+
+

प्रचण्डको परिवार मोहले सीमा नाघ्दा ज्वाईं अर्थमन्त्री

प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रियसभा सदस्य, छोरी रेनु भरतपुर महानगरको मेयर, अर्की छोरी गंगा आफ्नै स्वकीय सचिव र ज्वाइँ जीवन आचार्य कोशीको अर्थ मन्त्री ।

सइन्द्र राई सइन्द्र राई
२०८० असार २४ गते १९:४२

२४ असार, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दा नेकपा माओवादी केन्द्रबाट जीवन आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी अघिल्लो सरकारमा पर्यटन, वन तथा वातावरण मन्त्री थिए ।

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको अघिल्लो सरकारबाट माओवादीले गएको २३ जेठमा समर्थन फिर्ता लिएपछि आचार्यले पदबाट राजीनामा बुझाएका थिए । तर पदबाट अलग भएको एक महिनामै फेरि आचार्य माथिल्लो हैसियतमा सरकारमा गएका छन् ।

नेपाली कांग्रेसका नेता थापाले मुख्यमन्त्री नियुक्त भएको (२१ असारमा) तीन दिनमै आचार्यलाई शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ रहेका आचार्यले बढुवासहित मन्त्रीको अवसर पाउँदा माओवादीभित्र चर्को असन्तुष्टि देखिएको छ ।

उदयपुर–२ (१) बाट निर्वाचित सांसद नारायण बुर्जा मगरले राजीनामाकै चेतावनी दिएका छन् । माओवादीमा दोहोर्‍याएर चुनाव जित्ने थोरै नेतामा उनी पर्छन् । तर पहिलोपटक प्रदेशसभा सदस्य जितेका आचार्यलाई दोहोर्‍याएर रोजाइको मन्त्री बनाउने निर्णयप्रति मगरले असन्तुष्टि जनाएका छन् ।

स्रोतका अनुसार, शनिबार साँझसम्म आचार्यसँगै मगरको नाम पनि मन्त्री बन्ने सूचीमा थियो । आइतबार मन्त्रिपरिषद् विस्तार हुँदा भने मगरको नाम काटिएर माओवादीबाट संखुवासभाका राजेन्द्र कार्की र जीवन आचार्यले शपथ लिए । जीवनसँगै शपथ लिएका राजेन्द्रसहित कांग्रेसका दुई र नेकपा एकीकृत समाजवादीका एक मन्त्री अहिले पनि बिना विभागीय छन् ।

तर केन्द्रको निर्देशन भन्दै मुख्यमन्त्री थापाले आचार्यलाई मन्त्रालय तोकेपछि सत्ता गठबन्धनभित्र समेत असन्तुष्टि देखिएको छ । ‘मन्त्रालय भागबण्डाको कुरा भएकै छैन । छलफल समेत नगरी मन्त्रालय तोक्ने काम भयो’, एकीकृत समाजवादीका एक नेता भन्छन् । मुख्यमन्त्रीको यस्तो निर्णयले विश्वासको मत दिनेबारे नै सोच्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

ज्वाईंको सम्मान !

माओवादी केन्द्रका एक नेता भने प्रधानमन्त्री प्रचण्डमा हद तहको परिवार लिप्सा देखिँदा जीवन आचार्य शक्तिशाली मन्त्री बन्न पुगेको तर्क गर्छन् । ‘जीवन आचार्य गैरराजनीतिक पृष्ठभूमिका मान्छे हुन्, तर प्रचण्डको परिवारसँग जोडिनु उनको बलियो योग्यता बन्यो’, ती नेता भन्छन् ।

माओवादीमा तल्लो तहबाट संघर्ष गर्दै आएका नेता दुर्गा चापागाईंको उदाहरणबाटै जीवन आचार्य मन्त्री बन्नु पछाडि प्रचण्डको परिवार मोह प्रष्ट हुने उनी बताउँछन् । ‘दुर्गा चापागाईंले चाहेका भए अहिले आन्तरिक मामिला मन्त्री बन्न सक्नुहुन्थ्यो । तर पार्टीभित्र अरुले अवसर पाउनुपर्छ भन्ने कुरा उठेपछि मन्त्री नै हुन्न भन्नुभयो’, ती नेता भन्छन् ।

गत २४ पुसमा एमाले नेतृत्व सरकार बन्दा आचार्यसँगै चापागाईं मन्त्री थिए । चापागाईँ प्रस्तावित पोलिटब्यूरो सदस्य भएकाले भौतिक पूर्वाधारसहित दलको तर्फबाट नेतृत्व गरेका थिए । तर यसपटक चापागाईं छुटे ।

‘अघिल्लो पटक काम गर्ने समय नभएको भए दुबैलाई अवसर दिइनुपथ्र्याे, तर ज्वाईंको बढुवा गरेर दुर्गा चापागाईंलाई पाखा लगाइयो,’ माओवादीका एक प्रदेशसभा सदस्य भन्छन्, ‘प्रचण्ड कमरेडले यति धेरै परिवारं मोह नदेखाएको भए हुने ।’

ती नेता अनुसार, मुख्यमन्त्री नियुक्त हुनु अगाडि नै आचार्यलाई अर्थ मन्त्री बनाउने निर्देशन केन्द्रबाट दिइएको थियो । पार्टी केन्द्रकै निर्देशन भएपछि माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आफै आचार्यलाई अर्थमन्त्री बनाउन लागे । ‘अघिल्लो पटक जीवनले भौतिक पूर्वाधार मन्त्रालय माग्दा आङ्बोले रोकेर पर्यटन, वन तथा वातावरण मन्त्रालयतिर लगेका थिए’ उनी भन्छन् ।

उनका अनुसार, चापागाईंले मन्त्री नहुने स्टाटस लेख्नुको कारण पनि आफू भन्दा जुनियर आचार्यले रोजाइको मन्त्रालय लिने निश्चित हुनु हो । ‘कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलभित्र माननीयज्यूहरुले राख्नुभएको आलोपालो गरौं भन्ने राय सुझावलाई आत्मसात गर्दै म यसपटक सरकारमा नजाने निष्कर्षमा पुगे’, चापागाईंले लेखेका थिए ।

जीवन आचार्य अघिल्लो सरकारमै पार्टीका तर्फबाट नेतृत्व गर्न चाहेका थिए । तर त्यसबेला पार्टीभित्र विरोध भएपछि चापागाईँको नेतृत्वमा उनी सहभागी भए । ‘संसदीय दल र सिंगो पार्टी उहाँलाई मन्त्री बनाउने पक्षमा थिएन । बाहिर आलोचना हुने कुरा पनि उहाँले बुझ्नुपर्थ्यो’ माओवादीका अर्का नेता भन्छन्, ‘प्रचण्डका ज्वाईं भएकै कारण उहाँले अवसर पाउँदा जनयुद्ध लडेका र पार्टीमा दुःख गरेका साथीहरु छुट्ने निश्चित थियो ।’

तर प्रचण्ड आफै ज्वाईंलाई अवसर दिने पक्षमा उभिएपछि माओवादीका अरु नेताको चाहनाले काम गरेन । प्रचण्डकी छोरी गंगासँग विवाह गरेपछि पार्टीमा लागेका जीवनलाई २०७४ कै चुनावमा टिकट दिइएको थियो । तर वाम गठबन्धन हुँदा पनि कांग्रेसका चुमनारायण तबदारसँग जीवनले जित्न सकेनन् । यसपटक त्यही क्षेत्र (मोरङ–६ (१) बाट उम्मेदवार बन्ने अवसर पाए । 

ज्वाईंलाई उम्मेदवार बनाउन प्रचण्डले कांग्रेससँग प्रतिनिधिसभा निर्वाचन क्षेत्रकै टिकट साटेका थिए । पाँच दलीय गठबन्धनमा सोलुखम्बुबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार माओवादीको भागमा परेको थियो । त्यहाँ २०७४ मा चुनाव जितेका हेमकुमार राईले टिकट पाउने निश्चित जस्तै थियो ।

तर प्रचण्डले सोलुमा पाएको टिकट कांग्रेसका बलबहादुर केसीलाई दिएर मोरङ–६ (१) को प्रदेशसभा लिएका थिए । यो साटफेरबाट प्रसन्न बलबहादुरले आफ्नो सभापति शेरबहादुर देउवाबाट अन्यायमा परेपनि प्रचण्डले न्याय गरेको बताएका थिए । तर केसीले सोलुमा एमालेका मानवीर राईलाई जित्न सकेनन् ।

यो पृष्ठभूमि र घटनाक्रमले प्रधानमन्त्री प्रचण्डमा ज्वाईं जीवनलाई शक्तिमा लैजाने चाहना कुन तहमा छ भन्ने प्रष्ट हुन्छ । तर माओवादी प्रदेशसभा संसदीय दलका नेता आङ्बो भने आचार्यलाई मन्त्री बनाउने निर्णयको बचाउ गर्छन् । ‘यसमा केन्द्रको कुनै निर्देशन छैन, प्रदेशको निर्णय हो । मेरै प्रस्तावमा उहाँ सरकारमा जानु भएको हो’, आङ्बो भन्छन् ।

प्राथमिकतामा परिवार

कुनै बेला आफूलाई कट्टर पहिचानवादी नेता बताउने प्रचण्डले प्रदेशको नामकरण कोशी राख्ने निर्णय लिनु र ज्वाइँलाई लगातार मन्त्री बनाउने निर्णय लिनुले मात्रै परिवार मोहको आरोप खेप्नु परेको होइन । ज्वाईं जीवन त प्रचण्डमा परिवार मोह रहेको देखाउने पछिल्लो उदाहरण मात्रै हुन् ।

यसअघि छोरी रेनुलाई भरतपुर महानगरको मेयर बनाउने निर्णयका कारण प्रचण्डले ठूलो आलोचना खेपेका थिए । कांग्रेससँग गठबन्धन गरेर २०७४ को स्थानीय चुनावमा रेनुलाई भरतपुर महानगरको मेयर पदमा उम्मेदवार बनाएको माओवादीले जवाफै दिन नसक्ने परिस्थिति खेप्नुपरेको थियो ।

पहिलोपटक कांग्रेससँग चुनावी गठबन्धन गरेकाले माओवादी कार्यकर्ताले रुख चिह्नमा र कांग्रेसले माओवादीलाई भोट हालेका थिए । यति गर्दा पनि रेनुलाई जित्न कठिन परेको थियो ।

रेनुलाई जिताउन मतपत्र च्यातेको दृष्य संसदीय अभ्यासकै निर्लज्ज घटना बन्यो । तिनै रेनु २०७९ को चुनावबाट मेयर दोहोरिएकी छन् । अर्की छोरी गंगाको कारण पनि प्रचण्ड उत्तिकै आलोचित छन् । प्रचण्ड प्रधानमन्त्री हुँदा स्वकीय सचिवका रुपमा गंगाले देखाइरहेको भूमिकालाई लिएर माओवादीभित्रै असन्तुष्टि छ ।

‘सरकारी तलब लिएर बसेको स्वकीय सचिव हो भने गंगाको भूमिका त्यही अनुसार हुनुपर्‍यो’ एक नेता भन्छन्, ‘तर सरकारी जागिर खाने अनि फर्स्ट लेडी जस्तो भएर पनि हिड्ने गर्दा पार्टी पंक्तिलाई रक्षार्थ बोल्न गाह्रो परिरहेको छ ।’

प्रधानमन्त्री प्रचण्डको (गत १७–२० जेठमा) भारत भ्रमणका क्रममा देखिएको गंगाको भूमिकालाई लिएर विपक्षी दलहरुले संसदमै कुरा उठाएका थिए । भारतीय अधिकारीहरुसँग कुरा गर्दा परराष्ट्र मन्त्री वा सचिव नराखी छोरी गंगालाई राखिएको भन्दै प्रधानमन्त्रीसँग प्रश्न गरिएको थियो ।

समकक्षी नरेन्द्र मोदीसँग वार्ताअघि १७ जेठ साँझ प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रासँग भेटेका थिए । त्यो भेटमा प्रचण्डसँग छोरी गंगा मात्रै थिइन् ।

दुई छोरी र ज्वाईं जीवन मात्रै नभएर प्रचण्डले भाइ नारायण दाहाललाई पनि सुविधाको पद दिएका छन् । रामनारायण बिडारीको चार वर्षे कार्यकाल सकिएपछि २५ फागुन २०७८ मा नारायण दाहाल राष्ट्रियसभा सदस्य मनोनित भएका थिए ।

मन्त्रिपरिषदको सिफारिसमा दाहाल राष्ट्रियसभा सदस्य मनोनित हुँदा पनि प्रचण्डको परिवार मोहप्रति आलोचना भएको थियो । तर त्यसबेला प्रचण्डले कुनै जवाफ नदिए पनि भाइ नारायणले प्रतिवाद गरेका थिए । ‘मेरो दाबी छ, यस्तै बाहिरका कुराले मैले जति अवसरहरु पाउनुपर्ने हो, त्यो गुमाएको छु’, शपथपछि नारायण दाहालले भनेका थिए ।

बुहारी बिना मगरलाई पनि प्रधानमन्त्री प्रचण्डले परिवारका अरु सदस्य जत्तिकै महत्वका साथ अवसर दिएका छन् । तर गठबन्धनको उम्मेदवार बन्दा पनि बिना कञ्चनपुर–१ बाट पराजित भइन् । एमाले उम्मेदवार तारा लामासँग बिना पराजित भइन् ।

२०७४ को चुनावमा भने उनी यही क्षेत्रबाट जितेकी थिइन् । पहिलोपटक चुनाव जित्नासाथ बिना खानेपानी तथा सरसफाइ मन्त्री भइन् । ३ जेठ २०७५ मा एमालेसँग माओवादीको एकता भएपछि बिनाको मन्त्री पद लगभग स्थायी जस्तै थियो ।

माओवादीबाटै मन्त्री भएका अरु नेताको जिम्मेवारी हेरफेरदेखि पदमुक्त भइरहँदा बिना ढुक्कले मन्त्री रहिरहिन् । ५ पुस २०७७ मा केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपामा प्रचण्ड र माधव नेपाल पक्षका सात मन्त्रीले सामूहिक राजीनामा दिंदा मात्रै उनी सरकारबाट बाहिरिएकी थिइन् ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?