+
+
Shares

उपचारमा संलग्न डाक्टर भन्छन्- युद्धको झल्को दियो

अस्पतालमा जेन-जी घाइतेहरूको चित्कार

बिरामीको अवस्था हेरेर चिकित्सकको टोलीले घाइतेको शरीरबाट अहिले शल्यक्रिया गरेर गोली निकाल्ने काम गरिरहेको छ । कसैको रबरको गोली छ । टाउको, छाती, मुटुको अगाडि गोली लागेको छ ।

दिनेश गौतम पुष्पराज चौलागाईं दिनेश गौतम, पुष्पराज चौलागाईं
२०८२ भदौ २४ गते ६:१०

२४ भदौ, काठमाडौं । ट्रमा सेन्टरको इर्मजेन्सी । जहाँ बानेश्वरमा गोली लागेका घाइते जेन-जीहरूलाई पुर्‍याइएको थियो । कोहीको टाउकोमा गोली, कोहीको छातिमा ।

पौने २ बजेपछि धमाधम गोली लागेका घाइतेहरूलाई ट्रमा पुर्‍याउन थालियो । ओपीडीमा रहेका डाक्टर पनि इमर्जेन्सीमा खटिए । वीर अस्पतालका विशेषज्ञ चिकित्सकलाई पनि ट्रमा सेन्टरमै खटाइयो । घाइतेले इमर्जेन्सी भरियो। भुईंमासमेत राखेर उपचार गर्नुपर्‍यो ।

‘सिभिल अस्पतालबाट १ः२० बजे १०० भन्दा बढी घाइतेले भरियो भनेर फोन आयो । त्यसपछि ट्रमामा रेफर गरियो । ट्रमामा पौने २ बजेबाट घाइते ल्याउन थालियो । हामी ओपीडी छोडेर इमर्जेन्सीमा खटियौं,’ ट्रमामा डा. सन्तोष पौडेलले भने, ‘५० जनाभन्दा बढी डाक्टर खटियौं । वीरको न्यूरोको टिम पनि खटियो ।’

घाइतेको अवस्था हेरेर अस्पतालले उपचार गर्‍यो । तर कति घाइतेलाई चाहेर पनि चिकित्सकले बचाउन सकेनन् । ‘चार जना गोली लागेर आएका थिए । सीपीआर गरेर पनि बचाउन सकेनौं,’ स्नायु नसा तथा मेरुदण्डरोग विशेषज्ञ डा. राजीव झाले भने ।

ट्रमा सेन्टरमा पुगेका घाइतेहरू स्कुल–कलेजको ड्रेस र ब्याग साथमै थिए । १०–१२ कक्षामा पढ्ने विद्यार्थीहरू थिए । ‘स्कुलकै ड्रेसमा घाइतेहरू छन् । झोला बोकेका छन् । बोल्न सकेका छैनन् । धरै विपद्‌मा काम गरियो । तर आजको घटनाले आँखा रसायो,’ डा. झाले भावुक हुँदै भने, ‘भर्खरका स्कुल कलेज पढ्नेहरू छन् ।’

डाक्टरहरू नै युद्धमा घाइते भएकाको उपचारमा खटिएको जस्तो अनुभूति गरेका छन् । ‘आज युद्धको जस्तो परिवेश भयो । सवारी दुर्घटना, भूकम्प, कोभिडमा पनि काम गर्‍यौं तर आज युद्धको जस्तो स्थिति देखियो,’ डा. पौडेलले भने, ‘भुईंमा समेत राखेर उपचार गर्नुपर्‍यो ।

यतिसम्म कि, डेढ घण्टामै अस्पतालमा रगत सकियो । अभाव हुन रगतको अभाव हुन नदिन स्वास्थ्यकर्मीहरूले रगत दान गरेर घाइतेको उपचार गरे ।  ‘१५ जना जतिले रगत डोनेट गरेर उपचार गर्‍यौं । चोटपटकको केसमा धेरै रगत चाहिने हुन्छ,’ डा. पौडेलले भने ।

बिरामीको अवस्था हेरेर चिकित्सकको टोलीले घाइतेको शरीरबाट अहिले शल्यक्रिया गरेर गोली निकाल्ने काम गरिरहेको छ । ‘कसैको रबरको गोली छ । टाउको, छाती, मुटुको अगाडि गोली लागेको छ,’ डा. झाले भने, ‘रबरको गोली त्यति भित्रसम्म जान्छ जस्तो लाग्दैन । कुन गोली हो त्यो पोस्तमार्टमबाट थाहा हुन्छ ।’

धेरैजसोलाई रबरको गोली लागेको छ । तर तीन चार बजेपछि अस्पताल पुगेका घाइतेलाई पनि बुलेट गोली नै लागेको आंशका चिकित्सकको छ । ‘अधिकांशमा रबरको गोली छ । पछि घाइते भएर आएकालाई बुलेट गोली नै लागेको जस्तो देखिन्छ । न्यूरोको टिमले गोली निकालि रहेको छ,’ डा. पौडेलले भने, ‘कसैलाई छर्र्राले भेटेको छ ।’

अस्पतालको शैय्यामा जेन–जीहरूको चीत्कार छ । गोली लागेर शैय्यामा रहेकाहरूले स्वःस्फूर्त आन्दोलनमा गएको बताएका छन् । कोही घाइते भने आन्दोलनमा नभइ हिँडेको बेला गोली लागेको बताएका छन् । ‘एक थरी आन्दोलन गर्ने भनेर आएको हो । संसद छिरेको हो । पर्खाल भत्काएकै हौँ भनिरहेका छन्,’ उपचारमा संलग्न डा. पौडेलले भने ।

राति ८ बजे अनलाइनखरको टोली ट्रमा सेन्टर पुगेका थियौं । गेट बाहिरै मृतक र घाइतेको सूची टाँसिएको थियो । प्रहरी गेटमै तैनाथ थियो । घाइतेका आफन्तहरू सोधखाज गर्न गेटमा पुगेका थिए । तर त्यहाँ पनि प्रर्दशनकारीले नाराबाजी लगाए । प्रहरीले रातिको समयमा पनि अस्पातलको गेटमा लाठ्ठी चार्ज गरे ।

सोमबार बिहानैदेखि जेन–जेली सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरोधमा सरकार विरुद्ध आन्दोलन गरेका थिए । जसका कारण दिनभर नै माइतघर–नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । अन्दोलनमा यो समाचार तयार पार्दासम्म देशभर १९ जनाले ज्यान गुमाएका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?