+
+

गैंडाको माउ बच्चा मारेको घटनामा ३ जना पक्राउ

युट्युब हेरेर बनाएका थिए गैंडा मार्ने योजना

सुवास पण्डित सुवास पण्डित
२०८० असार २० गते १३:०२

२० असार, चितवन । गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन् । गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ ।

दुई गैंडा मारेको घटनामा प्रत्यक्ष संलग्नको आरोपमा पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१८ घरमपुर बस्ने कृष्णबहादुर महतो पक्राउ परेका हुन् । त्यस्तै खाग किनबेचको आरोपमा सिखाराम थारु र होमबहादुर बिक पक्राउ परेका हुन् ।

यो घटनामा अझै दुई जना फरार रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका तीनै जनालाई चितवन राष्ट्रिय निकुञ्जले वुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबाट बरामद गरेको खाग र मारिएको गैंडाको अवस्था आदिको प्राविधिक जाँच पछि खाग सोही गैंडाको भएको पुष्टि भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिए ।

६ माघ २०७९ मा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ सीतापुर नजिकैको क्रान्तिघाटमा गैंडाका माउ बच्चा मृत अवस्थामा भेटिएका थिए । १४ बर्षको पोथी गैंडालाई करेन्ट लगाएर मारेर खाग काटिएको थियो । खाग काटिएको ठाउँबाट बगिरहेको रगत पानीमा मिसिएको दृश्य घटनास्थलमा देखिथ्यो ।

माउ मारेको केही मिटर पर खागसमेत नपलाएको चार बर्षको केटो गैंडा मृत अवस्थामा भेटिएको थियो । घटनास्थलको झण्डै ३५० मिटर नजिकै सैनिकहरुको भूताहा पोष्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को शहरी पोष्ट छ । तस्करहरुले सैनिकको आँगन अगाडि खुला ठाउँमा हृदय विदारक ढंगले गैडा मारेका थिए ।

निकुञ्जले यो घटनापछि सहायक संरक्षण अधिकृत शान्तबहादुर मगरलाई अनुसन्धान अधिकृत तोकेर घटनाको अनुसन्धान थालेको थियो । चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेना, डिभिजन वन कार्यालय पश्चिम नवलपरासी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई १२ जेठमा पक्राउ गरेको थियो ।

सीआईबीका प्रहरी कर्मचारीले गैंडाको खाग किन्ने ग्राहक बन्दै महंगो शुल्क दिने लोभ देखाएर उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेकाहरूको साथबाट लु ४५ प ५११७ नम्बरको मोटरसाइकल, ४ वटा मोवाइल, गैंडाको खाग, बाँसको किल्ला र बेण्डिङ तार बरामद गरिएको छ ।

घटनास्थल मध्यवर्ती क्षेत्र र पूर्वी नवलपरासी भएकाले गत जेठ ३० गते जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा चितवन राष्ट्रिय निकुञ्जलाई पक्राउ परेका अभियुक्तहरुसहित वरामद गरिएका सम्पूर्ण सामाग्रीहरू बुझाइएको थियो ।

निकुञ्जले ४१ दिनदेखि पक्राउ परेकाहरुसँग सोधपुछ र अनुसन्धान गरिरहेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले पक्राउ परेका तीनै जनाविरुद्ध नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ताका लागि वुधबार नै लैजाने जानकारी दिए ।

थप कसैको संलग्नता अनुसन्धानको क्रममा खुल्न आएमा पुनः अनुसन्धान गरी पूरक अभियोग पत्र दायर गर्ने मागदाबीसहित मुद्दा दायर गर्न लागेको उनले बताए ।

राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को उपदफा १ को खण्ड (क) ले निषेध गरेको कसुर अपराध गरेकोले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम ५ देखि १० लाखसम्म जरिवाना, ५ देखि १५ बर्षसम्म कैद सजाय वा दुबै सजाय हुने व्यवस्था छ ।

युटुब हेरेर गैंडा मार्ने योजना बनाए, दोस्रो प्रयासमा मारे

गैंडा मार्ने अभियोगमा पक्राउ परेका कृष्णबहादुर महतो डकर्मी हुन् । युटुबमा गैंडाको खाग बेचेर पैसा कमाउन सकिने देखेको र आफूले पनि उनले गैंडा मार्ने योजना बनाएको उनको भनाइ छ ।

निकुञ्जका अधिकारीसमक्ष दिएको वयानका अनुसार उनले त्यसपछि गैंडा बढी ओहोरदोहोर गर्ने ठाउँको पहिचान गरे । पहिला उनले पोलबाट विजुली हुक गरेर गैंडा मार्ने प्रसा गरे । पछि उनले नजिकै रहेको मन्दिरबाट जीआई तारबाट करेन्ट लगाएर गैंडा मार्न सफल भएका निकुञ्जका अधिकारीहरु बताउँछन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुनका अनुसार कृष्णबहादुर यसभन्दा अगाडि गैंडा मात्र होइन कुनै पनि वन्यजन्तु मार्ने काममा संलग्न थिएनन् । ६ माघको घटना उनको पहिलो संलग्नता हो ।

खाग बिक्री आरोपमा पक्राउ परेका सिखाराम कृष्णबहादुर महतोका फुपाजु हुन् । सिखाराम भने यसअघि पनि यस्ता घटनामा संलग्न भएको निकुञ्जका अधिकारीहरु बताउँछन् । यो गिरोह ब्यवसायिक गिरोह नभएको प्रमुख संरक्षण अधिकृत पुनले बताए ।

यो वर्ष २२ गैंडाको मृत्यु, ३ वटा तस्करले मारे

चितवन राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० मा ३३ वटा एक सिङ्गे गैँडा मरेका छन् । तीमध्ये १९ गैंडा प्राकृतिक कारणले र ३ गैंडा चोरी शिकारीले मारेका हुन् । ६ वटा गैंडाका बच्चा बाघको आक्रमणबाट मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैंडा मरेका थिए । सन् २०२१ मा गरिएको गणना अनुसार नेपालमा ७५२ गैंडा छन् । तीमध्ये ६९४ चितवनमा छन् । सन् २०१५ मा ६०५ र सन् २०११ को गणनामा ५०३ गैंडा पाइएको थियो ।

प्राकृतिक कारणले गैंडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागले विभिन्न अध्ययन टोली खटाएर अध्ययन गरे पनि संरक्षणमा ठोस प्रगति भएको छैन ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?