+
+

चिकित्सकले आफ्नो विज्ञताभन्दा बाहिरको काम गर्न मिल्छ ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार २२ गते १६:५३

काठमाडौं । कुनै पनि कुरालाई व्यवस्थित बनाउन कानुन बनाइएको हुन्छ । स्वास्थ्य सेवालाई प्रभावकारी र जनउत्तरदायी बनाउन मुलुकमा कानुनहरु निर्माण गरिएका छन् । कानुनको उद्देश्य नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाका लागि बाटो देखाउनु हो ।

नागरिकलाई स्वस्थ र रोगमुक्त कसरी राख्ने र बिरामी भएको खण्डमा सहज रूपमा गुणस्तरीय उपचार कसरी गर्न सकिन्छ भन्ने विषय पनि कानुनमा उल्लेख हुने अधिवक्ता हरिप्रसाद मैनाली बताउँछन् ।

‘स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सकले के गर्न पाउँछन् र के गर्न पाउँदैनन् भन्ने कुरालाई विभिन्न ऐनले समेटेको छ,’ उनी भन्छन्, ‘चिकित्सकहरुले गरेका कुनै पनि कानुन विपरीतका कार्य कानुनी दायरमा आउने हुन्छ । बेइमानीपूर्वक कुनै किसिमको हानि नोक्सानी पुर्‍याउने, क्षति पुर्‍याएमा वा आफूले लाभ प्राप्त गरेमा ठगीमा मुद्दा चल्ने हुन्छ ।’

अधिवक्ता मैनालीका अनुसार सेवा प्रदान गर्ने चिकित्सकले व्यापारको हदभन्दा पनि माथि गई ठगी गरेको कसुर ठहरेमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम सात वर्षसम्म कैद सजाय र ७० हजार रुपैयाँसम्म जरिवाना र भए गरेको क्षति बराबर पीडितलाई क्षतिपूर्ति समेत भराउने व्यवस्था छ ।

हरिप्रसाद मैनाली, अधिवक्ता

उपचारको क्रममा आफ्नो विषयगत विज्ञताभन्दा बाहिर गई स्वास्थ्य सेवा दिने वा उपचार गर्ने क्रममा आएका परिणामहरुमा चिकित्सकको लापरवाही सहजै प्रमाणित हुने मैनाली बताउँछन् । दक्ष जनशक्ति र स्वास्थ्य सेवा तत्काल उपलब्ध नहुने दुर्गम क्षेत्रको हकमा कानुनले केही सहजीकरण गरेको भए पनि अन्य क्षेत्रमा उक्त कुरा दण्डनीय हुने पनि अधिवक्ता मैनाली बताउँछन् ।

सोही ऐनको दफा २३१ र २३२ मा बदनियत चिताई इलाज वा उपचार गर्न नहुने व्यवस्था छ । ‘बदनियत चिताएर भएको उपचारको क्रममा बिरामीको मृत्यु भएमा ज्यान मारेसरह सजाय हुने व्यवस्था छ,’ मैनाली भन्छन् । लापरवाही वा हेलचेक्राइँ गरी इलाज वा उपचार गरेमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था रहेको मैनाली बताउँछन् । ‘यस व्यवस्थामा इलाज र कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दाको परिणामलाई पनि यसै अन्तर्गत राखिएको छ । उपचारको हिसाबले गरिने खानेकुराको सिफारिस पनि यसै व्यवस्थासँग आकर्षित हुन्छ,’ उनी भन्छन् ।

अधिवक्ता मैनाली भन्छन्, ‘स्वास्थ्य सेवा हो व्यवसाय होइन । त्यसैले चिकित्सकले सधैं सेवामूलक दृष्टिकोणले काम गर्नुपर्ने हुन्छ । स्वास्थ्यलाई व्यवसाय बनाउन भ्रममा पार्ने, गलत आश्वासन दिने र क्षेत्र अधिकारभन्दा बाहिरको विषयमा काम गरेको पाइन्छ भने त्यो ठगी हो । त्यस्तो गर्ने व्यक्ति ठगीको दायरामा आउन सक्छ ।’

सबै प्रकारका व्यवसायमा छुट्टाछुट्टै दायराहरू हुन्छन्, तर सेवामूलक व्यवसायमा सेवालाई प्राथमिकतामा राख्नुपर्ने मैनाली बताउँछन् । ‘सेवालाई व्यवसाय बनाएर ठगी गरियो वा इजाजत नलिई विज्ञताभन्दा फरक काम गरियो भने त्यो अपराधको दायराभित्र पर्छ,’ उनी भन्छन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?