
काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘हात्तीछाप’को छायांकन सुरु भएको छ । आइतबार ललितपुर बालकुमारीमा रहेको एक ग्यारेजबाट छायांकन सुरु गरिएको निर्माता किरण नेपालीले जानकारी दिए । एक महिना चल्ने छायांकनको आधा भाग काठमाडौं उपत्यका र बाँकी पोखरामा गर्ने तयारी छ ।
पहिलो दिनको सुटिङमा दयाहाङसहित कमलमणि नेपाल, विजय बराल, सुष्मा निरौला र बुद्धि तामाङको दृश्य खिचियो । छायांकनअघि कास्ट एण्ड क्रिउले शुभसाइतको पूजाआजा गरेका थिए । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गर्दैछन् ।
फिल्ममा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विल्सनविक्रम राई, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई लगायतका कलाकारको अभिनय रहने जनाइएको छ । प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा सुशान्त प्रजापतिको छायांकन रहनेछ ।
‘अन्ततः हामी छायांकनमा लागेका छौं । पहिलो दिनको थालनी निकै उत्साहजनक ढंगले भयो,’ छायांकनबारे निर्माता नेपालीले भने । यसअघि नेपालीको निर्माणमै बनेको फिल्म ‘दुई नम्बरी’मा दया, सौगात र उपासनाले काम गरेका थिए । यो फिल्म सुपरहिट भएपछि किरणले ‘हात्तीछाप’को निर्माण सुरु गरेका हुन् ।
प्रतिक्रिया 4