+
+
युवा उद्यम :

आरा नेपाल : दुई युवतीले तयार गरेको ‘ह्यान्डमेड’ जुत्ता-चप्पल

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०८० असार २७ गते ७:१२

काठमाडौं । आशंसा थापा र विशाखा राणा हितैषी साथी हुन्, एकै छिमलका । दुवैको उमेर २७ वर्ष । आशंसा र विशाखालाई अरु निकट बनाएको छ, आरा नेपालले । यो कथा यी दुई संगी र आरा नेपालको हो, जसले उनीहरुको सपना र संघर्षलाई उधिन्नेछ ।

भनिहालौं, आरा नेपाल एउटा घरेलु ब्रान्ड हो । यो ब्रान्ड अन्तर्गत डिजाइनर स्यान्डल र सिल्पर्स तयार हुन्छ । त्यो पनि हातले बनाइएको । आराले ग्राहकको माग र रोजाइअनुसार ‘कस्टमाइज’ पनि गर्छ ।  खुट्टाको लम्बाइ, चौडाइ, मोटाइका आधारमा ट्याक्क मिल्ने चप्पल बनाउनु आराको विशेषता हो ।

‘आरा’ अरबी शब्द हो जसको अर्थ ‘उत्पत्ति र वर्तमान’ भएको विशाखा बताउँछिन् । वर्तमानको आवश्यकता अनुसार चल्नुपर्छ भन्ने विश्वासका साथ कम्पनीको नाम आरा नेपाल राखेको उनी बताउँछिन् ।

यसरी सुरु भयो आरा

विशाखा र आशंसा संयोगले एकै ठाउँमा काम गर्न पुगे । त्यो ठाउँ थियो, ओयो नेपाल । हस्पिटालिटीसँग सम्बन्धित ओयो नेपालमा उनीहरु मिल्ने सहकर्मी थिए । त्यसपछि दुवैले रोजगारी परिवर्तन गरे । अनि पुगे, फार्मर्स बजारमा । त्यहाँ पनि विशाखा र आशंसा जोडिए ।

दुवै फेसनप्रति रुचि राख्ने । तर बजारमा भनेजस्तो जुत्ता नै नपाइने । पहिरनसँग संयोजन मिलाएर जुत्ता-चप्पल लगाउन खोजियो भने भेटाउनै कठिन हुन्थ्यो ।

जब उनीहरुले यस्तो अभाव भोगिरहेका थिए, त्यसैमा अवसरको खोजी सुरु गरे । त्यही बखत कोरोना महामारी फैलियो । उद्यम-व्यापार चौपट भयो । उनीहरुको रोजगारीमा पनि यसको बाछिटा पर्ने नै भयो । लकडाउनमा दुवै पट्यारलाग्दो दिन कटाउन बाध्य भए । हरेक दिन केही न केही गरेर बसेका उनीहरुलाई बन्द कोठाभित्र दिन गुजार्न कसरी पो सहज हुन्थ्यो र ?

हो, यही बिन्दुमा आइपुगेपछि विशाखा र आशंसाले एउटा जुक्ति फुराए, आफ्नै ब्रान्डको जुत्ता-चप्पल उत्पादन गर्ने ।

विशाखा राणा (बायाँ) र आशंसा थापा

‘व्यवसाय सुरु गर्ने निर्णय गर्‍यौं तर कसरी गर्ने भनेर केही आइडिया थिएन । त्यसैले हामीले नेपालमा जुत्ता चप्पल उत्पादन गर्न के के गर्नु पर्छ भनेर थुप्रै अध्ययन गर्‍यौं,’ आशंसा सुनाउँछिन् । व्यवसाय सुरु गर्ने पक्का भए पनि परिवारलाई उनीहरूले बताएनन् । लगानी आफैं जुटाए । एकले अर्कोलाई साथ दिएर अगाडि बढे । पछि व्यवसायले गति लिएपछि मात्र उनीहरूले परिवारलाई सुनाए । अहिले दुवैलाई परिवारको पूरा साथ र समर्थन रहेको उनीहरू सुनाउँछन् ।

दुई वर्षअघि इन्स्टाग्राम मार्फत सुरु भएको आरा नेपाल विगत १० महिनायता भने पूर्ण रूपमा सञ्चालन भइरहेको छ । आराले  आफ्नै डिजाइनमा रेग्जिनका फ्ल्याट्स, वेज, हिल, क्लोज लगायत विभिन्न प्रकारका स्लिपर्स/स्यान्डल्स उत्पादन गर्छन् ।

८ लाखबाट सुरु अहिले महिनाको ५ लाखसम्म आम्दानी

दुवै जागिरबाट सन्तुष्ट थिएनन् । आफ्नै केही व्यवसाय गर्नुपर्छ भन्ने सोच उनीहरूमा थियो । त्यसैले दुवैले आफ्नो बचतबाट आठ लाख रुपैयाँ लगानी गरेर आरा सुरु गरे । आरामा नेपालमै बनेको रेक्जिन, सोल, इनसोल, फोम, गम र सिलाइ धागो, बकल, इलास्टिक लगायतको प्रयोग गरेर बलियो र आकर्षक चप्पल उत्पादन गर्न थाले ।

नेपालमा बनेका सामानहरू महंगो हुन्छ भनेको हामीले सुनेका थियौं । किन यस्तो भनेको होला भन्ने कुरा आफ्नै व्यवसाय गरेपछि थाहा भयो विशाखा सुनाउँछिन् । ‘कच्चा पदार्थ महंगो छ । ह्यान्डमेड चप्पल  हजारौंको संख्यामा उत्पादन गर्न पनि सकिंदैन । त्यसैले बाहिरबाट आयातभन्दा नेपालमा बनेका जुत्ता चप्पल अलि महंगो पर्न गएको हो,’ उनी भन्छिन् ।

आरामा दैनिक २० देखि २५ जोर चप्पल बिक्री हुने गरेको छ । दशैं र गर्मी मौसममा भने अन्य समयभन्दा धेरै नै माग हुन्छ । दशैंका बेला हरेक दिन ४० देखि ५० जोरसम्म बिक्री हुने आशंसा बताउँछिन् ।

हाल मासिक ६०० जोर स्यान्डल्स र स्लिपर्स बेचिरहेको उनीहरू बताउँछन् । मासिक लगभग चारदेखि पाँच लाखसम्म आम्दानी हुन्छ । हाल आराको कारखानामा आठ जनाले चप्पल बनाउने गरेका छन् । कार्यालयको व्यवस्थापन, बिक्री वितरण तथा सञ्चालनको काम भने विशाखा र आशंसाले नै गर्ने गरेका छन् ।

युवतीहरूको रोजाइमा कसरी पर्‍य?

आराको चप्पलहरू डिजाइनर हुनुका साथै गुणस्तरीय र लगाउन पनि सजिलो हुने खालको छ । जसले गर्दा उनीहरूले ग्राहकहरूबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘चप्पल कति सजिलो छ भनेर हामी दुवैले एक महिना जति  लगाएर हेर्छौं अनि मात्र बिक्रीको लागि राख्छौं,’ विशाखा सुनाउँछिन् ।

आराका चप्पलहरू ६ देखि ८ पटक लगाउँदासम्म केही गरी बिग्रिएमा हामी बनाइदिन्छौं पनि आशंसा बताउँछिन् । ‘आठ महिनासम्म टिक्ने ग्यारेन्टी  पनि दिन्छौं । जसले गर्दा धेरै युवतीको रोजाइमा आरा पर्ने गरेको छ,’ उनी भन्छिन् ।

ग्राहकको साइजअनुसार पनि आराले चप्पल बनाउने गरेको छ । कति जनाको दुवै खुट्टा एउटा साइजको नहुने, मोटो पातलो हुने, कतिको साइज नपाउने हुन्छ । यस्ता व्यक्तिका लागि पनि सीमित मात्रामा कस्टमाइज गरेर चप्पलहरू बनाउने गरेकाले पनि आरालाई युवतीहरूले रुचाएको हुन सक्ने विशाखा सुनाउँछिन् ।

कतिकति मूल्यको चप्पल पाइन्छ ?

आरामा चप्पलको सुरूवाती मूल्य एक हजार २९९ रुपैयाँ छ । बढीमा दुई हजार ३९९ रुपैयाँसम्म पर्छ । पहिले सुरुवातमा ९९९ रुपैयाँबाट चप्पल बिक्री गर्न सुरु गरेको थियो । तर पछि कच्चा पदार्थको मूल्य बढेपछि चप्पलको मूल्य पनि बढेको आशंसा बताउँछिन् ।

आरामा ३५ देखि ४० नम्बरसम्मको साइजमा जुत्ता चप्पल पाइन्छ । आरा नेपालबाट चप्पल तथा जुत्ता खरिद गर्दा लोयल्टी कार्डमार्फत छुट पनि दिने गरिएको छ । तेस्रो अर्डर गर्दा ५ प्रतिशत छुट,  छैटौं पटक अर्डर गर्दा २० प्रतिशत छुट र १२ पटकको अर्डरमा ५० प्रतिशत छुट पनि पाउँछन् ।

आराको इन्स्टाग्राम, टिकटक र फेसबुक पेज रहेको छ । यी सोसल मिडियामार्फत आराको चप्पल अर्डर गर्न सकिन्छ ।

पुरुष र बच्चाका लागि पनि चप्पल जुत्ता बनाउने सोच

महिलाको स्लिपर्स, क्लोज र हिलसँगै स्पोर्टस् सुज पनि अब छिट्टै उत्पादन गर्ने आराको योजना छ । त्यसैगरी पुरुष र बच्चाहरूका लागि पनि जुत्ता चप्पल बनाउने योजना भएको विशाखा र आशंसा सुनाउँछन् ।

नयाँ डिजाइनको चप्पल, स्पोर्टस्, लोफर, क्लोज सुज, बुट्स पनि बनाउने तयारी भइरहेको विशाखाले सुनाइन् । आराको हाल पसल वा शोरूम छैन । चाँडै पोखरामा पहिलो शोरूम खोल्ने उनीहरुको योजना छ ।

पोखराबाट आरामा धेरै अर्डर आउने गरेकाले त्यहाँ पहिलो आउटलेट खोल्न लागेको विशाखा बताउँछिन् । ‘काठमाडौंमा नै अफिस भएकोले भ्याली बाहिरबाट नै स्टोर खोल्ने सोचेका हौं । त्यसपछि बल्ल उपत्यकाभित्र खोल्नेछौं,’ उनी भन्छिन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?