+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बगान : सरोज-करिश्मा केमेस्ट्री पुनरागमनको परीक्षा

निर्देशनमा ‘भाग्य’ अजमाउँदै अभिनेता सरोज खनाल !

विकास रोकामगर विकास रोकामगर
२०८० असार २४ गते २१:३८

पोखरा । लामो समय अमेरिकामा बिताएका अभिनेता सरोज खनाल नेपाल फर्किएसँगै फेरि फिल्ममै सक्रिय हुन थाले । उनी नेपाल आएर ‘नाइँ नभन्नू ल…’ सँगै नेपाली सिनेजगतमा ‘कमब्याक’ गरेका थिए ।

एक समय नेपाली सिनेजगतमा राम्रैसँग राज गरेका उनी अमेरिका पलायन भएसँगै सुस्ताएका थिए । लामो समयपछि नेपाली सिनेजगतमै फर्किएका उनी अहिले फेरि निर्देशकका रुपमा डेब्यु गर्दैछन् । उनको निर्देशनमा रहेको बगान असार २९ गतेदेखि हलमा प्रदर्शन हुन लागेको छ ।

समकालीन कलाकार करिश्मा मानन्धर, बसन्धारा भुसाल, मिथिला शर्मासहित पछिल्लो पुस्ताका कलाकार आकाश श्रेष्ठ, प्रमिला कार्कीलगायतलाई लिएर कुनैबेलाका सफल अभिनेता खनालले पहिलोपल्ट आफ्नो निर्देशकीय क्षमता अज्माउन लागेका हुन् । प्रमिला यसै फिल्मबाट डेब्यु गर्र्दैछिन् ।

अमेरिकाबाट नेपाल फर्किइसकेपछि पनि थुप्रै फिल्ममा आफ्नो भूमिका निभाएका खनालले खेलको कुनै फिल्म सुपरहिट भए त कुनै सुपरफ्लप ! करिब ४ दशक नेपाली सिनेमामा बिताएका उनलाई किन निर्देशनको भोक जाग्यो त ?

‘प्रत्यक्ष, अप्रत्यक्ष रुपमा ४० वर्षभन्दा बढी यही नेपाली सिने क्षेत्रमा बिताएँ । तर, सधैं क्यामेराको अगाडि’, बगानको प्रचारका क्रममा आइतबार पोखरा आइपुगेका खनालले सञ्चारकर्मीसँग भने, ‘क्यामेरा पछाडि पनि थुप्रै कुरा छन् । ती कुरा क्यामेराअगाडि आफैं ल्याउनपर्छ भन्ने भयो ।’

खनालले प्रविधिका हिसाबले नेपाली सिने जगतले ‘फड्को’ मारेको अनुभव सुनाए । खनालले बगानमार्फत नेपाली एकल महिलाहरुको कथा पस्कन लागेको सुनाए । नेपाली समाज पितृसत्तात्मक भएकैले धेरै महिलाहरु हिंसामा रहेको सुनाए ।

‘अझै पनि ९० प्रतिशत महिला शिक्षाकै कमीले हुने रहेछ । यस्तो पितृसत्तात्मक समाजमा महिलाको आवाज उठ्नै गाह्रो रैछ’, खनालले भने, ‘यो फिल्ममा शिक्षाले महिलाको जीवनमा कत्तिको अर्थ राख्छ भन्ने देखाउन खाजेको छ ।’

नेपाली फिल्ममा पनि पितृसत्ताको गहिरो छाप बसेकाले महिला कलाकार जहिल्यै दोस्रो दर्जाको भूमिका मात्रै पाउने गरेको कलाकार खनालले सुनाए । तर, बगानले भने महिलालाई नै मुख्य पात्रको रुपमा उभ्याएको जिकिर गरे । त्यही परम्परालाई चिर्न आफूले फिल्म निर्देशन गरेको बताए ।

‘हिरोइज्म खोज्ने समाजले महिलालाई सधैं पछाडि पार्‍यो । रेखा थापापछि बल्ल नारी प्रधान कथाको सुरुआत हुन थाल्यो, अझै यस्ता फिल्म आउन जरुरी छ’, खनालले भने, ‘अब नायिकालाई बचाउन कुनै नायक आउनु नपरोस् ।’

नेपाली चलचित्रको अवस्थाबाट चिन्तित

कलाकार करिश्मा मानन्धर लामो समयपछि सरोज खनालसँग सहकार्य गरेकी हुन् । अरुणिमा, सारंगी, मनकामनालगायत धेरैपछि यो फिल्म अभिनेता खनाल र मानन्धरको केमेस्ट्री पुनरागमनको पनि परीक्षा हो ।

लामो समयपछि सरोजसँग सँगै पर्दामा देखिन लागेकी अभिनेत्री मानन्धर बगान फिल्मबाट जति आशावादी त छिन् उत्तिकै सशंकित पनि ! ‘सरोजजी र म धेरैपछि सँगै काम गरेका छौं । तर, नेपाली चलचित्रको अहिलेको अवस्था कस्तो छ तपाईंहरुलाई थाहै होला !’, कलाकार मानन्धरले उल्टै सञ्चारकर्मीलाई प्रतिप्रश्न गरिन् ।

अहिले पहिलेजस्तो चलचित्रमा लगानीलेमात्रै नभएर धेरै कुराले प्रभाव पार्ने सुनाइन् । एउटा उत्कृष्ट चलचित्र बन्न लगानीसँगै कथा, पटकथामा पनि उत्तिकै ध्यान दिनुपर्ने मानन्धरले बताइन् । ‘अहिले त हामी अर्कै पुस्ता भइसकेछौं । अब हामीले नयाँ पुस्तालाई सन्देश दिनेमात्रै हो’, उनले भनिन् ।

मानन्धरको कुरामा सहमति जनाउँदै कलाकार सरोज खनालले पनि दर्शकको ‘मुड’ बुझ्न नसकिने सुनाए । कुनै फिल्मले भारतीय सुपरहिट फिल्मलाई पनि टक्कर दिएको तर, कुनै फिल्म एकल प्रदर्शन हुँदा पनि लगानीसमेत उठाउन नसकेको बताउँदै उनले भने, ‘दर्शकलाई खास कस्तो फिल्म मनपर्छ भन्ने प्रदर्शनमा आइसकेपछिमात्रै थाहा हुने रैछ, मुड बुझ्न नसकिने रैछ ।’

केही म्युजिक भिडियोपछि पहिलो पटक सिने जगतमा पर्दार्पण गर्न लागेकी कलाकार प्रमिला कार्कीले लामो समयदेखि सरोज खनालसँग काम गर्ने इच्छा पूरा भएको सुनाइन् । उनले बगान सफल भए अन्य चलचित्रमा पनि काम गर्ने बताइन् ।

काठमाडौं र पोखरामा छायांकन गरिएको बगान चलचित्र हेर्नका लागि एकल महिलालाई निशुल्क देखाइने घोषणा गरिएको छ । चलचित्रमा हरि लम्साल र सुवास भुसालको संगीत र शिव मुखियाको पाश्र्व संगीत छ भने गीतमा सुगम पोखरेल, अस्मिता अधिकारी र वाणिका प्रधानले स्वर दिएका छन् ।

लेखक
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?