 
																			एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) मा आवद्ध गराउने निर्णय अपरिपक्व भएको प्रतिक्रिया दिएका छन् ।
लिथुआनियामा मंगलबार सुरु हुने नेटो सम्मेलनको पूर्वसन्ध्यामा बाइडनेले यस्तो प्रतिक्रिया दिएका हुन् । सीएनएनसँगको अर्न्तवार्तामा बाइडेनले भनेका छन्, ‘नेटो सदस्य हुनका लागि युक्रेनको योग्यता पुगेकै थिएन । यस्तो अवस्थामा उसलाई सदस्यता दिन खोज्ने निर्णय अपरिपक्कव थियो’, उनले भनेका छन् ।
युक्रेनलाई नेटोको सदस्यता दिने मामिलामा गठबन्धनमा मतभिन्नता नरहेपनि युद्धको अन्त्यपछि मात्रै त्यसले सार्थकता पाउने बाइडेनले बताए । ‘युक्रेनलाई नेटोको सदस्यता दिने विषयमा मतभिन्नता छैन । तर युद्ध जारी रहेको अवस्थामा यसले सार्थकता पाउनेछैन । शान्ति स्थापनापछि प्रक्रिया अघि बढ्नेछ’, उनले भनेका छन् ।
युक्रेनको लोकतान्त्रिक आचरणमा सुधार नआइकनै गरिएको निर्णय अपरिपक्व भएको उनको भनाइ छ । ‘अहिले नेटो रूसविरुद्ध युद्धमा छ । आपसी हित रक्षाका लागि नेटो लड्ने नै छ । तर युक्रेनमा लोकतान्त्रिक पद्धतिमा सुधारविनै सदस्यता दिने प्रक्रिया अघि बढाउनु हतारो थियो’, उनको भनाइ छ ।
नेटोले सन् २००८ मा युक्रेन निकट भविष्यमा नै आफ्नो सदस्य हुने बताएको थियो । युक्रेनले नेटोको सदस्यता लिएको खण्डमा आफुमा सुरक्षा चुनौती थपिने भन्दै रूसले सदस्यता नलिन चेतावनी दिएको थियो ।
तर हालसम्म पनि उसलाई सदस्यता दिइएको छैन । द्रुत प्रक्रियाबाट सदस्यता दिँदा रूसविरूद्ध घोषित रूपमै युद्ध गर्नुपर्ने बाध्यताका कारणले नेटोले युक्रेनलाई सदस्यता दिएको छैन । नेटो सन्धीको धारा ५ अनुसार कुनैपनि सदस्य राष्ट्रविरुद्ध आक्रमण भएमा सबै सदस्य राष्ट्रले त्यस मुलुकको प्रतिरक्षा गर्नुपर्छ ।
युक्रेनलाई सदस्यता दिएको खण्डमा रुसविरुद्ध घोषित युद्ध गर्नुपर्ने भएकाले सदस्यताका लागि आनाकानी भइरहेको हो । यद्यपि, नेटोमा आवद्ध मुलुकहरूले युक्रेनलाई सहयोग भने जारी राखेका छन् । अमेरिकाले हालसालै युक्रेनलाई धेरै क्षेत्रफलमा विस्फोट गराउन सक्ने क्लस्टर बम दिने निर्णय गरेको छ ।
यस्तै उसले ३१ वटा ट्यांक पनि उपलब्ध गराएको छ । यता बेलायत र जर्मनीले पनि ठूलै संख्यामा हतियार र ट्यांक पठाउने भएका छन् । नेटोसँग हाल युद्धका लागि ४० हजार फौज छोटो सूचनामै तयार हुन्छन् । यसलाई ३० दिनभित्र ३ लाख पुर्याउने गरी लिथुआनियामा छलफलको तयारीमा सदस्य राष्ट्र रहेका छन् ।
यस्तै नेटोका कमाण्डरहरूले आफ्नो हतियारलाई अध्यावधिक गर्ने तयारी गरेका छन् । रुसले कुनैपनि सदस्य राष्ट्रमाथि आक्रमण गरेमा त्यसको प्रतिरक्षामा खरो उत्रिने तयारीका साथ उनीहरुले लिथुआनियामा योजना बनाउने बताइएको छ ।
युक्रेनलाई सदस्यता दिने निर्णय अपरिपक्व रहेको बताएका बाइडेनलाइ टर्कीलाई भने स्वीडेनको सदस्यता सम्बन्धमा विरोध नगर्न दबाब दिने तयारी गरेका छन् ।त्यसका लागि उनले टर्कीका राष्ट्रपति रिसेप एड्रोगानसँग छलफल समेत गरेका छन् । लिथुआनियामा पनि उनलाई दबाब दिने बाइडेनको तयारी छ ।
रूसले युक्रेनमा आक्रमण गरेको एक सातापछि फिनल्याण्ड र स्वीडेनले नेटोमा आवद्धताका लागि इच्छा व्यक्त गरेका थिए । फिनल्याण्ड गत अप्रिलमा नेटो सदस्य बन्यो भने स्वीडेनको निवेदन भने अझै स्वीकृत भएको छैन ।
स्वीडेनको सैन्य संयन्त्र नेटोमा आवद्ध हुन लागि योग्य छ । स्वीडेन नेटोको स्थायी प्रतिनिधिमण्डल पनि हो भने यस गठबन्धनको सहयोगी पनि हो । यो अर्थमा नेटोमा आवद्धताका लागि सिधा रूपमा स्वीडेन योग्य छ । यति हुँदाहुँदै पनि स्वीडेनको आवेदन किन स्वीकृत भएन ?
नेटोले स्वीडेनको आवेदन स्वीकार नगर्नुको प्रमुख कारण हो टर्की। युरोप र मध्यपूर्वी राष्ट्रसँग सीमा जोडिएको टर्की रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र हो ।नेटो आवद्ध मुलुकमध्ये सैन्य रूपमा सबलमध्ये टर्कीको स्थान दोस्रो छ । टर्कीकै अडानका कारण स्वीडेनको निवेदन स्वीकृत नभएको हो ।
सशस्त्र समूह कुर्दिसलाई स्वीडेनले प्रोत्साहन गरिरहेको आरोप टर्कीले लगाएको छ । स्वीडेनले कुर्दिसमा आवद्ध हुनु नै अपराध रहेको कानुन बनाए पनि टर्कीले आरोप लगाउन छाडेको छैन ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4