्न अस्वीकार गरेको एमालेका नेता कर्णबहादुर गुरुङले बताए ।
‘वडाध्यक्षबाट बाटो उपभोक्ता समिति अध्यक्ष कुटपीट भएको छ । कारवाहीका लागि उजुरी दिन जाँदा उहाँहरुले दर्ता गर्न मान्नुभएन । त्यसैको दबाबका लागि तालाबन्दी गरिएको हो,’ उनले भने ।

वडाध्यक्ष गुरुङले यसअघि पनि कुटपिट गरेको भन्दै एमालेले उनको राजीनामा नै माग गरेको छ । ‘जनताको सेवा गर्न गएको जनप्रतिनिधि नै हातपातमा उत्रिएपछि कारवाही हुनुपर्छ कि पर्दैन ?’ एमाले नेता कर्णबहादुर गुरुङले प्रश्न गरे ।
प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २१ लाख ५४ हजार रुपैयाँ बजेटमा खोराको मुखदेखि उपल्लो इदी खोलासम्मको मोटरबाटो स्तरोन्नतिको काम भइरहेको छ ।
सडक स्तरोन्नति गर्न १४ चैत २०७९ मा उपभोक्ता समिति गठन भएको थियो । माछापुच्छ्रे गाउँपालिकाको वडा नं. ७ र ८ दुवै छुने सडकको उपभोक्ता समिति अध्यक्ष वडा नं ८ का बासिन्दा भण्डारी चयन भएका थिए ।
धकेलाधकेल भएको हो : वडाध्यक्ष गुरुङ
वडाध्यक्ष गुरुङले भने उपभोक्ता समिति अध्यक्ष भण्डारीसँग धकेलाधकेल भएको तर आफूले कुटपिट नगरेको दाबी गरे । उपभोक्ता समितिले समयमा सम्झौता नगरेका कारण आउँदो असार मशान्तसम्म काम नसकिने देखेपछि आफूले उक्त सडकका विषयमा चासो दिएको गुरुङले बताए ।
बारम्बार ताकेता गर्दा पनि काम नगरेको र उपभोक्ता समितिले अर्कैलाई कामको जिम्मा लगाएको सुनेको बताए ।
‘आर्थिक वर्षको अन्त्य हुन लागिसक्यो । काम ३० प्रतिशत पनि सकिएको छैन । हामी योजना माग गर्न दौडधप गर्ने, आएको योजना पनि फ्रिज हुने हो कि भन्ने डर लागेकाले अस्तिको घटना घट्यो’, वडाध्यक्ष गुरुङले भने, ‘त्यतिबेला मेरो मुखबाट अलि बोल्न नमिल्ने शब्द फुट्केकै हो । मबाट पनि गल्ती भएकै हो । अलिकति घचेटाघचेट भएकै हो । तर, उहाँले भनेजस्तो कुट्यो, लखेट्यो भन्ने होइन ।’

वडाध्यक्ष गुरुङ आफू छलफलका लागि तयार रहेको भन्दै घटनालाई राजनीतिकरण गर्न नहुने बताउँछन् । वडाध्यक्ष गुरुङमाथि यसअघि वडामा कार्यरत असिस्टेन्ट सब-इन्जिनियर लक्ष्मण जिसीमाथि पनि हातपात गरेको आरोप छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4