 
																			२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई/दुई पटक विश्वासको मत दिएकामा लाज लागेको बताएका छन् ।
बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा आफूहरुको मतले प्रधानमन्त्री बनेका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन कोही व्यक्ति पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिँदा लाज लागेको बताएका हुन् ।
‘मलाई लाज लागिरहेको छ मैले कस्तो व्यक्तिलाई मत दिएको रहेछु, त्यो पनि दुई/दुई पटक । जसले भावनामा बगेर यस्तरी बोल्नुहुन्छ कि म को भएर बोल्दैछु, सम्माननीय प्रधानमन्त्री भएर मैले कसरी बोल्ने, के बोल्ने, के नबोल्ने भन्ने बिर्सनुहुँदो रहेछ’ सांसद झाले भने ।
प्रधानमन्त्री प्रचण्डले सोमबार भारतीय नागरिक सरदार प्रितम सिंहको पुस्तक विमोचनका क्रममा प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरु उठेका थिए । सभामुख देवराज घिमिरेले सुरुमा एमाले सांसद रघुजी पन्तलाई बोल्न दिए । त्यसपछि माओवादी सांसद छिरिङ ल्हामु लामालाई बोल्न दिएपछि एमाले, रास्वपा र राप्रपाले विरोध जनाए, एमाले सांसदहरुले त सदनमै नाराबाजी सुरु गरे । र सभामुखले आधा घण्टाका लागि भनेर स्थगित गरेको बैठक बस्दै नबसी शुक्रबार दिउँसो ३ बजेसम्मलाई सारिएको छ ।
सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्रीको राजीनामा नमागेको तर उनीसँग केही प्रश्न रहेको बताए । ‘हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौं । केही कुरामा हाम्रो आशंका छ, आक्रोश छ, त्यो कुरामा प्रधानमन्त्रीले आएर स्पष्ट पारिदिनुपर्छ’ उनले भने ।
प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम सदन र यसको राजनीतिक प्रक्रियालाई अवहेलना गरेको सांसद झाले बताए । ‘यो अभिव्यक्ति भावनात्मक रुपमा यत्तिकै…, विवेक गुमाएर बोल्नुभएको हो कि कुन तर्कले बोल्नुभएको हो, त्यो स्पष्ट पारिदिन हामी आग्रह गर्न चाहन्थ्यौं । तर हामीले बोल्न पाएनौं’ उनले भने ।
प्रतिनिधिसभा सदस्यहरुको विश्वासको मत पाएर प्रधानमन्त्री भएका प्रचण्डले सदनकै अवहेलना गरेको सांसद झाको भनाइ छ । ‘प्रधानमन्त्रीले यो सदनको मतको अस्तित्व अस्वीकार गरेको पाइयो, त्यसकारण हामी पनि उहाँलाई चिन्दैनौं आजको दिनदेखि’, उनले भने, ‘जबसम्म उहाँ आएर हाम्रो असन्तुष्टिलाई एड्रेस गर्नुहुन्न त्यो दिनसम्म हामी चिन्दैनौं ।’
हेर्नुहोस् भिडियो
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4